कोठा एक्लो छ । ओछ्यान एक्लो छ । पर्दाहरु एक्ला छन् । टेबल, टेबल माथिका किताबहरु पनि त एक्ला नै छन् । टेबलमा एक्लो एउटा किताब छ जसका केही पानाहरु मैले रित्तयाइसकेको छु । साथमा केही थान बुकमार्कहरु छन् । यो एक्लोपनप्रति गुनासो होइन एक्लो छु खुसी छु भन्न चाहन्छु ।
चाहेको पनि त यही हो । गुनासो कसरी गर्नु । गुनासो कसलाई गर्नु । एक्लो भएर पनि एक्लोझै नलाग्ने कोलाहल बोकेर म बाच्छु । कहिलेकाही आफैँभित्रका अनेकौ मानिसहरुले पिरोल्छन् । तर म भित्र त्यस्ता मानिसहरु पनि छन् जसले मलाई प्रेम गर्छन् । जसले मलाई तँ पनि केही हो भनिदिन्छन् । अक्षरहरु पनि छन् साथमा जसले मलाई बिना अर्थका कुराहरुमा किबोड चलाउँन सिकाउँछन् ।
एक्लोभएर पनि एक्लोझै लाग्दैन । यो कोलाहल जो मसँग बाच्छ । जसले मलाई चिच्याउँन सिकाएको छ त्यसलाई म कसरी नकारु । कहिलेकाही त आफू नै एक बजारझै लाग्छ । बस् बजारझै बिक्न र बिकाउँन जानेको छैन । यो कोलाहलको बजार भित्र यदाकदा सान्नाटा पनि भित्रन्छ । तर कोलाहलबिना सान्नाटा सम्भव छैन ।
आज कसैलाई चिठी लेखेँ तर त्यो आफैँलाई थियो । म प्रापक र प्रेसक दुबै हुँ । सुन्ने पनि मै हुँ र सुनाउँने पनि मै हुँ । बस् सुनाएको जस्तो कहिलेकाही गर्छु । सुनेको जस्तो कहिलेकाही गर्छु । म भित्र सुन्ने र सुनाउँने दुबै मानिसहरु छन् । म एक्लो भएर पनि एक्लो हुँदै होइन । म भित्र मानिसहरुको एक कोलाहल सधैँ रहिरहन्छ ।
आजकल न कोलाहलसँग नै गुनासो गर्छुृ । न एक्लोपन सँग नै । मलाई कहिलेकाही लाग्छ यी बिना अर्थ आवाजहरु बिना, अर्थको के महत्व । बाच्नुको के महत्व । अनुभूतीको के महत्व । म अर्थ बिहिनतामा पनि अर्थ खोजिरहन्छु ।
आज पनि बिना मतलबका केही रेखाहरु कोरेँ र अर्थ खोजे । थाहा छ अर्थको पनि कुनै महत्व छैन । बेअर्थले पनि कहि पुर्याउँछ । यसैमा अडिएको छु भनेर दावी गर्नुको कुनै तुक छैन । सायद यहि नै कोलाहल हो । म भित्र सधै हल्ला बाच्छ । हल्लापछि एक सान्नाटा बाकी रहन्छ । सायद म एक्लो भएर पनि एक्लो छैन ।
No comments:
Post a Comment