Wednesday, October 15, 2025

आइ वाज बर्न दिस् मर्निङ

 

मनमनै भन्छु “ के ले बाधेको छ तँलाई, अह! अब अगाडी बढ । समयले तँलाई पर्खदैन” यतिकैमा कोही आइपुग्छ, म केही नभएझै गरिदिन्छु । को हो उँ म चिन्दिन । उ सोध्छ, “सन्चै हुनुहुन्छ ?” "ठिक छु " म केही नभएझै गदिदिन्छु । उसले थप केही सोध्दैन । मलाई लाग्छ उ कोही हो । को हो म चिन्न चाहन्न । सायद उसले मलाई चिन्छ । मनले भन्छ, “ चिनेर के भो त, चिनेकाझै गर्नेले चिनेका छन् त,  छैनन् , उसले चिने पनि नचिने पनि मलाई  के”

म सडकमा एकतमासले हिड्छु । ब्राह बजेको छ । ब्राह त जीवनमा पनि बजेको छ । तर म केही नभएझै हिडिदिन्छु । मेरा पाइलाहरु छोटा भएका छन् । म आफूलाई भएको भन्दा पनि पुड्को देख्छु । हुन त म पाँच फिटकी पनि छैन । मनले भन्छ हो म यस्तै हो । हो कतिले डल्लि भने । कतिले काली भने । कतिले कुरुप भने । मनमनै भन्छु तर मलाई फरक पर्दैन । तिनीहरुले भनेको म केही होइन । म जे हु मेरो हुँ । म मैले सोचेजस्तै हुँ । उनीहरुले जे सुकै भनुन् । बस् म आफूलाई आफ्नो नजरले मात्र हेर्न चाहन्छु ।

यसो भन्दै म लामा लामा पाइला चाल्छु । कसैले फेरी बोलाउँछ  म नसुनेझै गरिदिन्छु । कोही अरुले अर्कोपटक नमस्कार गर्छ , “अह म फेरी अर्कोपटक पनि नसुनेझै गदिदिन्छु । मनले भन्छ अगाडी बढ । तँ जे होस् तेरै होस् । बस् अगाडी बढ ।”

मलाई थाहा छैन आज म कहाँ जाँदैछु  । हुन त म सँग कहाँ जान्छु भन्ने प्लान कहिले पो हुन्थ्यो र । एक मानेमा बरालिएकी केटी हुँ । मलाई असल छोरीमान्छे हुनुछैन । म असल पटक्कै हुन चाहन्न । सडकमा एक खिलि चुरोट किन्छु । चुरोट बेच्नेले पनि मलाई अनौठा आँखाले हेर्छ । तर केही बोल्दैन । मलाई उसले हेरेको तरिका मन पर्दैन । तर म केही भन्दिन । म बेपरर्वाह चुरोट सल्काउँछु । सडकमा कुनै पुरुषलेझै मज्जाले धुवा उडाउँछु । यो मेरो जीवनको पहिलो चुरोट हो । तर मैले यसरी तानिरहेछु मानौ म कुनै चुरोटको अम्मली हुँ । अह मलाई आज लाज लागेको छैन । मलाई आज आफैँलाई बेचिदिनु छ बजारमा । बेप्रवाह । मेरो इज्जयतले ममलाई के दियो र । दियो भने केही बन्धनहरु दियो । मलाई सडकमा चुरोट तानेकोमा कुनै पछुतो छैन । बस् हल्का रिगाएको फिल भएको छ । 

बिच बजारमा म बेप्रवाह बस्दैछु । मलाई पहिलोपटक म पनि सडकको हुँ भन्ने महसुस हुँदैछ । कोही लोग्ने मान्छेले बोलायो भने म गैदिन पनि सक्नेछु । हुन त मलाई अहिलेसम्म कोही लोग्ने मानिसले यसरी सोधेको छैन । तर सोधेन भन्ने कुरामा मलाई कुनै गर्वबोध छैन । म मनमनै लज्जित छु म छोरी मान्छे भएर पनि अहिलेसम्म छोरी मान्छे भएको महशुस गरेकी छैन । अह मसँग अब लज्जा छैन । मलाई जाउँ भन्नेसँग म गैदिन पनि सक्नेछु ।

नजिकै औषधी पसल देख्छु । मसँग आज लाज छैन । म औसधि पसलेसँग एक प्याकेट कन्डम माग्छु । औषधी पसलेले फेरी अर्कोपटक मलाई अनौठो आँखाले हेर्छ । मलाई उसको  हेराइ मनपर्दैन तर म केही भन्दिन । तर उसले मुखले केही भन्न सक्दैन । उसले मलाई चिनेको पनि हुनसक्छ । यो बजारमा मलाई नचिन्नेहरु बिरलै होलान् । वा उसले मलाई देखिरहेको पनि हुनसक्छ । उसले मलाई सोध्छ कुन फ्लेबरको दिउँ, “म रिसाएझै गरी थाहा छैन भनिदिन्छु ।” खोइ उसलाई के लाग्छ उसले मलाई चकलेट फ्लेवरमा दिन्छ । म एक पाकेट कन्डम आफ्नो झोलामा राख्छु । यो मैले किनेको पहिलो प्याकेट कन्डम हो । तर म लजाउँदिन । मलाई आज कोही छोरामान्छेले जाउँ भन्यो भने गैदिन पनि सक्नेछु ।

फेरी पाइला चाल्छु लामालामा । थाहा छैन म कहाँ पुग्नेछु ।  पहिलोपटक मलाई म मानिस भएझै अनुभूत हुँदैछ । मैले चालिस बर्ष मानिस भएर बाचिन । म किताब भएर बाचेँ । किताब पढाउँने मानिस भएर बाचेँ । कसैकी हुननसकेक िदुखी छोरीमान्छे भएर बाचेँ । तर मानिस हुनु कसैको हुनु हो र ! होइन भने किन मलाई देख्नेबित्तिकै मानिसहरुले बिचरा भने । अह मलाई बिचरा हुनु छैन । आज मलाई कसैले बोलायो भने एक रातको लागि भएपनि गैदिन सक्छु । मलाई पनि मानिस हुनु के हो भनेर अनुभूत गर्नु छ । म प्रेम के हो बुझ्दिन । मलाई बुझ्नु पनि छैन । तर कोही छोरामान्छेले आजको लागि जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु । मलाई कुनै चराझै अन्नत उड्नुछु । तर म पहिलो र अन्तिमपटक मानिस हुन चाहन्छु ।

 पाइला चाल्दा चाल्दै म कुनै चौतारामा आइपुगेकी छु । चौतारामा मानिसहरु  छैनन् । पहिलोपटक कुनै चौतारामा म पहिलोपटक एक्लै छु । थाकेकी पनि छु । म आफ्नो झोलालाई सिरानी बनाएर एकछिन आँखा चिम्लन्छु । पहिलोपटक कुनै खुल्ला आकाशमुनी सुतेझै अनुभूत भएको छ । म गीत पनि गाइदिन्छु । म आज एक्लै नाचिदिन पनि सक्नेछु । मलाई किन किन आज पहिलोपटक जन्मिएझै अनूभूत हुँदैछ । तर म अरु कुरा पनि चाहन्छु । कस्ौले मलाई जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु ।

पर आकाशमा एकहुल चराहरु उडानमा छन् । किन किन म पनि उनिहरुझै उड्न चाहन्छु । मलाई मानिस हुनुमा कुनै मोह छैन । मलाई मानिसहरु चुतिया लाग्छ । मनमनै भन्छु मानिसहरु कुरुप छन् । मानिसको मन झन् कुरुप छ । मानिसभन्दा कयौ गुना मानिस जस्ता त यी चराहरु छन् । खोई मैले मानिस भएर के गरेँ । बाचेझै मात्र गरेँ । पहिलोपटक बल्ल आज बाचेको छु । कसैले मलाई आज उमेर सोध्यो भने म एक दिन भनिदिन्छु । म भन्न सक्छु “ आइ वाज र्वन दिस् मर्निङ” ।  हो मानिसको रुपमा आज मेरो पहिलो दिन हो । कसेले होइन भन्यो भने उसलाई जे भनिदिन पनि सक्नेछु ।

मनमनै आफैँलाई भन्छु “ तँ आजबाट जन्मिएकी छस् । जस्तो बाच्न चाहन्छेस् त्यस्तै बाँच । अगाडि बढ ।” हो म आज जन्मिएकी हुँ । कोही छोरामान्छेले जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु ।


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...