हिजो थियो आज छैन । डोब न हो । तर सबै डोब त्यति सजिलै जाँदैनन् । नमेटिने डोबबारे किन कोही बोल्दैन । पाइलाका डोबहरु सजिलै मेटिएलान् तर मनको डोब..... त्यति सजिलो छैन मेट्न ।
कहिलेकाही लाग्छ मसँग डोबहरु सामूहिक रुपमा हल्ला गर्छन् । ति चित्कारमय डोबहरु सायद इतिहास दिएको छ मलाई । आमाका, हजुरआमाका नदेखिएका डोबहरु बोकेर म आफ्नै डोबहरुलाइृ हेर्ने गर्छु । कहिलेकाही लाग्छ म तिनै डोबहरुको निरन्तरता मात्र हो । मसँग पनि इतिहासले दिएको पिडा मात्र छ । म पिडाहरुमा थप पिडा थपिरहेछु ।
यदाकदा लाग्छ सामूहिक डोबहरुलाई सडकमा निकालु । ति पिडाका चित्कारहरुले कुनै दिन बदलामा मलम मागेँ भने इतिहासले के भनेर सम्झाउनेछ । यति भनिरहँदा म आफ्नै शरीर हेर्छु र गन्छु आफ्नै डोबहरु ।
मौन छन् डोबहरु उनीहरुको चित्कार पनि मौनताले नै बोल्छ । उनीहरुसँग शब्द थिएन । शब्द मैले पाएँ तर मैले आफैँले पनि आफ्ना डोबहरुलाई अहिलेसम्म सम्बोधन गरेको छैन । यिनै असब्बोधित डोबहरुको इतिहासलाई म अक्षरको पर्दा लगाउँछु । कतिलाई लाग्ला मैले बोल्ने शब्दहरुले सान्टाको सुन्दरतालाई बोल्छ । तर मैले लेख्ने शब्दहरु नमेटिएका डोबका खतहरु मात्र हुन् ।
No comments:
Post a Comment