Tuesday, July 22, 2025

मन्जिला

 

म एककदम अगाडी छु । उ एक कदम पछाडी छे । हाम्रा पाइलाहरु उही उही रफ्तारमा छन् । पुग्नुपर्ने ठाउँ पनि उही हो । बिहानको दश तिस बजेको छ । मेरा झै उसका पाइलाहरु पनि लामा छन् । मलाई थाहा उ मन्जिला हो । तर म उसलाई बोलाउँन सक्दिन ।

उसलाई मैले देख्न थालेको पनि एक वर्ष भैसकेको छ । करिब एक वर्ष अगाडी साउँनमा हुनुपर्छ भेडिकलको प्रिपेरेसन क्लासमा मैले उसलाई देखेको थिएँ । सेतो वानपिस त्यसमाथि कालो आउटरमा उ अरुभन्दा फरक देखिएकी थिइ । उ अरुभन्दा फरक देखिन्थी किनभने उ अरुभन्दा पातली र अग्ली थिई । गोरी तर हाडमा मासु नभई छाला मात्र बेरिएको जस्ती ।

तर मलाई उ मेरो प्रिय पात्र जस्तै लाग्छे। ब्राह कक्षाको इग्जाम भ्याएपछि मैले पारिजातको उपन्यास शिरिषको फूल पढीभयाएको थिएँ । मलाई मनपरेको पनि थियो । मलाई सकमबरी कस्ती देखिन्छे होला भन्ने पनि लागेको थियो । तर किन किन नेम्समा पहिलोपटक जब उसलाई देखेँ  सकमबर ियही नै हो भन्ने लाग्यो  । उस्तै खिरिलो ज्यान उस्तै खिरिला औलाहरु, बस् सकमबरीको जस्तो उसको कपाल ठूटो छैन । उसलाई मैले क्यानटिनमा एक दुई पटक सूर्य लाइट तानेको पनि देखेको हो । त्यो दिन पछि त अझ मलाई उ सकमबरी जस्तै लाग्छ । किनकिन लाग्छ उ पनि सकमबरी जस्तै निस्सार र अफबिट छ ।

तर उ सकमबरि जस्तो बोलेको सुनेको छैन । यो एक बर्षमा मैले उसलाई एक पटक पनि बोलेको देखेको छैन । उ क्लासमा पनि एक्लै बस्छे । एक्लै पढ्न आउँछे । एक्लै फर्कन्छे । उसलाई मैले केटासँग तर परको कुरा केटीसँग पनि बोलेको देखेको छैन । उसको नाम पनि मैले हाम्रो क्लासको ह्वाट्स एाप गुप्रबाट थाहा पाएको हो ।

अचम्मको कुरा त उ कहिल्यै कोहीसँग बोल्दिन । एक दुई पटक म उ छेउ बस्न गएको पनि हो । तर जब उ छेउ म गएँ उ पसिनाले निथ्रुक्क हुन्थी अनि हातहरु काम्थे । उ अनकम्फरटेबल भएको देखेपछि म उछेउ बस्न जान पनि छोडिदिएको छुँ । 

कहिलेकाही केटाहरु उसले नदेख्ने गरेर उसलाई हेरेर हाँस्छन् । कस्तो नमूना छ है पनि भन्छन् । तर मलाई उसलाई अरुले यस्तो भनको मन पर्दैन । अस्ति उ जिन्सको सट्स् लगाएर आएकी थिई । त्यस दिन उ भन्दा पछाडीको डेक्समा म र मनोज थियौ । मनोज उसलाई हेरेर हाँस्यो । तर खोइ किन मलाई अरुले उसलाई त्यस्तो गरेको पनि मन पर्दैन ।

 मलाई त उ मेरो प्रिय पात्र सकमबरी जस्तै लाग्छ । उसका हातहरु, उसको शरीर, उसका साना आँखा सबसब सकमबरीका ाजस्तै लाग्छ । कहिलेकाही त उसलाई उसले थाहा नपाउँने गरेर छोउ जस्तो पनि लाग्छ । तर छुन सक्दिन । कहिलेकाही मन्जिला भनेर बोलाउँ जस्तो पनि लाग्छ तर बोलाउँन पनि सक्दिन । तर सकेसम्म हरेक दिन उ पडाडीको बेन्चमा भने बस्छु ।

गए राती अचम्म भयो मैले उसलाई सपनामा देखेँ । सपनामा मात्र देखिन । सपनामा उसलाई मैले छोएँ  । उ सपनामा मसँग बोली । जब सपनाबाट बिउँझिएँ म पसिनैपसिनाले निथु्रक्क भिजेको थिएँ । तर खुसी थिएँ । मलाई लाग्यो सपना अल्लि लामो भएको भए पनि हुनेनी । 

किन किन आज उसलाई यसरी बाटोमा भेट्दा पनि खुसी लाग्दैछ । आज पनि उ सेतो फ्रकमा आएकी छ । कपाल अरुबेलामाझै खुल्ला नै छोडेकी छ । अरु दिनहरु भन्दा अझ राम्री देखिएकी छ । तर किन हो कुन्नि उ कोहीसँग बोल्दिन । किन कोही छोरामान्छे उसको नजिक जाँदा उ पसिनैपसिनाले निथु्रक्क हुन्छे । किन उ सकमबरी जसरी आफूलाई मन लागेको कुरा भन्दिन ? 

आज पनि म उ भन्दा पछिल्लो बेन्चमा बसेको छु । थाहा छ उ बोल्दिन  तर पनि किन किन मनले एक पटक त मन्जिला भनेर बोलाउ  भन्छ तर बोलाउँन सक्दिन । टाढैबाट उसका हातहरु हेर्छु । उसका अक्षरहरुलाई हेर्छुृ । किनकिन अक्षरलाई नै भएपनि एकपटन छोउछोउ लाग्छ । राती देखेको सपनालाई सम्झन्छु आफैँलाई देखेर लाज लाग्छ । सपनामा भेटिएकी चन्चल र खुल्ला मन्जिलालाई सम्झेर पनि लाज लाग्छ । तर उसलाई मन्जिला भनेर बोलाउँन सक्दिन । 

उसका अक्षरहरुलाई फेरी अर्कोपटक हेर्छु उजस्तै मसिना र खिरिला । फेरी अर्कोपटक छुने रहर जाग्छ तर छुन सक्दिन । किन किन पडाडीबााट मन्जिला भनेर बोलाउँ जस्तो पनि लाग्छ । तर थाहा छ उ बोल्दिन ।  के थाहा ...... उ मसँग बोल्छे कि । तर मनले भन्छ बोल्दिन ।

तीज बजे क्लास सिद्घिन्छ उसको पछिपछि म पनि निस्कन्छु । उसलाई फेरी अर्कोपटक हेर्छु । खोइ उ कताबाट घर फर्कि मलाई थाहा भएन । म रत्नपार्क पुगेर कंलकी जाने बस चढ्छु । बसभर पनि उसलाई सम्झन्छु । राती देखेको सपनालाई सम्झन्छु । सपनामा सुनेको उसको आवाजलाई सम्झन्छु । सपनामा उसँग गरेको हर्कतलाई सम्झन्छु । अनि फेरी अर्कोपटक आफैँलाई देखेर लाज लाग्छ ।

घर पुगेपछि किन किन लाग्छ उ अरुको अगाडी नबोले पनि म्यासेज पठाउँदा बोल्छेकी ! फेसबुकमा सर्च गर्छु भेट्दिन इन्स्टामा सर्च गर्छु त्यहाँ पनि भेठ्दिन । मनले भन्छ किन उ त्यस्ती भै ? त्यस्तै भएर पनि किन मलाई मनपर्छ । किन मलाई उ सकमभरी जस्तै लाग्छ । किन उ बारे म सोचिरहन्छु । 

डायरी निकाल्छु 

प्रिय मन्जिला,

म तिमीसँग बोल्न चाहन्थेँ । मलाई तिमी मेरो प्रिय पात्र सकमबरी जस्तै लाग्छ भन्न पनि चाहन्थेँ । तिमीबारे सोध्न पनि चाहन्थेँ । तिम्रा कुरा सुन्न पनि चाहन्थेँ । र यी सब चाहन्छु पनि । तर तिमी मैले देख्नेगरेर अहिलेसम्म कोहीसँग बोलेकी छैनौ । मैले देख्नेगरी कसैलाई चिहाएर हेरेकी पनि छैनौ । त्यो तिम्रो मौनतालाई भत्काउँने साहस मसँग छैन । आज राती तिमीलाई सपनामा देखेँ । बिहान उठ्दा खुसी पनि भएँ । दिउँसो तिमीलाई भेट्दा बोलौ भन्ने नलागेको पनि होइन । तर तिमीसँग कसरी बोल्ने कसरी बोलाउँने थाहा छैन । आज जसरी नि तिमीलाई बोलाउँछु भनेर जताततै खोजेँ । फेसबुकमा खोजेँ । इन्स्टामा खोजे । तर तिमी कतै थिइनौ । त्यसेले चिठी जस्तो केही लेखेर यो यूनिभर्सस्ाँग केही माग्दैछु । आजकल कहिलेकाही म्यानुफेस्टेसनको बारेमा पनि सुन्छु । सायद यसरी प्रत्येक दिन डायरीमा तिमीलाई सम्बोधन गरेँ भने हुनसक्छ यूनिभर्सले मेरो कुरा सुन्नेछ । हुनसक्छ तिमी मसँग बोल्नेछौ । त्यसैले आज पहिलोपटक डायरीमा तिमीलाई सम्बोधन गरेको छु । कुनै दिन तिमी मसँग बोल्यौ  म तिमीसँग बोल्न सकेँ भने यी सब डायरी तिम्रा हुनेछन् ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...