Friday, October 10, 2025

ओसन वोङ को आंशिक सुन्दर संसार



आख्यानको संसार फराकिलो छ । तपाई कल्पनामा डुब्न सक्नुहुन्छ । वा वास्तबिकतालाई कल्पनाझै प्रस्तुत गर्न पनि सक्नुहुन्छ । तर आख्यानकारको रुपमा भियतनामी अमेरीकन लेखक ओसन वोङ को प्रस्तुती उनको पहिलो उपन्यास, “अन अर्थ वि आर बिर्पिmली गर्जिएस” मा लोभ्याउदो छ । उनी उपन्यासमा कल्पना र बास्तबिकता दुबैसँग मज्जाले खेल्छन् । कथामा पात्रको रुपमा आफूनै प्रस्तुत भएका छन् । लेखकको रुपमा यसले उनलाई अझ बलियो र विश्वस्नीय बनाएको छ । तर उनले प्रस्तुत गरेको संसार उनको शिल्पझै सुन्दर छैन जसले यूद्वको क्यानभाषमा कोरीएको एक आंशिक सुन्दर कथा भन्छ ।

वोङ  लेख्छन्, “जब उनीहरुबारे सोच्छु, यस्तो लाग्छ मैले प्रेम गरेका प्रत्येक ब्यक्ति उज्याला पानाका साना बिन्दु मात्र हुन् ।” उनले लेखेझै उनले भनेको कथा बृहतताको कथा होइन यो त यूद्वको हिंसात्मक आयतनमा कहि कतै छिपेको अघुताभाषको अर्को कथा हो । भियतनाम यूद्वमा देह ब्यापारी बनेकी हजुरआमा र आफ्ना बास्तबिक पिता को हुन् भनेर कहिल्लै चिन्न नपाएकी आमाको कोखबाट जन्मेका लिटल डग कथाको प्रमुख पात्र हुन् । अमेरिकामा शरणार्थीको रुपमा बसेको उक्त परिवारको यो कथा, लिटल डगले आफ्नी अपठित आमालाई लेखेको एक विम्बात्मक चिठि हो । 

एक अपठित आमालाई, जसले अंग्रेजी पढ्न सक्दिनन् उनलाई अंग्रजीमे पत्र लेख्नु बिरोधाभाष पूर्ण लाग्न सक्छ । तर वोङ  लेख्छन् , “ म यो लेख्दैछु किनकि  मलाई वाक्य सुरु गर्दा किनकि बाट सुरु नगर्न भनियो । तर म त लेख्न खोज्दैथिइन – म त वाक्यवाट पर मूक्त संसारको खोजिमा थिएँ । किनकि मलाई भनिएको थियो  स्वतन्त्रता भनेको शिकार शिकारी बिचको दुरी मात्र हो ।” उनले भनेझै उनले प्रस्तुत गरेको आख्यानको संसार एक शरणार्थीको आफ्नै स्वतन्त्रताको खोजी हो । वाक्य र भाषाभन्दा पर कतै लुकेको मानव सम्वेदना र चित्कारको एक लघु आवाज हो ।

वोङ  र वोङ का प्रमुख पात्र लिटल डग विच सरसरती हेर्दा तात्विक भिन्नता केही भेटीदैँन । तर वोङले आफ्नो पुस्तकलाई संस्मरण नभनी उपन्यास किन माने भन्ने प्रश्नले तपाई हामी सबैलाई पिरोल्छ । कथामा यूद्वका चोटहरु छन्, यूद्वप्रश्चात पनि नमेटिएका दाग र खतहरु छन् । सायद वाङ चाहन्छन् उनको कथा उनको जीवनकथा मात्र बनेर लघुताभाषमा अन्त्य नहोस् । उनले भनेझै यो यूद्घवाट जन्मिएको आंशिक कथा नबनोस् । वा हुनसक्छ उनी आफ्नो कथालाई उनको निजत्वभन्दा परको फराकिलो क्यानभाषबाट हेरियोस् भन्ने चाहन्छन् । 

ओसनको प्रमुख पात्र लिटल डगको जीवनमा हिंसाका डोबहरु मेटिएका छैनन् । हिंसा र यूद्घको प्रत्यक्ष अनुभव उसले नगरेपनि उसको जीवन यूद्घकै वरीपरी घुमेको छ । चार वर्ष देखीनै आमाका थप्पडहरु उसका गालामा बर्षन्छन् जुन उसलाई अप्रिय लाग्छ । उ भन्छ, “हुनसक्छ थप्पड लगाउँनु भनेको अर्को यूद्वको लागि तयार गर्नु हो ।” उसलाई सधै लाग्छ उसकी आमाले हरेक दिन उसलाई अर्को युद्घका लागि तयार गर्दैछिन् ।

लिटल डग नाम सुन्दा जति निद्रोष र सरल लाग्छ उपन्यासमा उ त्यो भन्दा कयौ गुना जटिल भेटिन्छ ।  उसलाई उसकी हजुरआमासँग गुनासो छ जसले उसलाई त्यो नाम दिइन । आफ्नो र आफ्नी छोरीको नाम फूलको नामबाट राखेकी उसकी हजुरआमा, ल्यानले किन आफ्नो नातीलाई त्यस्तो नाम दिइन भनेर उ दुखेसो  गर्छ । उसकी हजुरआमाका अनुसार, भियतनाम जो जन्मिदा लुरो र कमजोर भएर जन्मिन्छ उसलाई त्यस्तो नाम दिइन्छ । उसको जीवनमा संघर्ष र आफ्नो पहिचानको खोजी उसले आफ्नो नामबाट नै गर्नुपर्ने हुन्छ । उ सधै कमजोर पात्रको रुपमा चिनिन चाहदैन । 

लिटल डग भन्छ, “ मैले मेरो कामको सुरुवात घरको आधिकारीक दोभासेको रुपमा गरेको हुँ । त्यसपछि कयौ खाली ठाउँ, मौनताहरुमा मैले मेरा शब्दहरु भर्न खोजेँ । मैले भाष्य रुपान्तरणको काम गरेँ । मैले हाम्रो भाषालाई कतै लुकाएर आफ्नो अंग्रेजी कवज लगाएँ जसको कारण अरुले मलाई देख्न सकुँन ।” छोटकरीमा भन्दा यो उपन्यास अमेरीकी समाजमा एक  गैर अंग्रेजी भाषीले खोजेको भाषाको पहिचान हो । भाषिक पहिचान बेगर बाचेको समाजको दोस्रो पुस्ताले आफ्नो मौनता र शब्दबिहिनताको अवस्थालाई लिएर गरेको अभिलेखीकरण पनि हो । तर उपन्यासमा वाङको प्रस्तुती भाषिक हिसाबले अति सुन्दर छ । सायद उनी भन्न चाहन्छन् अबको भाषाको वागडोर गैर अंग्रेजी भाषीको अंग्रेजीले पनि गर्न सक्छ । 

ओसनको प्रस्तुती उसको प्रमुख पात्र लिटल डग बाहेक उसकी आमा र हजुरआमाको चित्रणले पनि अझ मिहिन र अझ सुन्दर बनाउँछ । जसले भियतनाम यूद्घवाट वाहिर निस्कन खोज्दै गरेका महिलाहरुको कारुणिक कथा भन्छ । ल्यान, लिटल डगकी हजुरआमा जसले आफ्नो नामाकरण आफैँ गरिन् । उनकी आमाले दिएको सात नम्बर उनको लागि काफी थिएन ।  त्यसैले उनले  आफूलाई ल्यान भन्ने नाम दिइन् । ल्यान भनेको भियतनामी भाषामा जलकमलको फूल हो । सत्र बर्षको उमेरमा उनी आफ्नो मागी बिवाहबाट बाहिर निस्किन्छीन्, यूद्वको समयमा काम पाउँदिनन् र  देहब्यापारमा सम्लग्न बन्न पुग्छिन् ।   अन्त्यमा त्यस्तो अमेरीकन सैनिकसँग  बिहे गर्न पुग्छिन् जो उनको जन्मिदै गरेकी छोरीका पिता थिएनन् । लिटल डगले भनेको ल्यानको कथा यूद्वको कथामात्र होइन यूद्व भन्दा पर आफ्नै पहिचानको खाजीमा हिडेका ति महिलाहरुको कथा जसले केही नबोलिकन, बिना भाषा, बिना मिथक, संरचनाको कठिन बागडोरलाई लत्याएर हिडे । उनले पार गरेको यात्रा लिटल डक यात्रा पनि हो । उनको कथा लिटल डगको कथा पनि हो ।

लिडल डग भन्छ, “ हाम्रो भियतनामी भाषा त समयको क्याप्सुल हो आमा, त्यस्तो चिन्ह जसले तपाईको शिक्षाको अन्त्य गर्यो, सबै खरानी भयो । त्यसैले आमा, हामीले हाम्रो भाषा बोल्नु भनेको केही भियतनामी तर पुरै यूद्वमा बोल्नु हो ।” उसले जसरी भाषा र यूद्घलाई जोडेको छ । उसको र उसकी आमाको सम्बन्ध पनि यूद्वले नै निर्धारीत गरेको छ । अमेरीकी सैनिक र भियतनमाी आमाको सन्तान उसकी आमा, रोजको जन्म नै यूद्वले डोहोर्याएको थियो । त्यसले लिटल डगलाई लाग्छ उसकी आमा हरेक दिन उसँग यूद्घमा बोल्छिन् । यूद्घको पृष्ठभुमिले निर्धारित गरेको संवाद सजिलो छैन तर लेखकले आमा छोरोको संवादलाई अझ गहिरो बनाएका छन् । सायद यो उनले बर्षौ आमालाई भन्न नसकेको वा आमासँग गर्न नसकेको संवादको लिखित भाषान्तरण हो ।

ओसनको प्रमुख पात्र लिटल डग भन्छ, “आमा मलाई केटा मनपर्छ“ । उसकी आमा रोज भन्छिन्, “ मलाई भन, यो कहिलेबाट सुरु भयो । मैले त तँलाई स्वस्थ र सामान्य जन्माएको थिएँ ।” उसकी आमालाई उसलाई केटा मनपर्नु असामान्य लाग्छ । एक विमारीझै लाग्छ । जसले समलैंगिताबारे भियतनामी वा अमेरीकामा बस्ने भियतनामी समाजले बुझ्न यर्थाथलाई प्रस्ट पार्छ । चौथ बर्षको उमेरमा जब लिटल डक सुर्ती कारखानामा काम गर्न थाल्छ तब उसलाई उसँगै काम गर्ने उजस्तै किशोर मनपर्न थाल्छ । सम्बन्ध त्यो भन्दा पर पुग्छ । लिटल डगले र उसको प्रेमी दुवैले आफूभित्र रहेको समलैंगितालाई बिस्तारै पहिचान गर्छन् । त्यो पहिचान उनीहरुको आफ्नै खाजी थियो । त्यो खोजीको कुनै सुरुवात र कुनै अन्त्य थिएन । उपन्यासमा समलैंगितालाई लेखकले  मिहिन र सरल तबरले प्रस्तुत  गरेका छन् ।  तर पाठकको रुपमा हामीलाई लाग्छ यति सजिलै आफ्नो शरीर र शारीरीक भोगाइबारे लेख्न सजिलो छैन । 

उपन्यासमा लिटल डगले लागुऔषधको लतमा फसेको आफ्नो प्रेमी गुमाउँछ, हजुरआमा गुमाउँछ, आफूसँगै काम गर्ने धेरै साथीहरु गुमाउँछ । उपन्यासले गुमाउँनु, नहुनु र सम्बोधित नहुनको पिडालाई सामुहिक शोकको रुपमा सम्बोधित गर्छ ।  सायद वाङले ब्यक्तिगत शोकलाई  किन सामूहिक पनि हो भनेर उपन्यासमार्फत भन्न चाहन्छन् । उनी आफ्नी आमालाई भन्छन्, “ आमा पढ्न पाउँनु मेरो लागि त्यो सु–अबसर हो जुन तपाईको गुमाइबाट सम्भब भयो” । सायद उनी हामी सबैलाई बुझाउँन र भन्न चाहन्छन् , जसरी मैले मेरी अपठित आमाका मौन कथाहरलाई अबसर ठानेर शब्दहरुमार्फत ब्यक्त गरेँ त्यो  गर्न सजिलो छैन ।

 वोङले प्रस्तुत गरेको आख्यानको यो आंशिक सुन्दर संसार यूद्वबाट निस्केको आशाको संसार मात्र होइन गरिवि, प्रेम र हिंसाका डटहरुलाई जोड्ने कल्पना र वास्तबिकताको एक जटिल  मैफिल पनि हो । यो सुन्दर शब्दमार्फत ब्यक्त भएको यूद्ववाट पर निस्कन खाजेको एक कुरुप कथा पनि हो । यो शब्दको जादुगरले इतिहासको एक धुमिल मानव परिस्थितिलाई ब्यक्त गर्न खाजेको एक दुष्प्रयास पनि हो । समग्रमा औपन्यासिक संसारमा ओसनको प्रस्तुति लोभ्याउँदो छ । कुरुपतालाई बिम्बमा ब्यक्त गर्न सजिलो छैन तर उपन्यासभरी उनी काब्यमै बोलेझै लाग्छ । “ अन अर्थ वि आर विर्फिलि गर्जियस” ओसनको शाब्दिक संसारबाट यात्रामा निस्केको आशा, निराशा र भरोसाको एक सुन्दर कलेवर हो ।


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...