“ल है के छ खबर ?” अब कहिल्यै तिमी भन्छौ कि भन्दैनौ । “ के छ केटी फिल्म हेर्न कहिले जाने ?” नसुनेको पनि कयौ बर्ष भयो । थाहा छैन यी हरफहरु तिम्रा लागि कोरीएका अन्तिम हरफ बन्ने छन् वा छैनन् । तिमी छैनौ भन्दा छौ, छौ भन्दा छैनौ को भ्रममा मैले तिमीलाई यतिका वर्ष लिएँ । यदाकदा लाग्छ मैले भेटेका अधिकांश असल पुरुषहरु तिम्रै केही अंश हुन् । दुखेसो नभएको त होइन दुखेसोभन्दा पर केही तिम्रा लागि बाकी छ भने अब स्नेह मात्र बाकी छ ।
तिमी किरण नभएर किरा जस्ता छौ भनेर मैले नभनेको पनि होइन । तिमीले हाँसीहाँसी स्विकारेका पनि हौ । रिसाएको बेला तिमीलाई अंहमबादी पुरुष हौ भनेको पनि हो । तिमीलाई नर्कान नसकी अलिअलि हुँला भनेका पनि हौ । यदायदा गाली पनि गरेँ होला । रिसाएझै गरी मन चोर्न खोजेकै हो । तर तिम्रो मन चोर्न नसकेको पनि हो । तिमीले साथीले पनिमन चोर्ने हो त मन पो मिलाइदिनेँ हो भनेका पनि हौ ।
तिमी साथी हौ कि प्रेमी हौ भनेर बुझ्न गुगलमा प्रेमीले देखाउँने ब्यबहार बारे खोजेको अवस्य हो । त्यसपछि तिमीले पनि मलाई प्रेम गर्ने रैछौ ठानेर मनमनै गदगद भएकी पनि हुँ । तिमीले यदाकदा पठाएका म्यासेजलाई पटकपटक पढेकी पनि हँु । तिमीले कहिलेकाही केही भन्दै छु भन्दा खुसीमा आफैँ एक्लै रमाउँदै हिडेँकी पनि हुँ । साथीहरुले तिम्रो नाम लिँदा आफ्नै नाम लिएँझै एकाग्र भएर सुनेकी पनि हुँ । यी सबसब गरेकी हुँ ।
“तिमी किरण र म कविता” एक अर्काको नामलाई जोडेर हेरेकी पनि हुँ । यी सब गर्दा जे महशुस गरेँ त्यो तिम्रो कारणले गरे । बर्षौबर्षको प्रेमको भर्म सुन्दर नै थियो । त्यो प्रेम थियो वा थिएन त्यो म जान्दिन तर प्रेमको भ्रम अवस्य थियो ।
तिम्रो लागी म को थिएँ मैले कहिल्यै बुझिन । कहिलेकाही सबै खोतल्थ्यौ आफ्नो भडास र एकाएक पर पुग्थ्यौ । परको क्षितिजले झै वरको संसारलाई फेरी फर्केर हेथ्यौ वा हेदैनथ्यौ मलाई थाहा छैन । कहिलेकाही साँझपख आउँने पाउँनाझै मेरा जीवनका अनेकौ मोडहरुमा तिमी फर्केका पनि हौ । तर तिमीले मलाई देखाउँने स्नेहलाई प्रेमको ढोका ठानेर म भित्र पसेँकीे पनि हुँ । र अन्त्यमा तिम्रो साथीत्वलाई साथीत्व नै ठान्नुपर्छ भनेर आफ्नै बाटो फर्केकी पनि हुँ ।
साथीत्वले कस्तो स्नेहको माग गर्छ मैले नबुझेकी पनि हुँ । एक साथी गुमाउँने डरले तिम्रो अस्विकारोक्तीलाई ठिकै हो भनेकाी पनि हुँ । र भित्रभित्रै दुखी भएकी पनि हुँ । दुखी हुँदाहुँदै नभएझै देखाएकी पनि हुँ । र तिम्ले त्यसलाई एक साथीत्वको स्नेहको रुप ठानेर सदाझै “के छ केटी ?” भनेका पनि हौ ।
मेरो लागी तिमी त्यो खुल्ला बाटो थियौ तिम्रो उपस्थितिले मेरो आफ्नो यात्रा कहिल्यै साघुँरो लागेन । तिमीले साथीमात्र ठानेउँ मैले साथीभन्दा माथी बुझेँ । बुझाँइका दुरीहरुले साँच्चिकै दुरीहरु बनाए । यी यात्राका दुरीहरु थिए । तिमी तिम्रै यात्राको मालिक थियौ म आफ्नै यात्राको । र हाम्ले आफ्नै यात्रा गर्यौ ।
कहिलेकाही लाग्छ तिमीलाई साथीमात्र हौ भन्दिउँ । यदाकदा प्रयास गरेकी पनि हुँ । नसकेकी पनि हँु । साथीमात्र बुझ्दा सजिलो थियो । मसँग आसाहरु कम थिए । तिम्लाई बोलाउँन सजिलो थियो । तिम्ले मलाई “के छ केटी भन्न पनि सजिलो , सम्बन्धको रफ्तार आफ्नै लयमा थियो ।
तिमीसँग पहिलेझै नबोलेको बर्षौ भएछ । यदाकदा लाग्छ मन खोलेर बोलीदिउँ । मन खोलेर प्रेम गर्छु भनिदिउँ । मन खोलेर प्रेम गनेसँग पर जानु हुँदैन भनिदिउँ । किरण अब सबै बिर्सिएर साथीमात्र भैदिउँ भनिदिउँ । हुन त तिम्रा लागी म साथीमात्र थिएँ । मेरा लागी तिमी केही अरु बन्यौ । दुई केटाकेटी साथीमात्र हुनसक्छन् नबुझेको होइन तर किनकिन तिम्लाई साथीमात्र मान्न नसकेको अबस्य हो ।
आज मसँग तिमीजस्तै लाग्ने लोग्ने जातीका साथीहरु प्रशस्तै छन् र पनि तिन्लाई प्रेम गर्छु भन्न सक्दिन साथीमात्र मानीदिन तयार छु । तर तिम्रा लागि साथीमात्र हौ भन्न सकिँन र सक्दिन पनि । तिमीले “ साथीमात्र हौ” भन्दा हुन्छ भनिरहन पनि सकिन । कहिलेकाही लाग्छ म स्वार्थी भए आफ्नै अनुकुलको प्रेम स्नेह खोजेँ, दुख मानेँ ,पर भागेँ ।
तिम्रा लागि म स्वार्थी भएँ हुँला, मेरा लागि तिमी कठोर भयौ होला । तर दुबैले साथी हुनुको स्नेहलाई छोड्नपर्दैनथ्यो त्यो हामी दुबैले गर्यौ । म पर भागेँ तिमी वर कहिल्यै आएनौ । कहिलेकाही , “के छ केटी” भन्छौ कि भन्ने आश आवश्य थियो तर अव बिस्तारै कम हुँदै छ । “तिमी ठिकै त छौ नी किरु” भनेर बोलाउँन मन नलागेको पनि होइन तर नसकेको पक्कै हो ।
पहिले तिमीसँग दुखेसो थियो । अचेल आफैँसँग छ । यदाकदा लाग्छ प्रेमको फराकिलो क्यानभाषलाई मैले साँघुराएर सम्बन्धको कसिलो बन्धन ले बाध्न खोजेँ । बन्धनमा प्रेम खोज्नु कति सहि कति गलत मैले बुझ्न सकिन । सायद कहिल्यै सक्दिन पनि । तर तिमीसँग फेरी भेट्ने चाहना नभएको अबस्य होइन । तिमीलाई पहिलेझै “ए किरु” भन्न आज पनि चाहन्छु ।
आजकल लाग्छ नदिको किनाराझै तिमी एक किनारा थियौ म अर्को किनारा । दुई किनाराको यात्रा मिलनको यात्रा होइन सहअस्तित्वको यात्रा मात्र हो । तर अब सम्बन्धको त्यो किनारा पनि फेरीएको छ । चाहेर पनि अब तिमीलाई भेट्ने छैन र भेटेर पनि पहिलेझै बोलाउँन सक्ने छैन ।
बषौबर्ष दोबाटोमा हिडेँ लाग्यो तिमी हिडेको बाटो पनि मेरो आफ्नै हो । आजकल गारेटोमा हिड्दै छु तर कहिलेकाही दोबाटोले पनि झक्झक्याउँदो रहेछ । तिम्रो लागी त्यो फराकिलो साथीत्वको यात्रा थियो मेरो लागी प्रेमको एक कठिन यात्रा । रोज्नुपर्ने मूलबाटो छोडेर अध्यारो गोरेटो रोज्नु साथीत्वलाई प्रेम मान्नु रहेछ आजकल बुझ्दैछु ।
तिमी बाट टाढा भएपछि जीवनमा कोही नभेटिएका कोही नआएका पनि होइनन् । साथीहरु पनि आए प्रेम गर्छु भन्नेहरु र नभनिकन स्नेह देखाउँनेहरु पनि आए । तर तिमीजस्तो, “ए केटी के छ खबर” भन्नेहरु, तिमी किरा हौ भन्दा नरिसाउँनेहरु, प्रेम गर्छु भन्दा साथी मात्र मान भन्नेहरु कहिल्यै आएनन् ।
प्रेमको सप्ताह चल्दैछ । प्रेमको नाममा, सम्बन्धको नाममा बोल्नेहरु धेरै छन् । जे पर्ला पर्ला ठानेर मैले पनि आज बोलीदिएँ । यो तिम्रो र मेरो कथा भएपनि यो मेरो भर्सनको हाम्रो कथा हो । यो प्रेम कथा र्होइन । यो साथीत्वभन्दा माथी उठ्न नसकेको एक अड्मिल्दो अकथा हो । र यो प्रेमजस्तो लाग्ने तर प्रेमको भूगोललाई न छुन सकेको न पर भाग्न सकेको एक अमूत अकथा हो ।
No comments:
Post a Comment