Thursday, October 9, 2025

बतास


प्रिय तिमी,

जुन मोडमा आज तिमीलाई यो पत्र लेख्दैछु लागेको थिएन यसरी कहिल्यै लेख्नेछु । म बतासझै जीवनको कुनै अर्को मोडमा आइपुगेको छु । जसरी तिमीले पत्रको जवाफमा मलाई एक चिसो मौनता दियो त्यो मेरो लागि बषौ चलेको हिमपात जस्तै थियो । मलाई लागेन यो हिमपात पश्चात फेरी अर्को पटक मेरो जीवनमा बसन्त आउँनेछ । 

तिमीलाई लाग्ला तिमी भित्र कुरुपता मात्र छ । तर मैले त्यो कुरुपतालाई पनि सुन्दरताझै अपनाउँने बाचा गरेकी थिएँ । म धुलोलाई फोहेर भनेर छोड्ने मानिस होइन मलाई त धुलो पनि जीवनका बिन्दुहरुझै लाग्छ । तर खोइ अब किन आजकल लाग्छ अब म तिमी भित्रको कुरुपतालाई सुन्दरता ठान्न सक्दिन । मेरो भागमा सधैँ चिसो पहाड म हेरीरहन पनि सक्दिन । हो तिमी कुनै मोडमा भेटियौ अझ शब्दहरु मार्फत त्यो सुन्दर थियो । मलाई म कुनै कथा हौ र म कथाकार हुँ । तिमी र ममा कुनै भिन्नता छैन । तर समयसँगै तिमीले आफूलाई यसरी बाधेर राख्यौ म अब तिम्रो चिसो अपरिभाषित बन्धनमा बाधिरहन सक्दिन ।

हुन त तिमीलाई लाग्ला बिना बाचा, बिना कसम र बिना योजनाको कस्तो बन्धन । तर मौन रहनु पनि कसैलाई आफ्नो मौनतामा बाधेर राख्नु हो । शब्दहरु बाचाल हुन्छन् यीनले तिमीलाई चाहेर पनि बाध्न सक्दैनन् । तर शब्दमा भेटिएका तिमी मौनता दिएर बिदा लिनु मेरो लागि सजिलो थिएन । हो तिमीलाई प्रश्नबाट संवादबाट बाहिर निस्कनु परिस्थितिलाई सहज बनाउनु हो । तर किन किन मलाई लाग्छ प्रश्नलाई कसैको आग्रहलाई प्रश्नमै छाडिदिनु उ र उसको भावना माथि गरेको अन्याय पनि हो । मलाई लाग्यो म त सधैँ खुल्ला मानिस थिएँ । म कसरी तिम्रो मौनतामा कस्सिएर बसुँ । केही दिनपछि मैले तिम्रो मौनताबाट आफैँलाई मूक्त गरिदिएँ । त्यो एक निमेसको मौनता थिएन । त्यो एक अभ्यास थियो आज पनि म त्यही अध्यासमै छु ।

आज किन किन जीवनलाई एक बतास ठानेको छु । आज लाग्ने सहि लाग्ने बाटोहरु थाहा हुने रहनछ कुन मोडमा आएर फेरी त्यो खराब हुन्छ भनेर । आफ्नै सत्यताबाट भाग्न तिम्रो चिठी लिएर कुनै पर भुगोलमा आएकी छु । हावा, पानी र रुखहरुले मलाई साथ दिएका छन् । कहिलेकाही सधैँ साथ त प्रकृतिले मात्र दिँदो रहेछ । मसँग आज बाधिन र मूक्त हुनको लागि प्रकृति मात्र साक्षि छ ।

यो शरदको महिना जुन ठाउँमा म बसिरहेछु त्यो ठाउँबाट शरदको बास्ना आउँन थालेको छु । सयपत्रिहरु केही फर्किसकेका छन् । नदी एक तमासले बगेको छ । बिना कुनै लगाव बिना कुनै मोह जीउन सिक्न यीनिहरुको नजिक आउँनु पर्ने रहेछ । यीनिहरुको संगतले मलाई पनि अलिखलि यीनिहरु जस्तै बनाएको छ । सायद म यीनिहरु जस्तै बन्न चाहन्छु । 

तिम्रो जीवनको स्वतन्त्रता तिमीमा छ । म चाहेर पनि तिमीलाई बदल्न र बदिल्ए भन्न सक्दिन । यही हो मैले तिमीलाई अपनाउँन चाहेकी पनि हो । तिम्रो स्विकारोत्तिको आशा गरेकी पनि हुँ । तर अब त्यस्तो केही छैन बताससँग बहकिँदै म जीवनको अर्को मोडमा आइपुगेकी छु । 

उही 

तिमीलाई चिठी लेख्ने मान्छे 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...