Saturday, October 18, 2025

निराशा

 

निराश छु भन्न पो सजिलोझै लाग्ला भोग्न कहाँ सजिलो छ र । निराशा मेरो पुरानो इतिहास हो जो दोहोरीरहन्छ । पहिलोपटक साच्चै निराश भएको अनुभूती बिए पहिलो बर्ष पढ्दा भएको थयो । त्यो बर्ष मामा बित्नुभएको थियो । ममिलाई आफूभन्दा सानो मानिस गुमाउनु सजिलो थिएन । पारिवारिक माहोल त्यस्तै थियो । तर त्यो निराशा थिएन त्यो दुख थियो । पहिलोपटक निराशा र दुख फरक रहेछ भन्ने मलाई त्यो बर्ष थाहा भएको थियो ।

सत्र बाट अठार पनि भएको थिइन । ममि बुबाले कसैको घरको माथिल्लो कोठा जसमा म बाहेक कोही बस्दैनथेँ त्यहा डेरा खोजिदिनु भएको थियो । इन्टरनेट आइसकेको थिएन । घरमा दिनको बिरलै एक दुई मिनेट गफ हुन्थ्यो । त्यो बर्ष म चाहेर पनि अघिल्लोबर्ष जस्तो हुन सकिन । जतिखेरै मुटु धड्कने, हातमा पसिना आउँने निद्रा नलाग्ने, जतिखेरै गर्मि भएझै हुने । तर किन कारण थाहा हुन सकेन । सबैलाई लाग्थ्यो त्यो होमसिक मात्र थियो तर त्यो होमसिक मात्र थिएन । टिनएज पनि क्रस नगरेकि किशोरीको लागि त्यो जीवनमा पहिलोपटक पहिरो गएझै थियो । किन त्यस्तो भयो कारण थिएन । म निराश थिएँ भने पनि कसैलाई त्यो निराशा हो भन्ने लागेन । सबैकुरा भन्न सक्ने साथी पनि थिएनन् । दिदीबहिनी थिएनन् । करिब दुई बर्ष म मज्जाले निदाउँन सकिन । बिस्तारै त्यो कम हुँदे गयो म पहिलेझै भएँ । तर त्यो पटकपटक नदोहोरीएको भने होइन । ट्रिगर गर्ने चिज धेरै थिएँ । आज पनि बेलाबेला हुने गर्छु । त्यो अध्यारो समय सम्झिदा आज पनि तर्सिन्छु । मलाई त्यो निराश निदाउँन नसक्ने एक्ली किशोरी सम्झदा आज पनि माया लाग्छ ।

गत बर्ष म जीवनको लगभग त्यस्तै  मोडमा थिएँ जसमा उज्यालो भन्दा बढी अध्यारो थियो । एक दिन त्यसै एजुकेसन बुक हाउसमा बरालिँदा बेक सीलाई देखेँ । थेरापिष्ट सँगको कुराकानी रहेछ भन्ने कुरा कभरले नै भन्यौ । मैले डराइ डराइ किताब समाए । आफैँ निराश भएको बेला झन निराश पो बनाउँलाकी भन्ने डर थियो । घर ल्याएर फुकाउँदा डिप्रेसनबारे लेखिएको भएपनि किताब मैले सोचेझै डिप्रेसिङ थिएन । 

प्रिय बेक सी, तिमीलाई पढ्नु एक निराशले अर्को निराशलाई पढ्नु थियो । आफूजस्तै अर्कोलाई भेट्नु पनि थियो । तिम्रो निजि कथा भएपनि त्यो तिमीजस्तै धेरैको कथा थियो । निराशा र खुसी बिच कहि कतै उभिएर हामीले आफैँलाई हेरीरयौ । तिमीले जस्तै कयौ दिनहरु नसुतिकन बिताएकी छु । तर त्यो डप्रेसन थियो वा थिएन मलाई थाहा छैन । तर निराश हुनु सामान्य रहेछ भन्नेकुरा तिमीले मात्र सिकाउँन सक्यौ । 

तिमीले सजिले भनिदियौ – जब तिमी कठिन समयमा हुन्छौ, तिमीलाई यो संसारकै सबैभन्दा कठिन समय तिम्रो चल्दैछ भन्ने पनि लाग्ला । र त्यस्तो सोच आउनु कुनै अपराध होइन । तर खोइ के भयो तिमीले अकालमै बिदा लियौ ।

चिन्ता नलिनु सबै ठिक हुन्छ भन्दे तिमी बिदा लियौ । सायद अब कसैले किताबमा पानाहरुमा यसरी भन्नेछैन । जीउन सजिलो छैन । र जीउँदिन भन्न पनि त सजिलो छैन । सायद तिमीले आफ्ने लागि रोज्यौ ।

तिमीलाई पढेको करिब एक बर्ष भएछ । मस्र्याङ्दीमा धेरै पानी बग्यो । म पनि त्यही पानीसँगै बगेहोला । तर यो एक बर्षमै तिमीलाई गुडबाई भन्ने रहर पटक्कै थिएन । दशै अघि, मैले तिम्रो किताबलाई एकपटक पुछेर बिदा भएकी थिएँ लागेको थिएन तिमी म फर्कदा सम्म किताबमा मात्र बाकी रहन्छ्यौ भने ।

प्रिय बेक सी , जाँदै गर्दा यती भन्न चाहन्छ तिम्रा न्याना शब्दहरुले मलाई धेरै चिज दिएको छ । सधै कृतज्ञ भेरहनेछु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...