Monday, October 27, 2025

रातः एक भावना


 २०२५– १०– २६

म अनिदो छु । रात पनि त अनिदो छ । सबै अनिदा रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज । म रातलाई अँगाल्छु । म उससँग रोइदिन्छु । उसले मलाई बेप्रवाह रुने स्वतन्त्रता दिएको छ । म उसको अँगालोमा रोइदिन्छु । सबैस्ाँग कहाँ रुन सकिन्छ र ! मध्य दिउसो कहाँँ रुन सकिन्छ र ! तर रातले रुन दिन्छ । म उसलाई मनमनै धन्यवाद भन्छु ।

आफू हुन पनि रात पर्नु पर्छ । दिनको उज्यालोले सबै चिज छेकिदिन्छ । रात आफ्नो हो । म रातमा नांगिन सक्छु । म रातमा बौलाउँन सक्छु । म रातमा चिच्याउँन सक्छु । हो सबै रातहरु अप्रिय हुँदैनन् । रातको एक बजेको छ । म कसैको पर्खाइमा छु । मैले आफैँलाई पर्खिरहेको पनि हुनसक्छु । कति सुन्दर पर्खाइ । म उसँग नाँगिन सक्छु । आँशु झारिदिन सक्छु । रिसाएर नबोलिदिन पनि सक्छु । उसको पर्खाइमा म खुसी छु जस्तो कि आज । म पर्खेर पनि खुसी छु । कसैको अनुपस्थितिमा पनि खुसी छु । 

मलाई हेर्ने कोही छैन । रातले मलाई गिज्याउँदैन । मेरा छाँयाहरुलाई नाप्दैन । मेरा कथाहरुलाई फाल्दैन । रातले त अँगाल्न मात्र जानेको छ । म रातलाई अँगाल्न सक्छु । उसले मलाई चुम्न सक्छ । यहाँ परिधिहरु छैनन् । पावन्धिहरु छैनन् । निस्सासिएका कथाहरु छैनन् । सबै रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज ।

आज रात मेरो भएको छ । म रातकी भएकी छु । म उसको अँगालोमा अनिदो भएर पनि खुसी छु । म कसैको पर्खाइमा पनि खुसी छु । कोही नहुनुमा पनि खुसी छु । कोही भैदिएको भए पनि खुसी हुनेथिँएँ । सबै अनिदा रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...