मलाई कथा भन्न मनपर्छ । म मनमनै भन्नेगर्छु । हुलाकीले तिम्रो चिठी यहाँ छ, “तिम्रो चिठि” भनिसकेपछि म भन्ने गर्छु ।
म आफ्नो जीवनको लागी एउटा कथा बुन्छु, जसरी मेरा खैरा जुत्ताहरुले एक एक पाइला चाल्छन् त्यसरीनै । म भन्छु, “ र त्यसैले ऊ अफ्ठेरोसाथ काठका खुट्टिकलाहरुमा पाइला टेक्छे , उसका निराश खैरा जुत्ताहरुले उसलाई त्यो घरमा लाँदैछन् जुन उसलाई कहिल्यै मनपरेन ।”
मलाई कथाहरु भन्न मनपर्छ । म त्यो केटीको कथा भन्दै छु जो यो आँप सडकको घरभित्र कहिल्यै अट्न चाहिन ।
हामी सधैं सडकमा बसेनौं । त्यो भन्दा पहिले लुमिजको तेस्रो तलामा बस्थ्यौं । त्यो भन्दा पनि पहिले केलरमा बस्यौं । केलर अगाडि पौलिनमा, तर म धेरै आँप सडकलाई नै सम्झन्छु, त्यो रातो र निराश घर, जसलाई म आफ्नो ठान्छु ।
म यी सबै कुराहरु पानामा उर्ताछु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाधेर राख्दैन । मलाई उड्न दिन्छ आफ्नै सपनाको उडानमा ।
एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु । र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु । तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।
साथीहरु र छिमेकीहरुले भन्नेछन् के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापी सँगै गैइ ? किन ऊ यति पर गैइ ?
तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागी गएकीे हु । उनीहरुको लागी जसलाई मैले पछाडि छोडे । उनीहरुको लागी जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।
यो सान्द्रा सिस्नेरोजको कथा हो । वा भनौ यो स्परेन्जाको कथा हो । उसलाई कहिँ जानु छ तर कुनै अन्जान पुरुषको घर होइन । पिताको घर पनि होइन । उ त्यहाँ जान चाहन्छे जसले उसलाई आफ्नो हो भन्ने अनुमति दियोस् । छोरीमान्छेको कहाँ घर हुन्छ र । कि लोग्नेको हुन्छ । कि पिताको हुन्छ । ति स्वतन्त्रताका घरहरु होइनन् । नबाधेझैँ गरेर पनि तिनले बाध्छन् मात्र । आफ्नो आफ्नै भुगोल हुनु पो घर हुनु हो । निस्सासिनुपर्ने अनुमतिकका बन्धनहरुलाई कहाँ घर मान्न सकिन्छ र ।
त्यसैले पनि मलाई नदिहरु मनपर्छ किनकि ति बग्छन् । समयसँगै बग्नु पो जिउँनु हो । नियतीलाई जीवन ठानेर घर्षनु कहाँ जीउँनु हो र । हो मेरो कथा पनि यस्तै हो । मलाई लाग्छ म घिर्षदै छु । जिउँन छोडेको पनि कयौ बर्ष भै सक्यो । केही डायरीहरु छन् जसले मलाई जीउँदा झै बनाउँछन् । इतिहासले बाधेर राखेको मलाई मनपर्दैन । म चाहन्छु बन्धनको नाउँमा आफू पनि नरहु । त्यसको लागि पनि मलाई कहि जानु छ । कहि पुग्नु छ । आफ्नो यात्रा अधुरोझै लाग्छ । म जो हु त्यो हुन सकिन भन्ने पनि लाग्छ । म जहाँ छु मैले दावी नै गरे पनि यो मेरो भुगोल होइन । स्वतन्त्रताको भुगोल हुँदेन । कथाको भुगोल हुँदैन । रंगको भुगोल हुँदैन । धुनको भुगोल हुँदैन । स्वतन्त्र हुनु भनेको कहिको नहुनु हो । पितापूर्खाको नहुनु । लोग्नेको नहुनु । आफ्नो पनि नहुनु ।
हो म गुडबाइ भन्न चाहन्छु । त्यस्तो गुडबाइ जसले मलाई उड्ने स्वतन्त्रता दियोस् । महिनौ हराउँदा खोज्ने कोही नहोस् । सिरानीले आशु नरोजोस् । हो म बेपर्वाह बतासझै कही भाग्न चाहन्छु । जहाँ जीवनको लय त होस् तर लयले कुनै बाटो नरोजोस् । कथाको अन्त्यझै म जे पनि बन्न सकुँ । कसले के भन्ला भन्ने भयहरु नहुन् ।
हो म सान्द्राको कुनै छुटेको स्वरुप हुँ । उ झै म पनि कथा भन्न चाहन्छु । तर छाप्नेलाई लाग्ने गर्छ मेरा कथा कथा जस्ता छैनन् । म पनि त अरु जस्तो छैन । अचेत म मेरो पाण्डुलिपिहरुलाई यसरी नै कहि कतै छोडिदिन्छु । थाहा छैन कथा बन्न के बन्नु पर्छ । बस् म लेख्न चाहन्छु । लेखेका शब्दहरु म मात्र होइन म भित्रका अनेकौ म हुन् । हुन छोरीमान्छेले लेख्नु लेख्नु मात्र हो । लेख्नु बाहेर अरु सबै हो तर उ लेख्ने मान्छे होइन । हामी सबै अन्जान कथाहरु बोकेर हिड्नेहरु हौँ । हाम्रा कथा कथा होइनन् । हामीले लेखी हाल्यौ भने पनि ति कथा कथा जस्ता बन्दैनन् ।
मेरो परिवारलाई अझै पनि म लेख्छु भन्ने थाहा छैन । किनकि त्यो सबैभन्दा अन्तिमको कुरा हो । मैले लेख्नुबाहेक अरु धेरै कुराको आशा परिवारले म बाट गर्छ । तर मलाई स्परेन्जालाई जस्तै लेख्न मनपर्छ । एक्लै एक्लै कुनै अन्जान सडकमा हिड्न पनि मनपर्छ । कुनै अन्जानसँग बोल्न पनि मनपर्छ । बस् मलाई लाग्दैन म जहाँ छु त्यहाँको हुँ । म पटक्कै यहाँको होइन । यो घर यो ओछ्यान यी सडकहरु मेरा आफ्ना पटक्कै होइनन् । म गुडबाइ भन्न चाहन्छु ।
No comments:
Post a Comment