प्रिय तिमी,
सायद तिम्रो प्रतिउत्तर बिना मेरो सपनाको पनि अन्त्य हुन्थ्यो होला । तर कहिलेकाही सपनाहरु बिपना बनिदिन्छन् । मेरो लागि तिम्रो प्रतिउत्तर त्यही थियो । तिमीले पत्रको बदला पत्र लेख्यौ म भन्य भए । पत्रका श्रृखलाहरु बढ्दै गए । तिम्रो पत्र मात्र होइन तिमीले लेखेका पत्र भित्रका अक्षरहरु पनि राम्रा लाग्न थाले ।
पत्र लेख्ने मानिसको पर्खाइ लामो थियो । तिमी अघि मेरै लागि भनेर कसैले पत्रहरु लेखेनन् । न कसैले हिउँमा मेरो नाउँ लेख्यो । न कसैले नदि किनारामा मेरो नाउँ लेखी मेट्यो । न मैले नै कसैको लागि लेखँे । तर किन किन कल्पनानै सहि कसैले लेख्योस् आफ्नो लागि भन्ने सधैँ थियो । त्यसैले मैले कयौ पटक आफ्नै लागि पत्रहरु लेखेँ । पत्रको प्रापक र पत्रको प्रेसक दुबै म आफैँ भए ।
तर थाहा छैन कहाबाट बिना प्रापकको पत्रलाई पनि आफ्नै लागि ठानि तिमीले प्रतिउत्तरमा केही हरफहरु लेख्यौ । पत्रको बदला पत्र भेट्नु मेरो लागि आशाको आफ्नै उचाइ थियो । जसको प्रतिक्षामा मेरा कयौ किशोरकालिन दिनहरु खेरा गए । जीवनको यो मोडमा शब्द मार्फत कोही भेट्नु असाद्धै सुन्दर चिज हो । म त्यो अनुभूतीलाई शब्दमार्फत ब्यक्त गर्न सक्दिन ।
कहिलेकाही समयसँगै आशाहरु धुमिल बनिदिन्छन् । कथाहरुझै आशाहरुले पनि नसोचेका मोडहरुमा बिदा लिन्छन् । पत्रको बदला पत्रको आशा गर्नु मेरो लागि त्यही थियो । त्यसैले मैले त्यही सामुहीकतालाई सम्बोधन गरे जसले प्रेमका पत्रहरु भेटेका थिएनन् । असम्बोधनलाई सम्बोधन गर्नु मैले आफैँले लागि सम्बोधन गर्नु पनि थियो । तर आफैँलाई गर्दागर्दै तिमी भेटियौ । कहिले आफूँजस्तै । कहिले आफूँभन्दा फरक । तर शब्दहरु नै थिएँ जसले हामीलाई बाधिदियो ।
किनकिन तिम्रा शब्दहरुमार्फत नै मलाई लाग्यो तिमी त्यस्तो कविता हौ जसलाई म मात्र लेख्न सक्छु । यो एक काँचो कविको आत्मबिश्वास थियो । तर मैले तिमीझै नभए पनि तिम्रो प्रतिछायाझै लाग्ने एक कविता लेखेँ । त्यो कवितामा मैले तिमीलाई गहिरेर हेर्न खोजेँ तर आफैँलाई भेटेँ । लाग्यो तिमी त मेरो छाँया नै त रहेछौ त्यसैले त मेरो पत्रको बदला तिमीले पत्र लेख्यौ । लाग्यो तिमी छाया रहेछौ म तिम्रो प्रतिछाया । सायद म चित्रकार भएको भए तिम्रा र मेरा रेखाहरु एकअर्कामा मिल्थे होलान् र हामी कुनै अमूर्त चित्र बन्थ्यौ होला ।
हिजो नै त हो फेरी अर्कोपटक मस्र्याङ्दी किनारामा गएँ र तिम्रो नाम लेखेँ अनि सँगै आफ्नो नाम पनि लेखेँ । पहिलोपटक नदिले मलाई अँगालेझै लाग्यो । मैले पनि नदिलाई अँगाले । पहिलोपटक किनारा र नदी आफ्नोझै लागे ।
किन किन यस्तै अझै धेरै लेख्न मन थियो । तर कवितासँगै यी अमिल्दा बरबराहट कति लेखिरहनु भन्ने पनि लाग्यो । कविताको क्यानभाष म हुँ कविताका अक्षरहरु तिमी हौ ।
आज मैले लेखेको तिम्रो कविता मेरो पनि भयो । कविता पढ्नु ल !
उही म
No comments:
Post a Comment