Friday, July 25, 2025

एक चिठी एक पर्खाइ

 

प्रिय तिमी,

समय कति चाडैँ बित्छ है । केही समय अगाडी सम्म प्रापक र प्रेसक आफैँलाई मानेर चिठी लेख्ने म आजकल तिम्रो चिठीको पर्खाइमा बस्छु । तिम्रा चिठी बेगरका दिनहरु निराश लाग्छन् । कहिलेकाही लाग्छ आजकल म जे छु पर्खाइमा मात्र छु । तिम्रो चिठीको पर्खाइ छ । तिमीसँगको भेटको पर्खाइ छ र तिम्रो स्पर्शको पर्खाइ छ ।

अघिल्लो पत्रमा  तिमीले शब्दका सिमानाहरु बारे बोलेका थियौ । मलाई पनि कहिलेकाही तिमीलाई झै शब्दहरु छिचोलेर तिमीमाझ पुगौँ झै लाग्छ । यस्तो कहिल्यै भएको थिएन । म कसैको पर्खाइमा तड्पिएको यो पहिलो पटक हो । तिम्रा अक्षरहरुले मलाई अनौठो शान्ति र आनन्द दिन्छन् तर किन किन मेरो मनले पनि तिम्रो मनले झै तिम्रो सामिप्यता चाहन्छ ।

कहिलेकाही मान्छेहरुले शरीरको सामिप्यतालाई नैतिकताको साघुरो घेरामा बाधिदिन्छन् । एक यूवतीले अर्को यूवकलाई गर्ने प्रेम यो सामिप्यता बेगर अपुरो छ । म तिमीसँग सबै सबै कुराले नजिक हुन चाहन्छु जुन अक्षरहरुले मात्र सम्भव छैन । मलाई थाहा त्यो तिमी पनि चाहन्छौ । तर मलाई यो पनि थाहा छ कि हामी बिचको सम्बन्धको पहिलो र अन्तिम यर्थाथ यो मात्र होइन । हामी त अक्षरले जोडिएका मान्छे हौँ । हामी शारीरीक रुपमा नजिक हुन सकेनौ भने पनि मलाई कुनै पछुतो हुने छैन । तथापी मनले सामिप्यता चाहेको छैन भन्ने होइन ।

तिमीलाई लाघेझै मलाई पनि अहिले शब्दको सिमानाहरुको सहशुस भै राखेको छ । भन्न त म तिमीलाई धेरै कुरा चाहन्छु । गर्न पनि तिमीसँग म धेरै कुरा चाहन्छु । तिम्रो नाम नदिकिनारामा लेख्न पनि चाहन्छु । तिमीसँगै  नदिकिनारामा डुल्न पनि चाहन्छु । तर सक्दिन शब्दका आफ्नै सिमानाहरु छन् ।

तिमीलाई मैले अहिलेसम्म  म को हुँ भनेको छैन । म त नदि किनारा केटी हुँ । जसले नदीबेगर यर्थाथलाई बुझेकै छैन । म तिम्रो र मेरो भविष्य सोच्दा पनि नदीकै वरीपरी सोच्ने गर्छु । मेरो लागि नदी उचाई र गहिराई दुबै हो । रंग पनि हो क्यानभाष पनि हो । छाया पनि हो प्रतिछाया पनि हो । म तिमीलाई पनि पहिलोपटक नदीकिनारामा नै स्पर्श गर्न चाहन्छु ।

आशा छ तिमीले मेरो नदी मोहलाई बुझ्ने छौ । र चाडै नै हामी नदी किनारामा एक अर्कालाई अँगाल्नेछौ ।

उही 

तिमीलाई पत्र लेख्ने म

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...