Thursday, July 24, 2025

बाउन्न


आज कसैले जन्मदिनको शुभकामना भनेन । कसैले ह्याप्पी बर्थडे पनि भनेन । आमा हुनुभएको भए भन्नुहुथ्यो होला । आमा जानुभएको पनि सत्र बर्ष भएछ । बा जानुभएको बत्तिस बर्ष भएछ । आजकल त कहिलेकाही आफैँ जाने दिन पनि चाडैँनै आउँछ कि भन्ने लाग्छ । तर यो भन्दैमा माया मोहबाट पर भाग्न सकिन्छ भन्ने होइन रहेछ । छोरी पैतिसकी भै छोरो बत्तिसको भयो । उनीहरुको लागि पनि गैहालौ झै त लाग्दैन । र पनि एक्लो भएझै सधैँ लाग्छ ।

केही वर्ष अघिसम्म छोरीले “ह्याप्पी बर्थडे ममी” भन्ने गर्थि । आजकल उसका केटाकेटी हुर्कदै गएपछि उसले पनि बिर्सन थालेकी छ । छोराको त खोइ के कुरा गरु उसले त कहिल्यै पनि सम्झेन । अल्लि बर्ष अगाडीसम्म फेसबुकले भए पनि सम्झाउँथ्यो अचेत त खोइ छोराले हो कि छोरीले नदेखिने बनाईदिएका छन् । मलाई त देखिने भएको नै मन पथ्र्यो । केहीले त जन्मदिनको शुभकामना भन्थेँ । बुढो भएपनि जन्मदिनको शुभकामना पाउँदा रमाइलो नै लाग्छ ।

उहाँको कहिल्यै त्यस्तो सम्झिने बानी भएन । कहिलेकाही त अरुका बुढा देख्दा नि लोभ लाग्छ । उहाँलाई आफ्नै पनि एनिभर्सरी बर्थडे उहाँलाई याद हुन्न । हाम्रो त परको कुरा । उहाँको नि मैले नै सम्झाइदिने हो । बिहे गरेको सैत्तिस बर्ष भएछ । मैले अहिलेसम्म उहाँको हातबाट उपहारको नाममा केही पाएको छैन । केटाकेटी हुर्कदै गएपछि केटाकेटी पनि परका हुँदा रहेछन् । आफ्ना भनेर के न रमाउँने बेलामा साथ छन् न आशु पुस्ने बेलामा साथ छन् ।

पहिले पहिले लाग्थ्यो छोरीको बिहे गरिदि हाल्नुपर्छ । त्यही भएर उ पच्चिसकी हुनेबित्तिकै मैले नै कर गरेको हो । एमए पढ्दै थी गर्दिन भन्थि । अधिकृतको कुरा चलेपछि उसका बाले पनि नाई भन्न सक्नुभएन । अहिले उ पनि म जस्तै कसैकी आमा र स्वास्नी मात्र भएकी छ । किनकिन उ सुखी छ जस्तो पनि लाग्दैन । ज्वाइ भन्नुहुन्छ दुबै काममा गएपछि केटाकेटी अलपत्रमा पर्छन् नजाउ । उ जान्छु भन्न पनि सक्दिन तर उसमा आँखा हेर्दा खुसी छ जस्तो कहिल्यै लाग्दैन । कहिलेकाही यसरी रिसाउँछे लाग्छ उसले आफ्नो पिडा रिसमा ब्यक्त गर्दै छ । 

अहिलेजस्तो भएको भए म उसलाई बिहे गर भनेर कर गर्नेनै थिइन । उ पढेर पनि म जस्तै भै भन्ने कुराले मलाई सधैँ पोल्छ । उ भन्दा कम उमेरको भाइले काम गर्न थालेको पनि कयौ वर्ष भै सक्यो । उसले नै कमाउन थालेपछि त हाम्रो जीवन पनि केही सजिलो भएको हो । नत्र एकजनाको कमाइले जीवन सजिलोसँग कहिल्यै चलेन । तर बिहेपछि उ पनि बदलिएको छ । पहिलेझै फोन पनि गर्दैन । बिदेश नै भएपनि पहिले पहिले सधैँ फोन गथ्र्यो । अहिले हप्ताको एक पटक पनि पाँच मिनेटको लागि मात्र फोन आउँछ । बुहारीको त कुरै छोडौ यसो गर्नपर्छ भनेर गरेको जस्तो मात्र लाग्छ । यूकेन्ड हो भनेर फोन गर्छन सायद बिदा भनेर होला । तर सधै साथीको मा खाना खान बोलाछन् मात्र भन्छन् । 

सबै भएर पनि एकदम एक्लो महशुस हुन्छ । बुढाबुढी पनि सधै सँगै भएपछि माया भन्ने चिज पनि आफैँ हराउँदो रहेछ । आवकल त साथी जस्तो मात्र लाग्छ । अरु भन्छन् केटाकेटी हुर्के आनन्द छ है आफू भित्रको अध्यारो आफूलाई मात्र थाहा छ । कहिलेकाही त केटाकेटी सानै भएको ठिक रहेछ भन्ने पनि लाग्छ । उनीहरुले गर्ने माया पनि आफ्नो लागि मात्र थियो देखाउने रिस पनि । आजकल त माया र रिस दुबै नदेखाएझै लाग्छ । छोराछोरी पनि कहिलेकाही भेट हुने आफन्त जस्ता मात्र भएका छन् । माया तल झर्छ भनेको हो रहेछ ।

अल्लि बर्ष अगाडीसम्म गाई बाख्रा थिए । तिनैले भएपनि माया देखाउँथे । छोराले नै नपाल भनेपछि दुई बर्ष भयो पाल्न छोडेको । आजकल मन बिहाउने ति पनि छैनन् । कहिलेकाही एक जोर पाठाका माउ ल्याएर पालुकी झै पनि लाग्छ । मान्छेका नभए पनि बाख्राका बच्चाले घर उज्यालो हुन्थ्यो । उनीहरु उर्फेको काखमा आएर बसेको सबै सबै मन पनि पर्छ । 

आज बाउन्नौ जन्मदिन हो । जीवन एक हिसाबमा गैसकेझै लाग्छ । बस् छोराका केटाकेटी देख्न मन छ । आमालाई सम्झन्छु । बालाई सम्झन्छु । गैसकेको भाइलाई सम्झन्छु । उनीहरु भएका भए जन्मदिनमा सम्झने कोही त हुन्थ्यो होला । आमाले नभए भाइले भाइले नभए बाले त सम्झनु हुन्थ्यो होला । तर अब त सम्झने पनि कोही रहेनछन् ।

आजकल आमा सपनामा बढी देखिन थाल्नुभएको छ । सपनामामा मात्र देख्न पाए पनि आमा भनेको आमा रहेछ । अब त तेरो म छु भनिदिने पनि कोही छैन । खुसी त छस् नि भन्ने पनि कोही छैन । मायाले अँगाले पनि कोही छैन । आफू रुँदा आफैसँग रोइदिने पनि कोही छैन । आमाछैन्जेल घरधन्दाले छोडेन । केटाकेटी र लाग्नेनै संसार हुन् भनेझै पनि लाग्यो । जति उमेरले पाक्दैछु आमाको रित्तता अझ कम हुन्छ । लोग्ने भनेका लोग्ने नै रहेछन् । बस् सुत्ने बेला ओछ्यान तातो भए पुग्ने । तातेको ओछ्यान चिसो भएपछि के छ तँलाई भनेर पनि नसोध्ने । कहिलेकाही त्यो चिसो ओछ्यानलाई चिसो नै छोडिदिउँ झै पनि लाग्छ । तर लोग्ने अन्त बहकिन दिन राम्रो होइन भन्छ मनले । साथी जस्तो पो लोग्ने । ओछ्यानमा मात्र चाहिने के लाग्ने । न कहिल्ये चिसो तातो पाएकी छु । नहिल्यै सन्चो बिसन्चो । मन हो लोग्नेबाट पनि बहकिन्छ कहिलेकाही । 

आज मन बहकिएको छ । नछुनि हुन छोडेपछि रिस पनि बढी उठ्न थालेको छ । मन अमिलो पनि बढी हुन्छ । कहिलेकाही त्यसै आँखाबाट आशु झर्छ । केटाकेटीझै भएकी छु । आशु पुछिदिने कोही होस् भन्ने पनि लाग्छ । मायाले बोदिदिने कोही होस् भन्ने पनि लाग्छ । आज जन्मदिन भनेर केटाकेटिझै मन फुरुङ्ङ थियो । तर दिन ठल्किएसँगै मन पनि बहकिएको छ । केटाकेटीलाई  सम्झे । आमालाई सम्झे । जतिऔ जन्मदिन भएपनि आमालाई नै सम्झिदो रहेछ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...