Monday, July 21, 2025

म तिम्रो ठेगाना तिमी मेरो गन्तब्य


प्रिय तिमी,

कहिलेकाही जीवन पनि कथाझै लाग्छ । नसोचेका चिजहरु सोचझै बनिदिन्छन् । जस्तो कि तिम्रो पत्रमार्फत भएको हाम्रो भेट । शब्दहरु नै त हुन् जसले तिमी र मलाई भेटाएका थिएँ । शब्द नै थिएँ जसले हामीलाई आफ्नोझै बनाएका थिएँ । अघिल्लो पत्रमा मैले तिमीलाई माफी मागी मागी आफ्नो भावना बताएँको थिएँ । प्रेममा परेझै भएको छु भनेको पनि थिएँ । तर सोचेको थिइँन कि तिमीले ति सबै मनोकामनाहरुलाई वा भनौ अनुभूतीहरुलाई यति सजिलै लिइदिनेछौ । वा आफ्ना भावनाहरुलाई पनि यति सजिलै बताइदिनेछ्यौ ।

मलाई लाग्यो संसारमा दुई मानिसले यति सजिले एक अर्काका कमजोरीहरु र अनुभूतीहरुलाई सजिलै बुझिदिनु अद्भूत कुरा हो । थाहा छ म एक पुरुष हुँ म भित्र प्रेमका नाममा भोक मात्र पनि हुनसक्छ । तर म  एक मानिस पनि हुँ । तर तिमी भन्दा कमसल स्तरको मानिस । तर तिमीले म भित्रको कमजोरीलाई यसरी सजिलै लिइदियौ मानौ हामी भेटिन नै जन्मिएका थियौ । वा भनौ हाम्रो चिठी मार्फत भएको भेट एक संयोग मात्र थिएन । तिम्रो पत्र पढेपछि मलाई लाग्यो मैले मेरो कमजोरीहरुलाई तिमीमाझ लुकाइराख्न आवश्यक छैन । कमजोरीसहित कसैस्ाँग पोखिनु सजिलो काम पक्कै होइन । पोखिने मानिस भेट्नु अझ दुर्लभ काम हो । त्यसैले पनि  तिमीलाई भेटेकोमा म आफूलाई असाद्घै भाग्यमानी सम्झन्छु ।

तिमीले अघिल्लो पत्रमा भनेकी थियो म तिम्रो चिठी पुग्ने ठेगाना  हुँ । म तिम्रो ठेगाना भए तिमी मेरो गन्तब्य हौ । जसले नभनी धेरै कुरा बुझिदिन्छ र जो छु त्यसलाई नै अपनाइदिन्छ त्यो । मैले तिमीलाई आजबाट आफ्नो गन्तब्य ठानेको छु । तर गन्तब्य मानेपनि म तिमीलाई सिमारहित सम्झन्न । तिमी एक लचकदार गन्तब्य हौ । 

मैले तिम्रा चिठीहरु  पानीमा भिजाएँ तिमीले त्यसलाई एक बिम्बझै  ठानेर उज्यालोमा हेरिदियौँ । मलाई लागेको थियो चिठीलाई गुमाउनु भनेको तिमीलाई नै गुमाउँनु हो तर त्यस्तो भएन । म रुझेझै तिमी पनि मसँगै रुझ्यौ । तिमीले त्यति भनिसकेपछि लाग्यो हामीले  बिना स्पर्श पनि एक अर्कालाई छोइसक्यौ । एक अर्काको अगाडी निबस्त्र भै सक्यौ । 

शब्दहरुमा जति पोखिएँ पनि यसका आफ्नै सिमानाहरु छन् । चाहेर पनि म सबै चिज भन्न सक्दिन । बस् तिम्रो पर्खाइ छ । तिम्रो स्पर्शको पर्खाइ छ । 

उही 

तिम्रो चिठी पुग्ने ठेगाना 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...