Friday, October 10, 2025

भेट


कहिलेकाही लाग्दैन आफैँलाई नभेटेको कयौ बर्ष भयो ? लाग्छ नी । अनिदा दिन र अनिदा रातहरुको साक्षी कि त बादल बन्छ । कि त जून । मानिसहरु कहाँ मानिसका साक्षि बन्छन् र ! भेटेर पनि नभेटेझै लाग्ने अनकौ भेटहरुलाई साक्षि बनेर परिचितझै लाग्नेहरु पनि अपरिचित झै बनिदिन्छन् । कतिलाई नभेटेर पनि भेटेझै लाग्छ कति भेटेर पनि नभेटेभैmे लाग्छ । कतिलाई सधैँ भेटेर पनि कहिल्यै नभेटेझै लाग्छ ।

यदाकदा आफू पनि अपरिचितझै लाग्छ । आफैँलाई भेट्न पनि कहाँ सजिलो छ र ! अनेकौ मुखडाहरु बोकेर हामी आफूलाई दावी गछौ । दावी गर्न सजिलो छ तर आफू भएर बाच्न कहाँ सजिलो छ र ! अनेकौ चेहेराहरु साक्षि हामी आफ्नै बन्छौ । जुन चेहेराहरुका नजिक हामी कहिल्यै पुग्न सक्दैनौ । यी शब्दहरु पनि मेरा चेहेराहरु हुन् । केबल चेहेराहरु । आफू हुनु कहाँ चेहेरा मात्र हुनु हो र !

भेट्न सजिलो छैन । भेटेर पनि भेटिराख्न कहाँ सजिलो छ र ! भेटेर पनि छुटेको आफूँ । नभेटेर पनि भेटेझै लागेको आफू । परिचित माझ अपरिचित झै बनको आफूँ । यी नै अपरिचित चेहेराहरु बिच आफैँलाई खोज्न खोजेको पनि कयौ बर्ष भयो । कहाँ चाहदैमा भेटिदो रहेछ र आफू पनि आफैँ जस्तो ।

कहिलेकाही घर घरजस्तो लाग्दैन । परिधिहरुले निस्सासिने बनायजस्तो लाग्छ । छुट्न लागेको प्रेमीझै कहाँ छुट्छ र जीवन त्यसै । कहिलेकाही त आफैँले आफैँलाई पनि नयाँ जुत्ताले गोडालाई घाउँ बनाएजस्तो घाउँ बनाउँछ । त्यो त गोडाको घाउँ मनको घाउँ कहाँ देखिन्छ र !

कहिलेकाही इरेजरले आफैँलाई मेटिदिउँ जस्तो पनि लाग्छ । कहिलेकाही अर्को नयाँ आकृति बनाउँ जस्तो पनि लाग्छ । कहाँ मेट्छु भन्दैमा मेट्न सक्छौ र आफूलाई । कहाँ चाहँदैमा बन्छ र अर्को नयाँ आकृति । हरेक भेटमा आफूँ आफूँ जस्तो लाग्दैन । 

यो भुगोलबाट भागेर पनि भागिँदैन भन्ने थाहा हुँदाहुँदै पनि मन हो भाग्न खोज्छ । थाहा छैन भागेपछि स्मृति बनेर फेरी भुगोल फर्कन सक्छ ।  तर म कयौ दिन निस्सासिन्छु । बिद्रुप आफैँलाई भेट्न कुनै बिद्रुप सहरमा रुमलिन्छु । कहाँ कथा र शब्दहरुभmै छ र जीवन । शब्दमा त अध्यारो पनि उज्यालो झै लाग्छ । अप्रेम पनि प्रेम झै लाग्छ । निराशा पनि आशा झै लाग्छ । तर जीउँदा सबै अध्यारा नै हुन्छन् ।

म हरेक दिन बिद्रुप आफैँलाई भेट्छु । असफल र कुरुपझै लाग्ने आफूलाई भेट्न कहाँ सजिलो छ र । लघुताभाषभित्र आफैँलाई खोजेर कहाँ उड्न सकिन्छ । दुई क्षितिज बिचको दुरी अध्यारो नै हुन्छ । हुनसक्छ म किनाराबाट जीवन मात्र हेर्छु र हरेक दिन जीवनका डोबहरुलाई मात्र गन्ने गर्छु । कहाँ जीवन जीवन जस्तो छ र ! कहाँ बाच्नु बाच्नु जस्तो छ र । हरेक दिन र रात एकै हो भनिदिँदा पनि हुन्छ ।

जीवनका बृत्तहरु मानक बनेर तर्साउँछन् हरेक दिन । मानक भित्र नअटाउनुको पिडा यदाकदा आफ्नै शब्दहरुले पुरेझै लागेपनि म भित्र सधैँ रहनेछ । तर थाहा छ मानक मानक मात्र हो । त्यसभित्र नअट्नु मेरो दोश होइन । तर त्यो भनिदिने पनि त को नै छ । आफैँले आफैँलाई प्रमाणित गरेँझै गर्नुजस्तो झुर काम केही होइन । म त्यो खिएको आफूलाई लुकाउँन अरु कोही बनेझै गरिदिन्छु ।

हो यसरी नै दिन, महिना र रातहरु बित्दैछन् । मैले आफैँलाई नभेटेको कयौ बर्ष भैसक्यो ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...