Friday, July 18, 2025

किनकी मलाई पढ्न मनपर्छ



कति पढेकी अब सिध्दिएन? पढ्ने मात्र होकी अब राम्रो (भनेको सरकारी) जागीर पनि खाने हो ? कति किताब किताब भन्छेस् अब बिहे गर्ने कहिले जागिर खाने कहिले ? यी प्रश्नहरुले मलाई धेरैजसो दिक्क बनाउँछ र पनि पर भाग्न सक्दिन । समाजले कल्पना गरेको कति उमेरसम्म पढिभ्याउँने कतिउमेर सम्म सरकारी जागिरे बन्ने अनि कति उमेरमा बिहे गर्ने, आमा बन्ने ति सबै उमेरका लक्ष्मणरेखाहरु मेरा लागी रेखा मात्र बनेँ । तिनीहरुलाई मैले नाघिसकेकी छु । यी रेखाहरु भन्दा पर मसँग केही छ भने किताब र सिक्ने सिकाउँने प्रक्रियाप्रतिको मोह मात्र ।

कलेज र यूनिभर्सिटि दिएका सर्टिफिकेटसँग न कहिल्यै मोह थियो  न त्यतिधेरै बिध्न लगाव र पनि बुझ्ने बुझाउँने प्रक्रिया सधै प्रेमिल नै लाग्छ । अझै मसँग किन पढ्स् िकिन पढ्छेस् भन्दा किनकी मलाई पढ्न मनपर्छ बाहेक मसँग अरु उत्तर छैन । आज पनि हामीले पढ्ने कुरालाई ब्यबसायिकता , पैसा, र शक्तिसँग जोड्दा रहेछौ । जो सब यी बिना पनि पढ्छ भने अनौठो अपबादको रुपमा लिनेरैछौ । कहिलेकाही लाग्छ म त्यहि अपबादर्को एक हिस्सा हुँ ।

मेरा बुवा आफैमा एक अनौठो अपबाद लाग्छ मलाई कहिलेकाही । उहाँलाई मैले पढिदिनु मात्र पनि सबैभन्दा गर्ब गर्न लायक चिज बन्यो । सानोमा मेरा लागी मुना र मिना काटुनका सिडिहरु ल्याइदिने मेरा बाका लागी आजकल कहिलेकाही म लग्दिनेगर्छु किताबहरु । उहाँले संकलन गरेका मधुपर्कहरु र गरिमाका केही अंकहरु घरको पुस्तक र्याकमा पत्रपत्रहरु उकिएका छन् लाग्छ यी बुवाले मेरा लागी कोर्नुभएका यात्राका गोरेटाहरु हुन् । सायद बुवाले मेरी छोरी पढ्छे मात्र नभनिदिने हो भने मैले हिडेको यात्रा यति सहज थिएन ।

छोरीहरुले किन पढ्नुपर्छ अहिले पनि धेरै आमाबाले भन्लान् बिहे गरिदिन त्यो भन्दा पर केहीले सोच्लान् जागीरे बनाउँन । कतिलाई लाग्ला ब्यबसायिकता, ब्यबहारीकता भन्दा पनि पर  पढाइको केही अस्तित्व रहन्छ भन्ने कुरा ? र त्यो अस्तित्वको हिस्सा कोही छोरीमान्छे पनि हुन सक्छे भन्ने कुरा ।

मलाई लाग्छ आज पनि हाम्रो समाजले त्यो अस्तित्वको हिस्सा बन्न लाएका छोरीमान्छेको कल्पना नै गर्दो रहेनछ । 

करिब डेढ बर्ष अघि मैले खाइराखेको जागिर छोडेँ पढ्नलाई भनेर । धेरैलाई लाग्यो डिग्री सकिसकेपछि पनि पढ्नुपर्छ र ? बोरु लोकसेवा पढ , राम्रो जागिर खा । त्यो पढेपछि पनि खाने जागिर नै हो सुन्दा ठिकै होकी जस्तो लाग्ने यी यस्ता प्रतिक्रियाहरुको सिकार म भएँ । यही कुरामा वषौ पहिले मेरा एकजना साथीले भनेको सम्झन्छु । “बहिनिको बिहे किन यति छिट्टै गर्दिन लाग्यौ”  मैले सोधे । उनकी बहिनी त्यतिखेर भर्खर स्नातक भ्याएकी थिइन । उनले भने, “ डिग्री भ्याएपछि पनि दिने त्यस्तैलाई हो भनेर सुब्बासँग कुरा चल्याछ दिने भयौ । सायद हामी धेरैले छोरीले किन पढ्ने र छोरीलाई किन पढाउँने भन्ने कुरालाई उनले झै पो लिएका छौ कि ?

किन पढ्छेस् यति पढिसकेपछि पनि ? सोध्दा सजिलो लाग्ने प्रश्नको उत्तर दिन भने मलाई कहिल्यै सजिलो लागेन । किताब मेरा लागी बुझ्ने बुझाउँने मेरा आफ्नो साथी जस्तो लाग्छ । यतिका बर्ष मैले मेरा मिल्ने साथीहरु, मेरा जीवनमा मलाई बुझ्ने मान्छेहरु किताबकै सहायताले कमाए । मलाई सबैभन्दा इष्र्या र सबैभन्दा प्रेम किताब पढ्नेहरुकै लाग्छ । धेरैले किन पढ्सि भन्दा जागिर खान, पैसा कमाउँन कहिल्यै भन्न आएन । र पनि किन पढ्छेस् भन्ने प्रश्नले अहिलेसम्म छोडेको छैन ।

कहिलेकाही किन नाचिस् भन्दा मलाई नाच्न मनपर्छ भनेझै, किन गाउँछेस् भन्दा मलाई गाउँदा आनन्द आउँछ भनेझै , किन चित्र कोर्छेस् भन्दा आफ्ना भावनाहरुलाई पोख्न भनेझै किन पढ्छेस भन्दा किनकी यो म हुनु हो भन्न किन नपाउँने ।  पढाइसँग, किताबसँग, बुझ्ने बुझाउँने प्रक्रियासँग यति धेरै ज्ञात अज्ञात शक्ति र सत्ताको अपेक्षा गर्नु आवश्यक छ र ? बुझने बुझाउँने, भन्ने सुनाउँने, विमर्श छलफल यी यस्तै गतिबिधिको समग्र प्रक्रिया नै पढ्नु हो पुस्तकको इतिहास त ज्ञान लिने दिने प्रक्रियाको सानो हिस्सामात्र हो । यदि कोही त्यो समग्र हिस्साको सदस्य बन्न चाहन्छ भने किन यति धेरै भौतिक अपेक्षा ?

सिप र ज्ञानको भिन्नतालाई हामी बिरलै सम्बोधन गर्छौ । धेरैले पढाइलाई सिप भन्ने बुझ्नुहुँदो रहेछ । ज्ञान सिप किन होइन भनेर हामीले कहिल्यै छलफल गर्नुपर्छ भन्ने पनि ठानेनौ । बिश्वबिध्यालयबाट निस्कको ब्यक्तिसँग निस्कनेबित्तिकै ब्यबसाहिक बन्न सक्ने आगत नहुन पनि सक्छ र नहुनु कुनै कमजोरी पनि होइन । तर  ब्यबसायिक शिक्षामा त्यो आवश्यक छ । एउटा स्बास्थ्य चिकित्सक सँग हामी त्यो अपेक्षा गर्न सक्छौ । तर कोही लिबरल आट्सको बिध्यार्थी पिएचडी सकेर आउँदा अथवा कुुनै बिषयको बिज्ञता हुँदाहुदै पनि सिप बेगरको हुन सक्छ ।  हामी धेरैलाई लाग्दो रहेछ पढ्नु भनेको सिप सिक्नु हो तर पढाइ साच्चै भन्दा आफ्नो  सिप पहिचान गर्ने जग मात्र हो । जसले आफ्नो रुचिको बिषयलाई बुझ्न सहयोग गर्छ बिस्तारै त्यो बिज्ञतामा परिणत हुन पनि सक्छ । तर हुनुनै पर्छ भन्ने बाध्यता छैन ।

किताबलाई प्रेम गर्नु भनेको पढ्न मनपर्छ भन्नु हो  यो बुभ्ने बुझाउँने एक परजैविक अनुभबको हिस्सा बन्नु हो ।  र आफ्नो ज्ञानको सिमिततालाई बुझ्नु पनि हो । संसार असिमित छ र हामीले देखको र बुझेको संसार सिमित रहेछ भनेर बुझ्न हामीसँग पढ्नु बाहेक अरु बिकल्पहरु कम नै छन् । कसैलाई त्यो मनपर्छ कसैलाई त्यो मनपर्दैन ।  मनपराउँनु र मननपराउँनु यी ब्यक्तिगत रोजाइहरु मात्र हुन्  । कसैले पढाइको संसार समग्रतामा पनि प्रिय लाग्छ कसैलाई लाग्दैन । मलाई किन लाग्यो उत्तर सामान्य छ किनकी मलाई आफूभन्दा भिन्न आफूले देखेको संसार विचाहरुबारे  नयाँ नयाँ कुरा थाहा पाउँन त्यो बारे विचार बिमर्श गर्न रमाइलो लाग्छ ।  पढाइलाई  ब्याबसायिकता र समग्र सत्ता र शक्तिलाई जोड्न आवश्यक छ जस्तो मलाई लाग्दैन ।

पढ्न किन आबश्यक छ ? मेरो विचारमा यसले आफैलाई बुझ्न सहयोग गर्छ, यसले हामीलाई आफू वरीपरी रहेको समाजसँग बहस गर्न सिकाउँछ र अझ त्यो भन्दा पर ज्ञानको असिमितता बारे बुझाउँछ । त्यसैले मलाई यो प्रक्रिया प्रिय लाग्छ । समग्र सिकाइलाई नै जब सिपसँग तुलना गरिन्छ तब यसले किन भन्ने प्रश्न गर्दो रहेछ । किनकी सिपले जिबिकोपार्जनसँग मतलब राख्छ र जसको सम्बन्ध पुजिँ र बजारसँग रहन्छ । अहिले पढाइको कुरा गर्दा केको स्कोप कति छ भनेर कुरा गर्नु सायद यसैको परिणाम हो । 

पढ्न जे पनि सकिन्छ पुस्तक मात्र पढिन्छ भन्नु एक शाब्दिक अहमबाद जस्तो पनि लाग्ला । अक्षर नै नचिनेका मान्छेहरु पनि ज्ञानी लाग्छन् र कतिपय अक्षर जान्नेहरु पनि अनपढ किनकी ज्ञान एकमात्र स्रोत पुस्तक होइन । अहिले अक्षर केन्द्रित ज्ञानको एक्लो आधिपत्य चलेको छ  त्यसैले पुस्तक हेर्ने, बिश्वबिध्यालय पुग्ने मात्र पढाकु हुन् जस्तो पनि लाग्ला तर त्यसलाई पढाइको स्ािंगो स्वरुप भन्नु मूर्खता मात्र हो । अब कुरा आयो पढेपछि धनि हुनुपर्ने, कमाउनुपर्ने नभए नपढ्दापनि हुने के हामीले बुझेको सिकाइको परिभाषा एकल पुजिबादी बजारकेन्द्रित स्वरुपको त होइन ? पहिलेका ऋषिमुनिसँग ज्ञान थियो र ज्ञानले मात्र पुज्य थिए । उनिहरुलाई पैसा कमाउँने बाध्यता थिएन उनीहरु त्यसैमा मघ्न थिए ।

अन्त्यमा, पढ्न मनपराउँने, पुस्तकको संसारमा रमाउँने मजस्ता अथपा तपाईजस्ता हामी सबैलाई किन पढ्छेस भन्ने  प्रश्न बारम्बार सोध्न के आबश्यक छ र ?  सोधिहाले किनकी मलाई पढ्न मनपर्छ भनेमात्र पनि हुदैन र ?

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...