Saturday, July 12, 2025

जसले सिकाउँन र सिक्न बिर्सेनन् – २

 

उठ्नु त चराहरु भन्दा अघि नै थियो तर उठिन । चराहरु सँगै उठेँ । झ्यालबाट मानिसका पदचापहरुको एक लर्को हेरेँ । हिजो नै कसैले बिना खबर उपहारस्वरुप किताबहरु पठाएको छ । दुर देशबाट किताबहरु आउँनु– आफैँलाई एकपटक भाग्यमानी सम्झे । आफूलाई माया गर्नेहरुलाई पनि सम्झे । र आफूले माया गर्नेलाई पनि सम्झे । दुनिया अडिएको छ भने आत्मियतामै अडिएको छ । 

मैले भेटेका सबैभन्दा सुन्दर मानिसहरु किताबकै कारण भेटेको छु । त्यो भएर पनि मलाई पुस्तक सधैँ प्रिय लाग्छ । किताबकै कारण मानिसहरु भेट्नु ति आफ्ना बन्नु अति नै प्रिय कुरा हो । तर पुस्तक यसरी उपहारकै स्वरुप पहिलो पटक पाएकी हुँ । कसैले मायाले पढाएको उपहार मैले अस्विकार गरिरहन सकिन । उनलाई फेरी पटक मनमनै धन्यवाद भने । मनमनै कसैले टाढाबाट पढाएको प्रेमले नतमस्तक भएँ ।

सिक्न र सिकाउँने यो ठूलो दुनियामा किताब नै सिकाउँने र सिक्ने पहिलो र अन्तिम चिज हुँदै होइन । सिक्न जे बाट पनि सकिन्छ । तर सिक्नु र सिकाउँनुभन्दा परको कुरा मानिसलाई मानिसकै रुपमा माया गर्नु रहेछ । आज तिनै मानिसहरुलाई सम्झन्छु जसले सिकाएझैँ गरेर माया गर्न सिकाएँ । 

  मलाई बिश्वविध्यालय सधैँ प्रिय लाग्छ । यस्तो लाग्छ त्यसले मलाई आफू बन्न दियो । मजस्तै अरुलाई भेटायो । 

प्रिय दिवाकर सर,

थाहा छ यसरी लेख भनेर सिकाउँन सजिलो छैन । तथापि हजुरले लेख्नुपर्छ भनेर सिकाउँनु भयो । आज पनि साथिभाइ जम्मा हुँदा हजुरलाई नै सम्झन्छौ । राइटिङ डा«फ्टहरुमा हजुरले लगाइदिएका राता मसिका धर्काहरुले आज पनि हजुरलाई सम्झाउँछ । गुरुले के सिकायो भन्दा पनि कसरी सिकायो भन्ने कुरा बढि गह्रौ बन्दो रहेछ । एक पढाउँने मानिस सिकाउँने मात्र मानिस होइन माया गर्ने पनि मानिस पनि हो । हजुरले सधैँ माया गर्नुभयो । हिजो गुरु पुणिमा पनि थियो मनमनै सम्झेँ तर फोन गर्न सकिन । थाहा छैन कुनै दिन मनमा लागेका मुखले गर्न सक्ने भएँ भने अवस्य गर्नेछु ।

प्रिय शिव सर, 

कहिलेकाही सिकाउँने मानिसहरुले सिक भन्दैनन् तथापि सिकाइरहन्छन् । सायद हजुरले त्यही गर्नुभयो । एक लचिलो गुरुले बिधार्थीलाई पनि लचिलो र फराकिलो नै बनाउँन सिकाउँने रहेछ । हजुरबाट मैले सबैलाई लचिलो भएर हेर्न सिकेको छु । धेरैले तैँले यो गल्ति गरिस् भनेर सिकाउँछन् हजुरले त सधैँ अरुले खराब काम गरिस् भन्दा पनि राम्रो काम भयो भनेर सिकाउँनुभयो । हजुरबाट सधैँँ सिकिरहनेछु र सधैँ कृतज्ञ भैरहनेछु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...