Wednesday, July 16, 2025

भोजन


मोटे, काले र म आज मानिसको हुलबाट टाढा भएका छौँ । जसलाई हामीलाई माया गरेझै गर्थे उनीहरुबाट नै टाढा भएका छौ । उनीहरुले हामीलाई आज भेटे भने बाकी राख्ने छैनन् । हामी पुलको एउटा कुनामा कसैले नदेख्ने गरेर बोराले छोपिएर बसेको छौँ ।

मोटे काले र म पुन्टे एउटै टोलका कुकुरहरु हौँ । मोटे र म एउटै आमाका सन्तानहरु हौँ । उसलाई म जन्मेदेखी नै चिन्छु । हामी कंलकीको पुलमुनी नै जन्मिएका हौँ । हामीलाई जन्माएको केही महिना पछि हाम्री आमा कता गैन हामीलाई थाहा छैन । 

कंलकीको पुलमुनी जन्मेपनिे हामीलाई त्यहा नजिकका पसलबाला र होटलवालाहरुले माया नै गर्थे । हामीले नखाइकन बसेका दिनहरु सारै कम छन् । तर मासु भने जन्मेदेखी नै कम नै खान पाउँथ्यौ । हामीलाई सबैले हड्डीमात्र दिने गर्थे । 

तर एक बर्षदेखी यो कंलकी ऐरीयामा कुकुरको संख्या बढ्दो छ । हाम्रै वरीपरी सात वटा अरु कुकुरहरु आएका छन् । उनीहरु मोटा, हामी भन्दा कम उमेरका र बलिया भएकाले केही समयदेखी हाम्रो लागि राखिदिएको खाना उनीहरुले नै खान थादिदिएका छन् । तर त्यस्तो पनि कहिलेकाही मात्र हुने गर्छ ।

अघिल्लो हप्ता एक रात मोटे र मेरो लागि केही खाना थिएन । हामी पुलमूनी भोको पेट सुतिरहेका थियौ एक्कासी गोडा लडबडाउँदै एउटा मानिस आयो हामीलाई सुमसुमायो र हामी दुबैलाई एक एक पुरी बिस्कुट किनिदियो । त्यो मानिस हिड्न सकिरहेको थिएन त्यस दिन उ पनि हामीसँगै सुत्यो र रातभरी हामीलाई मायाले सुमसुमायो ।

मोटे र मलाई त्यस्ता मानिसहरु असाद्धै मनपर्छ । उनीहरु पनि हामीलाई हामीजस्तै लाग्छ । तर यस कंलकी वरीपरी केही गन्धा मानिसहरु पनि छन् । केही मानिसहरु पुसको चिसो समयमा पनि हामीलाई पानी छ्यापिदिन्छन् । कोहीले बिना गल्ती हामीलाई पिट्छन् । त्यस्तै एउटा बुढोले कंलकी मन्दिरको नजिकै चियापसल चलाउँछ । कहिलेकाही त हामीलाई त्यस बुढालाई टोकिदिउँ जस्तो पनि नलागेको होइन ।

तर उसको छोरा र श्रीमती सारै दयालु छन् । उसकी श्रीमतीले उ नभएको बेलामा हामीलाई बिस्कुट दिन्छिन् । उसको श्रीमती र छोराकै कारणले त्यस बुढालाई हामीले कहिल्यै टोकेनौ । कहिलेकाही त टोकिदिउँ भन्ने पनि लागेको हो तर पनि श्रीमतीको माया र गुन सम्झेर टोकेनौ ।

नजिकै अर्को फूल ब्यापारी त्यस्तै गन्धा छ । उसलाई लाग्छ हामी  उसको फूल वरीपरी गयौ भने फूलनै गन्धा पारीदिन्छौ । तर हामीलाई पनि फूलको सुगन्ध मनपर्छ तर उसलाई हामीले उसको फूलको सुगन्ध सुँघेको पनि मन पर्दैन । हामी उसको पसल वरिपरि जाने बित्तिकै हामलिाई लौरोले हान्छ । एकपटक त हामीले उसलाई टोकिदियौँ । तर त्यसपछि पनि उ सुर्धेन । आजकल झन यी भुसेहा भनेर गालि गर्न थालेको छ । 

तर यस वरिपरि केही मानिसहरु असाद्घै दयालु र मायालु छन् । एक चिया बेच्ने आमा हुनुहुन्थ्यो । जसले हामीलाई प्रत्येक दिन हामीलाई केही खानेकुरा घरबाट ल्याइदिनुहुन्थ्यो । तिमीहरु पनि मेरा छोराछोरी त हौ नि भन्नुहुन्थ्यो ।  हामीलाई पनि उहाँ हाम्री आमाजस्तै लाग्थ्यो । तर हिजो राति एक खराब चिज भएको छ ।

राती ब्राह बजे  आमा चिया बेच्दै हुनुहुन्थ्यो । हामी आमाको छेउछाउ बसिराखेका थियौ । हामीलाई आमा आएपछि सधैँ रमाइलो र आमा चिया बेच्न नआएको दिन सधैँ नरमाइलो लाग्थ्यो । तर हिजो राती ब्राह बजे आमालाई एउटा ब्रेप्रबाह आएको बाइकले पछाडीबाट हानिदियो । आमा लड्नुभयो । एकैछिन पछि आमाको शरीर चिसो भयो ।

त्यसपछि हामीलाई औडाहा भयो । जसको बाइकले आमालाई हानेको थियो उ पनि आमा भन्दा अल्लि वर लडिरहेको  थियो । ब्राह बजिसकेकाले वरीपरी खासै मानिसहरु थिएनन् ।उसको हातबाट रगत बगेको थियो । उ नसाले झुम्म थियो । चेतमा थिएन । खोइ हामीलाई के लाग्यो हामीले पहिलोपटक कोही मानिसको शरीरलाई बेप्रबाह टोक्यौ । उसको शरीरबाट चौटा चौटा मासु  निकालेर खाइदियौ । भोको पेटमा भोजन परेझै केही छिन हामीलाई महशुस भयो ।

तर एकछिनमा हामी तिनैजना काम्न थाल्यौ हामीलाई थप डर लाग्न थाल्यो । अल्लि पर आमा हुनुहुन्यो । अल्लि वर उसको शरीर लडेको थियो । कालेले भन्यो अरु कोही मानिसले हामीलाई देखे भने मार्छन् । हामी हतारहतार आमालाई पनि राम्रोस्ाँग नहेरी भाग्यौ । पुलमुनी बोराले छोपिएर बस्यौ ।

पहिलोपटक हामीले त्यसरी मानिसको मासु खाएका थियौ । त्यो रिसको झोकमा थियो । म भन्दा पनि माटे र कालेलाई बढी रिस उठेको थियो । उनीहरुले नै मलाई खाइदिउँ भनेका थिएँ । एकछिनमा मानिसहरु जम्मा भए होलान् । हामीले आमालाई कुरेर बस्न सकेनौ । हामीलाई डर लाग्यो ।

  मनिसहरुले हामीले उनीहरुलाई पनि रिसको झोकमा खान थालेको थाहा पाएँ भने उनीहरुले हामीलाई बाच्न दिने छैनन् । त्यसैले हिजोदेखी यही बोराले छोपीएर बसेका छौ । मनमनमा मानिसलाई त्यसरी खाएकोमा ग्लानी महशुस भैराखेको छ । तर आमाको मृत्यूले अझ दुखी छौ ।

हिजो राती त्यो मानिसको मासु खाएर आएपछि हामी तिनै जना आवाज ननिकाली रोयौँ । हामीलाई थाहा छ हामी रोएको मानिसहरुलाई मनपर्दैन । कतिले त हामीलाई हामी रोएकै कारण पनि पिटेका छन् । त्यसैले आजकल हामी आवाज ननिकालीकन रुन्छौ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...