Thursday, May 1, 2025

बिष्मृति

 

बर्षौ भयो केही बिसर््ान खोजिरहेको । बिर्सन खोजेको पनि हो । बिर्सन नसकेको पनि हो । सम्झन मन नलागेको पनि हो । कहिलेकाही लाग्छ बिर्सेर म कहाँ जाउ । मैले टेक्ने जमिन । मैले समाउँने जरा र मैले बाच्ने समाज यही हो । तर बिर्सन चाहन्छु तर बिर्सन सक्दिन । 

यो अध्यारो कथा बनी मसँगै बाचिरहेछ । हरेक चैत एक हुरी बनेर आउँछ । म टाइमलाइनमा एक सन्त महात्माझै आफ्नै आघातहरुलाई शिद्घान्तमा बाध्छु र कसैले नबुझ्रने भाषामा केही बोल्छु । तर सम्झन्छु र बिर्सेझै गर्छु । सायद आघातका कथाहरु यसरी नै लेखिन्छन् । म चाहन्छु मलाई संसारले संग्लो मानिसको रुपमा बुझोस् । तर म सग्लो मानिस कहिल्यै थिइन । 

केटाकेटीमा साथी नभएर कुनामा लुक्ने मानिस, अल्लि ठूलो भएपछि आफन्तको भिडबाट अझ पर भाग्ने मानिस । आज पनि म भित्रै छ । कहिलेकाही लाग्छ चिच्याएर कसैलाई भनिदिउँ सग्लो हुन सजिलो छैन । 

थाहा छैन यी किबोडहरु मेरा बिष्मृतिका साक्षिहरु कहिलेसम्म बन्नेछन् । मलाई अपनाउनेछन् वा कुनै दिन आत्तिएर छोडिदिनेछन् । तर म यी सब कुरा बिर्सन चाहन्छु । एक शुन्य सुरुवातको आशामा छु जहाँ म सँग मेरा आफ्नो इतिहासको अबसेस रहनेछैन । आफैँलाई प्रेम गर्न थाल्नेछु र आफैँजस्तो अरु कोहीलाई पनि प्रेम गर्न थाल्नेछु ।

अरुको अगाडी अघुताभाषको अनुभूती सँगै जीउनेहरुको सायद यो साझा कथा हो । कहिलेकाही लाग्छ लेख्नु मेरो लागि मेमोरी वर्क मात्र हो । किनकी यसपछि म हलुका हुन्छु । कहिलेकाही अक्षरहरुले त्यस्तो स्वतन्त्रता दिन्छन् जो अरु चिज केहीले दिन सक्दैनन् । हो मेरा पखेटा र मेरा जराहरुको आधार अक्षरहरु नै हुन् । 

कहिलेकाही लेख्न सक्ने भएकोमा भाग्यमानी ठान्छु । सायद म सँग लेख्ने सिप नभएको भए मैले टेकेको आधार हलुका र अझ झिनो बन्ने थियो । कहिलेकाही आफैँलाई प्रमाणित गर्नको लागि पनि मानिसले अप्ठ्यारो बाटो रोज्छ । सायद लेखाइ मेरो लागि त्यस्तै केही हो ।

म बिरलै संरचनामा लेख्छु किनकी यो मेरो रोजाइ थिएन । जब मानिस आफ्नै लागि केही बाटाहरु रोज्छ त्यसमा रोजाइ भन्दा उपलब्ध स्रोत साधन नै पहिलो आधार बन्छ । म चित्रकार पनि बन्न सक्थेँ । मलाई रंगहरु आज पनि असाध्दै मनपर्छ । तर हुर्कदै गर्दा समँग रंगसम्म पुग्ने स्रोतसाधन थिएन ।

कहिलेकाही आफ्नै द्धोयस र आघात बोकी लेखेकोमा पछुतो पनि लाग्छ । मलाई लेख्ने मान्छे बिना पिडा पनि लेख्न सक्नुपर्छ भन्ने लाग्छ । लेखाई स्मृति  वा बिस्मृतिरमण होइन । र पनि कति कुरा बिर्सनैको लागि लेख्छु । मलाई लेखाई शिल्प हो भन्ने बिरलै लाग्छ । हुनसक्छ लेख्दै गर्दा मानिसले आफ्नै खाले लेख्ने कला समाउँछ त्यो स्वभाविक हो । एक छोरी मान्छेले म लेख्न मनपराउँछु भन्नुलाई आज पनि समाज महत्वपूर्ण ठान्दैन । त्यसैले यो निजात्मक तर मैले आफ्नै लागि रोजेको राजनैतिक बाटो पनि हो । म आफ्नो कथा आफ्नै तबरले लेखेर मर्न चाहन्छु । म चाहन्न म मरेपछि मानिसहरु मलाई रोमान्टिसाइज गरुन् । एक मानिस हुनुका आघातहरु चाहेर नचाहेर हामी सबैसँग नै हुन्छन् । म त्यो आघातहरुलाई आफ्नै तबरले अकाईभ गर्न चाहन्छु ।

थाहा छैन किन मलाई यी असंरचनात्मक अक्षरको यात्राले आफै आफ्नै आघातहरु बाट मूक्त  हुन खोजेको अनूभूती दिन्छ । यो लेख्दै बिर्सदै गर्ने छायाँको बाटो हो । बिर्सन खोज्नु भनेको अगाडि बढ्ने प्रयास गर्नु पनि हो ।

आफ्नै एकान्तको साक्षि बनेर आफैँलाई चिहाउँन सजिलो छ पनि छैन पनि । तर यो रोजाइ थिएन । हुर्कदै गर्दा आफ्नो समाजभित्र अट्न नसकेको अनुभूती गर्ने एक किशोरीले रोजेको आफैँसँग वार्तालाप गर्ने एक बाटोमात्र थियो । आज आएर कहिलेकाही अनुभूती हुन्छ अभिब्यक्ति भन्दा ठूलो स्वतन्त्रता अरु केही रहेनछ । आज पनि कहिलेकाही त्यो दुखी, एक्ली, सबैले नराम्री काली भनिदिने फूच्ची किशोरीलाई देखेर माया लाग्छ । यो उसले रोजेको बाटो थियो । त्यो बाटो सजिलो थिएन । कसैले उसलाई पढिदिएला की भन्ने डर पनि थियो । नबुझिने तरिकाले लेख्ने शिल्प थिएन । अरुले बुझेँ भने के भन्लान भन्ने लज्जा पनि थियो । 

यही लज्जा, पिडा र स्वतन्त्रता बिच कोही लेखिरहेछ भने त्यो आफैँलाई बुझ्न रोजको मेमोरी वर्क मात्र हो । यसलाई जे ठान्दा पनि हुन्छ स्वतन्त्रता, रोजाइ वा अचल्तिको बाटो ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...