स्थिर हुन सजिलो छैन । नदिहरुको चन्चलता सधैँ लोभलाग्दो लाग्छ । बग्नु कठिन छ तर रोमाञ्चक छ । तर रुखहरुसँग त्यस्तो स्वतन्त्रता कहाँ छ ? बर्षौ त्यही माटोलाई कुरेर बस्नु उनीहरुको नियती हो । तर उनीहरु सधैँ शान्त लाग्छन् । कि उनीहरुसँग मानिसको झै जीवनका उतारचटावहरु कम छन् । वा कोही किन यति धेरै शान्त भैदिन सक्छ ।
मलाई रुखहरु सधैँ गहिरा र रहस्यमय लाग्छन् । जीवनका उतारचडाब को सँग हुँदैन र ? तथापि उनीहरु यसरी स्थिर बनिदिन्छन् लाग्छ उनीहरु सँग शान्तताको इतिहास मात्र छ । रुखहरु समयका साक्षि हुन् । उनीहरु केवल अबलोकन गर्छन् र बर्षौबर्ष बाचिदिन्छन् । थाहा छैन जीवनका अवरोहहरुलाई कसरी लिन्छन् ।
कहिलेकाही त लाग्छ नि रुख झै भैदिउँ तर रुख हुन कहाँ सजिलो छ र ! मलाई स्थिरताले सधैँ पोल्छ । म जहाँ जन्मे त्यही मर्नु छैन । मलाई त नदिझै कहि पुग्नु छ । कहाँ त्यो पनि थाहा छैन । तर मन हो सधैँ परिवर्तनहरु चाहन्छ । जहाँ छु त्यही भैराख्नुले पोल्छ पनि ।
म त अक्षरमा भए पनि बग्न चाहन्छुु । मलाई ननाघेका क्षितिजहरु सधैँ गिज्याएझै लाग्छ । रुखहरु त किनारा हुन्, उनीहरु चाहेर पनि बग्न र उड्न सक्दैनन् ।
No comments:
Post a Comment