Monday, October 27, 2025

पाइला

 

कहिलेकाही जीवन साघुरो लाग्छ  । पाइलाहरु गह्रौ लाग्छ । मन नै त हो मन पनि गहुङ्गो हुन्छ । फूल, रुख र चराहरुलाई देख्दा ईष्या पनि लाग्छ । कोठा सानो लाग्छ । पर्दाहरु पुराना लाग्छन् । भित्तामा झुण्डाएको ऐना आजै पुछेको भए पनि फोहोरझै लाग्छ  । किताबका पानाहरुमा पनि धुलो जमेझै लाग्छ । तर तिम्रो प्रतिक्षा त छ नी ।

यो साघुुरो कोठा पनि  तिमी आइदियौ भने फराकिलो बन्नेछ । वा म गैदिएँ भने सायद तिम्रो अाँगन पनि फराकिलो बन्नेछ । तिमीलाई मैले कुरेको मैले तिमीलाई कुरेको पनि चार बर्ष भैसकेछ । मैले चाहेर पनि क्षितिजहरु नाध्न सकिन । तिमीले चाहेर आफ्नो गुडमा फर्कन सकेनौ । तिमीलाई कुर्दाकुर्दा कहिलेकाही आँखाहरु थाकेझै लाग्छन् । तर किन हो थाहा छैन मन थाकेको छैन । लाग्छ तिमी आयौ भने – यो साघुरो कोठा पनि फराकिलो बन्नेछ । मैले हेर्ने ऐना पनि सफाझै लाग्नेछ । सायद सबैसबै नयाँझै लाग्नेछ ।

कहिलेकाही जीवन छोटो र अप्रत्यारिलो छ । म कहिले बिदा हुन्छु तिमी कहिले बिदा हुन्छौ टुङ्गो छैन । तर मनले त भन्छ नि जाँदैगर्दा एकपटक तिमीलाई अगाल्न चाहन्छ चुम्न चाहन्छ । तिम्रा हातहरुलाई मज्जाले स्पर्श गर्न चाहन्छ । मन न हो यो सब चाहन्छ ।

कहिलेकाही पर क्षितिजमा उडिरहेका चराहरु देख्छु उनीहरुलाई देखेर इष्र्या पनि लाग्छ । लाग्छ म पनि उनीहरुझै उड्न सकेको भए । कहिलेकाही भूगोलहरु दुरी बनिदिन्छन् । चाहेर पनि नाघ्न नसकेको आफ्नै क्षितिजले पोल्छ । कहिलेकाही त म समयलाई पनि गालि गर्छु । किन समयले हामीलाई केही वर्ष अघि भेटाएन । वा हामीलाई भेटाएन । यति भनिरहँदा पनि प्रतिक्षा त तिम्रै छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...