Sunday, July 20, 2025

तिमी मेरो चिठी पुग्ने ठेगाना हौ


प्रिय तिमी, 

मैले ठेगाना नसोचि चिठी पढाएको थिएँ । तिमीले आफूलाई नै सम्झेर प्रतिउत्तर पठाएका थियौ । त्यसपछि लाग्यो तिमी मेरो चिठी पुग्ने ठेगाना हौ । उत्तरको बदला प्रतिउत्तर आएँ । मैले चिठीमा शब्दहरुमात्र होइन आफैँलाई पठाइदिएँ ।

हिजो नै तिमीले लेख्यौ मैले पठाएका चिठीहरु तिमीले पानीमा भिजायौ । मलाई लाग्यो म आफैँ भिजेँ र पहिलोजस्तो रहिन । भिज्न त चिठीहरु भिजेका थिएँ तर मलाई लाग्यो म आफैँ भिजेँ । थाहा छैन ति शब्दहरु पानीसँगै कहि तलाउ बनेर जम्मा भएँ वा नद िबनेर बगे । तर मलाई किन किन लाग्यो तिमीले भिजाएँसँगै म तलाउ होइन नदी बने ।

बग्नु र जम्नु दुबै बिम्ब नै थियो । तर म तिमीसँग जम्न होइन बग्न चाहन्छु । जमे भने कुनै दिन तिमी मसँग निस्सासिन सक्छौ । वा म कुनै दिन पोखिएर कतै बहकिन सक्छु । मलाई त तिमीसँग बग्न मन छ । हिजो कसैले मलाई भन्यो सहरजस्तै माया पनि जन्मन्छ हुर्कन्छ मौलाउँछ र मर्छ । तर मलाई जन्मदै मर्नु छैन । हाम्रो मायालाई पनि जन्माउँदै मार्नु छैन । म तिमीसँग हुर्कदैन, यौवनमा फर्कदै अस्ताउँन चाहन्छु । त्यसैले म पोखिन होइन बग्न चाहन्छु ।

अघिल्लो पत्रमा तिमीले भनेका थियौ– पहिलोपटक कसैको प्रेममा परेझै महशुस भयो । किन किन मलाई लाग्छ त्यो अनुभुती क्षणिक पनि हुनसक्छ । फेरी अर्को मनले अजम्बरी के छ र ? के जीवन केही पलका लागि बाचिदिँदा हुँदैन । तिम्लाई जस्तै मलाई प्रेम जस्तै केही महशुस हुँदैछ । यो प्रेम हो वा होइन त्यो मलाई थाहा छैन । म पनि तिमीलाई स्पर्श गर्न चाहन्छु । तिम्रा न्याना हातहरुलाई महशसु गर्न चाहन्छु । तिमीले मसँग यही कुरा चाहनुलाई माफी माग्यौ । म पनि त्यही चाहन्छु, के म पनि तिमीसँग माफी मागँु ? मसँग पनि तिमीसँग जस्तै एक जनावर बाच्छ । मलाई पनि पहिलोपटक आज त्यही जनावरलाई भेटेझै महशुस भयो ।

जसरी तिमीले मलाई आफ्नो ठानेका छौ मैले पनि तिमीलाई त्यसरीनै आफ्नो ठानेकी छु । आशा छ सधैँ तिमी मेरो चिठी पुग्ने ठेगाना बन्नेछौ । म तिमीसँगै हुर्कन चाहन्छु ।

उही 

तिमीलाई पत्र लेख्ने म

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...