Thursday, October 9, 2025

तिमी खुसी त छौ नि भनन

 


उसले पहिल्यै भनेको थियो म हावा हुँ । मलाई लागेको थियो ऊ हावाको चरम स्वरुप बतास हो । हुन त  निमेसभरमा जीवनमा छिर्ने र निमेसभरमै बाहिरिनेहरु हावाका झोक्काहरु नै हुन् । मलाई पनि लाग्थ्यो ऊ त्यस्तै केही हो ।  उसले गरेको अन्तिम डिजिटल गुडबाइ मलाई लागेको थियो हाम्रो डिजिटल यर्थाथको अन्तिम सत्य हो । 

तर त्यस्तो भएन । ऊ फेरी ट्विटरमा फक्र्याे र भन्यो , “तिमीले लेखेको कथा पढेपछि किनकिन मलाई फर्कूफर्कू लाग्यो । मेरो फर्काइमा तिमी खुसी त छ्याौ नि ? भनन् ?” त्यो मेरो कथाको अन्त्य थियो सायद मैले कल्पना गरेको उसको र मेरो सम्बन्धको पनि । तर उसले भनेझै जीवनको अप्रत्यासितता त्यहा पनि लागु भयो उ फेरी ट्विटरमा फक्र्याे ।

मैले भने, “ म खुसी छु  तिमीले सोचेभन्दा धेरै नै” त्यो दिन उसले हासेको दुइटा इमोजी मात्र पठायो । भोलीपल्ट बिहान ट्विटर खोल्दा हरियो बटन देखेँ । खोलेको उसको डियम रहेछ , डियम उसले लेखेको थियो “ तिमी बारे म के महशुस गर्छु मलाई थाहा छैन तर तिमीले कथामा जसरी हाम्रो सम्बन्ध ब्यक्त गर्यौ त्यो सुन्दर थियो । तिम्रो कथा पढेपछि मलाई लाग्यो म यर्थाथमा भन्दा कथामा रोचक लाग्दोरहेछु ।” उसको प्रतिउत्तरमा मैले भने, “तिमी बास्तबमै रोचक छौ, तिमीमा चाखलाग्दोपना नभएको भए तिम्रो बारे म कहिल्यै लेख्ने थिइन । झन् प्रकाशित त गर्नेनै थिइन । तिमी मेरो डायरीमा मात्र सिमित रहने थियौ ।” उसले “ ओ त्यसो पो ............चाखलाग्दो मान्छे म भनेर” प्रतिउत्तर दियो । यसरी रोकिएको हाम्रो सम्वाद फेरी दोहोरिन थाल्यो ।

“यो डिजिटल सम्वादको यूग हो । तिमी र म चाहेर पनि योबाट  टाढा हुन सक्दैनौ । तर जसरी मैले तिमीलाई कथामा प्रेमील र रोचक पात्र बनाएकी छु  यो मेरो आफ्नै स्वार्थ हो । तिमी आफूलाई कथाको पात्र जस्तै छु भन्ने नसोच । तिमी त्यो पात्र त हौ तर मेरो कल्पनाका,े यर्थाथमा तिमी त्यो भन्दा फरक पनि हुनसक्छौ । मैले बुझ्नै बाकी छ तिम्लाई” एक दिन हाम्रो सम्वादको क्रममा मैले च्वास्स भनिदिएँ । उसले त्यस बखत केही भनेन ठिकै हो मात्र भन्यो । मलाई थाहा छैन उसले त्यो दिन के सोच्यो । भोलीपल्ट सम्वादकै क्रममा उसले  एउटा महत्वपूर्ण कुरा भन्छु ल भन्यो । मैले हस् भने । उ त्यो दिन लगातार बोल्यो , “ जब मैले तिम्रो कथा पढेँ मलाई लागेको थियो तिम्ले मलाई साच्चै मनपराउँन थालेकी छौ । र मलाई लाग्यो लोभिएका मलाई हेर्न चाहने आँखाबाट म यति चाँडै ओजेल पर्नु हुँदैन । बास्तकमा म फेरी ट्विटर तिम्रै लागी फर्किएको थिएँ । सायद तिम्रो त्यो कथा नपढेको भए म फकर्ने पनि थिइन होला । तिम्रा अक्षरहले मलाई लोभ्यायो । वा तिम्रो म प्रतिको हेराइले । तर हिजो तिमीले जे भन्यौ त्यो सुनेपछि थाहा भयो कथा लेख्नु भनेको स्वार्थी हुनु रहेछ । तिमीले जे भन्यौ त्यसमा मैले तिम्रो लेखकीय स्वार्थ मात्र बुझेँ । कथालाई रोचक बनाउँन जसरी तिम्ले हाम्रो सम्बन्धको कृतिम प्रेमिलतालाई रोज्यौ यसले मलाई दुखि बनाएको छ ।”  उसले त्यो दिन गरेको सम्वादले मलाई दुखि मात्र होइन ऊ भन्दा झन् दुखि बनायो । मैले उसलाई म तिम्लाई मन पराउँदिन कहिल्यै भनेकी थिइन तर उसले यसरी बुझ्यो मानौ त्यो कथा झुटको पुलिन्दा थियो । मैले त्यो कथा झुटमाथि झुट थप्नको लागी लेखेकी थिइन ।  त्यो समयको अनुभूति थियो तर अनुभूति जस्तै यर्थाथ पनि पे्रमिल थियो आज पनि  म भन्न सक्दिन ।

यदाकदा लेखेर गर्ने सम्वादहरु अपूर्ण बन्न पुग्छन् । सायद शब्दहरुले बिरलै अनुभूतिलाई ब्यक्त गर्न सक्छन् । मैले चाहेर पनि त्यसपछि  उसलाई मन पराउँछु भन्न सकिन । उसलाई लाग्यो मेरो जीवनमा उ पात्र बन्यो र पात्रमै अन्त्य भयो । मलाई लाग्यो म कथाकार भए र एक सुन्दर सम्बन्धको अन्त्य कथामै गरेँ ।

मैले कथामा गरेको सम्बन्धको अन्त्य सुन्दर बन्यो तर उहि चिज जीवनमा एक अपूर्ण र कुरुप यर्थाथ बन्न गयो । त्यसपछि उ पहिलेझै मसँग कहिल्यै बोलेन । उसका र्यान्डम प्रश्नहरु जसले मलाई उ प्रति कायल बनाएको थियो त्यो मैले चाहेर पनि फेरी महशुस गर्न पाइन । त्यस दिनपछि उसले मलाई पहिलेझै के छ हजुर कहिल्यै भनेन र म उसको प्रिय मान्छेबाट लेखक महोदयमा रुपान्तरित भएँ ।

मलाई जहिले लाग्थ्यो जीवन कथाहरुको सुन्दर संयोजन हो । बिना कथा हामी सबै अपुरा छौ । तर मैले जीवनलाई हेरेको दृष्टिकोण केवल एक स्वप्न चित्र बन्न गयो । यर्थाथमा जीवन कथाभन्दा गयौ गुना कुरुप र कठिन रहेछ । जसरी उसको चित्रण पात्र हुँदा सुन्दर लाग्छ यर्थाथमा त्यो भन्दा कयौ गुना अमिल्दो लाग्दो रहेछ । आजकल म उसको र्यान्डमनेसमा आफूलाई समेट्न खोज्छु तर लेखक चाहेर पनि र्यान्डम बन्न सक्दोरहेनछ अरुझै म पनि कथाको मिथिकल संरचनामा बाधिएकी रहेछु जीवनकोझै ।

यर्थाथमा कथा कहिल्यै जीवन बन्न सक्दो रहेनछ । र जीवन कहिल्यै पूर्ण कथा बन्न सक्दो रहेनछ । हामी अकथाभित्र कथा मात्र खोज्दा रहेछौ । र कथालाई सुहाउँने बनाउँन बास्तबिकतालाई बदल्दा रहेछौ वा भनौ एकल यर्थाथलाई पूर्ण सत्य बनाउँन प्रयास गर्दा रहेछौ । मैले त्यही गरेँ मैले कल्पना गर्ने प्रेमिलतालाई उसको र मेरो सम्बन्धको प्रेमिलतामा बदल्न खोजेँ र नराम्ररी पछारिएँ । आज म कथाकार भएँ तर किनकिन सम्बन्धको बागडोरमा बाहिरनै रहन पुगेँ । सायद यो कथाकारहरुको समस्या हो । हामी जीवनलाई दोहोरीरहने बिम्बझै कथा भनिदिन्छौ तर जीवन कथा हुँदै होइन । जसले बनाउँन खोज्छ उ जीवनका पात्रहरु माथी खेलवाड मात्र गर्छ ।

यर्थाथमा मैले कथा मेरो आफ्नो लागि लेखेकी थिएँ उसले बुझ्यो त्यो उसको लागि थियो । कथा लेख्नु आफैँमा एक इतिहासलाई आफ्नै नजरले केरमेट गर्नु हो । र केरमेट माथि प्रश्न गर्नु जायज पनि थियो उसले त्यहि गर्यो । उ कथाकार थिएन उ जीवनको नायक थियो त्यसैले यर्थाथताको खोजी गर्यो । म कथाकार भए र यर्थाथलाई मोड्न खाजेँ । के यो सामान्य हो वा मानिसको रुपमा मेरो कमजोरी हो म अझै बुझ्दै छु । तर एउटा त्यस्तो ब्यक्ति जसलाई चाहेर पनि गुमाए त्यसले मानिसको रुपमा मलाई सधै पिडा दिनेछ ।

बिस्तारै बिनाकारण उसको र मेरो सम्वाद पातलिँदै थियो । म चाहन्थे मेरो कथाले लेखेको इतिहास पुनरावृत्ति नहोस् । तर त्यहि दोहोरीएको छ जुन म नदोहोरीयोस् भन्ने चाहन्थे । करिब एक महिना भयो उससँग म बोलेकी छैन । उसले बोलाएको पनि छैन । उसको र मेरो सम्बन्ध वा भनौ डिजिटल सम्बन्ध अब पात्र र लेखकको रुपमा टुङ्गिएको छ । र जीवन आफैमा एक कथा बनेको छ एक अपूर्ण कथा । उ पात्र भएर खुसी छैन । म जीवनलाई केरमेट गरेर कथा बनाएकोमा पनि खुसी छैन । 

उ कता गयो के गर्दै छ न पहिले थाहा थियो न अहिले थाहा छ । उसको र मेरो विच जहिले पनि अर्ध सत्यहरु साक्षि थिएँ आज पनि त्यहि छ । उसलाई तिमी कथामाझै त्यति प्रेमिल चाखलाग्दो नभएर पनि प्रेमिल छौ किनकी मैले कथाको तिमी भन्दा पनि बास्तबिक तिमीलाई मनपराउँछु भन्न कहिल्यै सकिँन । कथाकारको रुपमा मलाई यी बाक्यहरु अपूर्ण लागे । तर मानिसको रुपमा मैले उसलाई हेर्ने नजर यहि हो । तर उ आफ्नो यात्राको लागि म बाट बिनाकारण टाढा भएको भए पनि म खुसि हुन्थे तर उ मेरो कथाको कारण म बाट टाढा भएको छ जसले मलाई सधै पोल्नेछ । कृपया यो कथा कहि कतैबाट पढ्दैछौ भने “तिमी खुसी त छौ नि भन्दै फेरी आइदिनु” म तिमीले सोचेभन्दा बढी खुसी हुनेछु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...