प्रिय तिमी,
पत्रको बदलामा अर्को पत्रको आशा थिएन । मलाई लागेको थियो मेरो पत्र ति सबैको लागि हो जो असम्बोधित छन् । बादलमा नकोरीएका, हिउँमा नलेखिएका, परेवाले नबोकेका, हुलाकसम्म नआइसकेका ति सबै सबै नाममा पत्र कोरेकी थिएँ । तर संयोग भनौ मैले पत्रको बदला पत्र पाएँ ।
पहिलोपटक आफैँ सम्बोधित हुदाको अनुभव अलौकिक थियो । पत्र लेख्ने तिमीलाई धन्यवाद । पत्रलाई महशुस गरेकोमा अझ धन्यवाद । मैले पत्रको अन्त्यमा भनेकी थिएँ मेरो कर्कश आवाजलाई सुमधुर मानि सुनिदिनु । तिमीले सुमधुर ठानिदिया,ै म धन्न भएँ । पहिलोपटक आफ्नै नाममा पत्रमञ्जुसा बोकि कोही आयो, बर्षौदेखी सँगालेको सपना फेरी एकपटक ब्यूझिएझै लाग्यो ।
सायद मैले यस्तै अक्षरका सपनाहरु बोकी बाचेको थिएँ । सायद तिमी पनि त्यसरीनै बाच्यौ । आज लाग्यो आफैँ सम्बाोधित हुन पनि आफूले कसैलाई सम्बोधन गनुपर्ने रहेछ । आज पनि पानी पर्यो, घाम लाग्यो, बादल आफ्नै उडानमा निस्क्यो , चराहरु उडे, फूलहरु फुले यीनै नियमितता बिच अर्को अनियमितता भयो । मेरो नाममा चिठी आयो । पहिलो पटक अनियमितता पनि मिठ्ठो लाग्यो ।
मैले असम्बोधित सामूहिकतालाई सम्बोधन गरेको थिएँ । तिमीलाई किन लाग्यो त्यो तिम्रै लागि थियो । सायद तिमीले पनि मैलेझै मौनतामै केही हरफहरु कसैको लागि लेख्यौ होला । कसैले नदेख्ने गरी हिउँमा कसैको नाम लेखेर मेट्यौ होला । डायरीका पानाहरुमा अझै कोही बाचिरहेको छ होला । किन किन मलाई मैले जस्तै तिमीले यो सब गर्यौ भन्ने लाग्छ । मेले भनेकी थिएँ कोही त होला जसले हाम्रै लागि लेखिरहेछ । तिम्रो चिठ्ठीले अझ बढी लाग्न थाल्यो । कोही त रहेछ, जो मेरै लागि लेखिरहेछ ।
यो पत्र हालखबरको बदला हालखबर होइन । न स्नेहको बदला स्नेह । यो उत्तरको बदला प्रतिउत्तर पनि होइन । यो त सपनाको प्रतिउत्तरमा पठाएको अर्को सपना हो । मलाई लाग्छ मेरा जस्तै तिम्रा अक्षरहरु पनि खिरिला र मसिना छन् । हामी शुष्मता बाच्छौ र बाचिरहनेछौ । यो तिम्रो पत्रको प्रतिपत्र होइन । यो कृतज्ञ पत्र हो । कृपया उत्तरको लागि अर्को प्रतिउत्तर न मैले तिमीलाई दिनेछु न तिमीबाट आशा गर्नेछु ।
उही
पहिलो पत्रको प्रापक
No comments:
Post a Comment