मान्छेहरु
यसकारण
बोलिरहन्छन् कि,
कसैले
उनीहरुको मौनता नसुनोस्
सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँग छ । शब्दमा जीवनको खालीपनलाई सम्बोधन गर्नु, बन्धनभन्दा पर अनुभूतीका आयामहरुलाई बोलिदिनु, अन्तरहृदयको आवाजलाई सबैभन्दा सुन्दर भाषामा ब्यक्त गर्नु सायद कवि हुनु हो । कवि बन्न सजिलो छैन, न कविझै अनुभूत गर्न सजिलो छ । कवि भनेर चिनिएका तर कवि कवि झै नलाग्ने, कविता कविता झै नलाग्ने समयमा नवीन प्राचीन यस्तो नाम हो जसले बिना हल्ला, बिना नाम कविताको सुनसान यात्रा छाडेका छैनन् । पछिल्लो समय आफ्नो कृति प्वाँख लिएर काब्यको यात्रामा अघि बढेका छन् ।
जब कवि शब्दभन्दा पर भावमा बोल्छ तब कविताले गर्ने यात्रा अनुभूतिको यात्रा बन्न पुग्छ । नवीन प्राचीनको पछिल्लो कविता कृति प्वाँखमा तिनै अनुभूतिका तंरगहरु भ्ोटिन्छन् । ब्याख्याभन्दा पर, शब्दभन्दा माथि जब कविताले हामीलाई लग्छ तब त्यो यात्रा जैविक यात्रा होइन अस्तित्वको यात्रा बन्न पुग्छ । उनका कविताले अस्तित्वको अर्को मैफिलमा हामीलाई पुर्याउँछ ।
नवीन प्राचीन कविताको क्षेत्रमा नयाँ नाम होइन तर नवीन नाम अवस्य हो । उनका कविता उनको नाम झै नौला लाग्छन् । आकारले उनका कविताले बोल्ने बिषयको गहनतालाई प्रतिनिधित्व गदैनन् । कम शब्दमा उनी धेरै कुरा बोल्छन् । छोटा र चसक्क बिझाउँने उनको शैलीले उनका कवितालाई अझ सुन्दर बनाउँछ ।
नामझै प्वाँख शब्द र आकारको हिसाबले हलुका लाग्छ तर बुझाई र बोधका हिसाबले उनको यो ओजीलो कृति हो । कवि आफूले बाचेको समयभन्दा पर र अझ गहिराइमा पुग्न सक्छ् भन्ने कुरा उनका कविता पढेपछि पत्यारिलो लाग्छ । बर्षौको अनुभबले जीवनलाई बुझेझै प्वाँखमा जीवनका कठिनाई र कठिनाई प्रश्चात त्यसले ल्याएको जीवनको बोध दुबै भेटिन्छ ।
शब्दमा अस्तित्व र अनुभूतिलाई बोल्न सजिलो छैन । तर उनका कविताले त्यो दुबै गरेका छन् । भोगाईका तहहरुमा अति कठिन लाग्ने यी कुरालाई उनले बिम्बमा सजिलै उतारीदिएका छन् । उनी लेख्छन्
के तिमीलाई पनि
कहिलेकाहीँ
कसैले सोधिदिए
संसारकै सबैभन्दा भारी चीज
जवाफमा
मन भनिदिन्थे
जस्तो हुन्छ ?
अन्तरहृदयको अनुभूतीलाई उनी सजिलै कवितामा बोलिदिन्छन् यस्तो लाग्छ उनी भोगाइले निचोर्रिएका छन्, शब्दभन्दा पर अनुभूतीमा बिश्वास गर्छन् । उनका कविता चर्का छैनन्, नाराझै यीनले भिडलाई सम्बोधन गदैनन् तर हृदयका ठूलाठूला उथलपुथललाई सुन्दर शैलीमा कहन्छन् । शब्दमार्फत उनले गरेको यो शालिन बिद्रोहले उनको यो कृतिलाई अझ भिन्न र पृथक बनाएको छ ।
उनी संवेदना र भावनालाई नाजुकताकासाथ प्रस्तुत गर्छन् । सायद कविता अनुभूतिको त्यही नाजुकताबाट जन्मन्छ । सायद यो कविको सफलता हो । हुनसक्छ राम्रो कवि हुन इमान्दार मानिस हुन आवश्यक छ । उनको यो कृति पढ्दा यस्तो लाग्छ उनका कविताले उनको अनुभूतिको इमान्दारितालाई बोल्छन् । उनी लेख्छन्–
जिन्दगीलाई भने
मलाई तँसँग केही गुनासो छैन
जिन्दगीले भन्यो –
माफ गर् यार्
म तँजति
महान हुन सकिनँ
माथिको कविताझै पुस्तकभरीनै उनले आफैसँग संवाद गरेझै लाग्छ । जीवनको रित्ततालाई नजिकबाट देखेझै उनका कविताले जीवनका तिता यर्थाथलाई बोल्छन् ।
नवीन प्राचीनले प्वाँखमा शब्द र शिल्पको नविन यात्रा मात्र गरेका छैनन्, शब्दभन्दा पर भाव र भाव भन्दा पर मोक्षको यात्रा पनि गरेका छन् । पढ्दा यो ध्यानको अलौकिक यात्रा झै लाग्छ । दुख, पिडा र क्रोध भन्दा पर उनका कविताले जीवनका असिमित आमायहरुलाई कहन्छन् । सिमितता भन्दा पर असिमितितका यात्रामा हिडेका उनका कविता भिडको कोलाहाल होइन भिडभन्दा पर उठेर जीवनको रिक्ततालाई कहने प्रतिछायाका रेखाहरु हुन्, जीवनका धुनहरु हुन् । उनलाई पढिरहँदा यदाकदा उनका कविताले जीवनको अब्यक्त दर्शनलाई ब्यक्त गरेझै लाग्छ ।
सतहमा बगेको आवाजले हल्ला मात्र गर्छ । उनी हल्ला गर्दैनन्, सुनसान गोरेटोमा यात्रा गरेझै आफ्नो उपस्थितिको गहनलाई प्रतिनिधित्व गर्छन् । सायद उनको यो कृति कविले आफ्नै हृदयसँग गरेको संवाद हो । कविता पढिरहदा यस्तो लाग्छ उनी आफैसँगको गहिरो सम्बादमा छन्
आकाशमा उड्छन्
सपना
जमिनमा अड्किएका छन्
पैताला
थाहा छ
आफ्ना पखेटा मैले
पैतालासँग कहिले साटेँ
यसरी आफ्नै उपस्थितिसँग सम्वाद गरेझै लाग्ने उनका कविताले मानिस भएर जीवीकाका लागि सपनासँग गरिएका सौदाबाजीका कुरा गर्छन्, बजारमा बिकेको मानिसको अस्तित्वको आवाज बोल्छन् , छोडिजानेका पैतालाले बनाएका डोबका कुरा गर्छन् र आफ्नै माटोबाट बिस्थापित भएर परपर उडेर यायावर बनेका भूईमानिसहरुका कुरा उठाउँछन् । साथै प्रेममा चुलुम्म डुबेर उठ्न खोजीरहेका प्रेमिल हृदयहरुका उथलपुथलका संवेदनाहरुलाई कहन्छन् । उनले गर्हौ हृदयका भारहरुलाई भावनाको प्वाँख बनाएर बिम्बको आकाशमा छाडिदिएका छन् ।
उनी हल्ला गदैनन्, सायद उनी कविताको ध्यानमा छन् । बिना प्रचार, बिना उत्तेजना, शब्दको र बिम्बको मधुर धुनमा कविताको यात्रा गर्नु सायद कवित्वमा बाच्नु हो । उनका कविता हेर्दा उनी कवितामा जीएझै लाग्छ । बिना शिर्षकका साना झिल्काझै लाग्ने उनका कविताले हामीभित्र बर्षौ जमेर रहेका भावना, संवेदनालाई पगाल्छ । उनले कवितामार्फत गरेको यो संवाद सायद हामी सबैले आफैँसँग गर्न नसकेको वा गर्न छुटेको वा गर्न लजाएको संवाद हो ।
उसले
मेरो खुसीको हिमालबाट
एक मूठी हिउँ उठाएर
अचम्म मान्दै भनी–
अरे ! न्यानो हिउँ ?
अनि थोरै मुखमा राख्दै सोधी–
कसरी नुनिलो
कसरी भनूँ ?
मैले यो खुसीको हिमाल
आँसुको सिङ्गो सागर जमाई
उभ्याएको हुँ
दुख र पिडाको गहिरो सागर बोकेर हामी मानिस बाँचेका छौ । उनका कविताले तिनै असम्बोधित पिडा र दुखलाई कहन्छन् । दिनदिनैका दुख, कहर त हामी कहौला तर बर्षौ आफैँसँग सम्हालेर राखेका चोड र पिडालाई प्राचीन यस कृतिमा प्रस्तुत गर्छन् । पढ्दै गर्दा यस्तो लाग्छ उनी भित्र भावना र सम्बेदनाको कहिल्यै नरित्तिने घडा छ ।
उनको यो कृतिले अस्तित्वको आवाजहरुलाई बोल्छ । त्यसैले यस पुस्तकलाई हामी भित्र सधै एकान्तमा गुन्जने अस्तित्वको कोलाहल मान्दा हुन्छ । यसले संवादको आशा गर्छ तर अरु कोहीसँग होइन आफैँसँग ।
हृदयको भार पन्छाइ
पानाहरुमा राखिदिन्छु
तिमी छौ एक
शब्दप्रेमी
तिनलाई
कविता भनिदिन्छौ
यसरी
प्रेमले
पत्थरलाई
कवितामा बदलिदिन्छ ।
सायद उनले भनेझै हृदयको भारलाई हलुका बनाएकाले यो कविताझै लाग्छ । तर पुस्तक पढिरहँदा यस्तो लाग्छ कविले आफ्नो हृदयको भार साझा बनाएर हामीमाझ पस्केका छन् । र त्यो हृदयको भार हामी सबैसँग छ ।
मैले उसलाई
मेरो हत्याको
सजाय माफ दिए
र आफू थूनामूक्त भएँ ।
उनका कविता कोमल छन् । सायद कविताले गराउने यात्रा कोमलताको यात्रा नै हो । उनी कठोर बनेर कवितामा प्रस्तुत भएका छैनन् । बिना शिर्षक, बिना कुनै बिभाजन प्राचीनको यस कृति हृदयका असिमित आवाज झै लाग्छ । सतहमा देखिने कुरालाई कवितामा उर्तान सजिलो छ तर उनी सतहबाट पर गहिराइमा पुगेका छन् । बिशेषतः मानिसका हृदयको गहिराइमा । यसले कवितालाई अझ पठनिय र अझ मधुर बनाएको छ ।
अन्तयमा नवीन प्राचीनको यस कृति कविताको यात्रा भएपनि कविताझै लाग्ने अस्तित्वको यात्रा हो । सुन्दर, सटिक शिल्प र शैलीमा उनले हामीलाई मानिसका हृदयका उतारजडाब र कठिनाइसम्म पुर्याएका छन् । यसले हामीलाई संवेदना र भावनाको चरम अनुभुतीसम्म पुर्याउँछ । आफैसँग संवाद गर्न बाध्य बनाउँछ । प्वाँखले हामीलाई बिम्बको यात्रामा मात्र लग्दैन जीवनमा छुटेका असिमित आयामसँग साक्षात्कार पनि गराउँछ । सायद यो कविको हातबाट पाठकको हृदयसम्म पुगेको अस्तित्वको प्वाँख हो ।
No comments:
Post a Comment