प्रिय तिमी,
लामो समयपछि तिमीलाई लेख्दैछु । आशा छ तिमीलाई मैले जस्तो छोडेको थिएँ त्यस्तै छौ । हुरी, बतास र बादलहरुले तिमीलाई केही गर्दैन भन्ने मेरो भित्रि आशा छ । तर मैले भनेझै वा भनौ मैले चाहेझै सबै नहुन पनि सक्छ । हुनसक्छ तिमी कुनै ठूलो बतासले पर पुगिसकेको पनि हुनसक्छ । हुनसक्छ यी मेरा शब्दहरुले कुनै अर्थ राख्दैनन् । तथापी मेरो मनले भन्छ तिमीलाई जस्तो भेटेको थिएँ तिमी त्यस्तो नै छौ । सायद यो भ्रम हो र तर भ्रम नै सहि म यसैमा अडिन चाहन्छु ।
तिमीले अघिल्लो पत्रमा नयाँ सुरुवातको जिकिर गरेकी थियौ । तर सुरुवात गर्न कहाँ त्यती सजिलो छ र ! अक्षरमाझै जीवनमा पनि सुरुवात गर्न कहाँ त्यती सजिलो छ र । थाहा छ तिमी मसँग रिसाएकी हौली । वा भनौ अनुत्तरीत हुनुको क्रोध पनि होला । तर कति प्रश्नलाई प्रश्नमै छोडिदिदा ठिक होलाकी भन्ने नलागेको पनि होइन । हो म यस्तै यस्तै प्रश्नले उल्झिएको थिएँ । पुरुष मन हो तिमीले पोखिन चाहन्छु भन्नेबित्तिकै हाम्फालेर तिमी माझ आइहालौ झै नलागेको पनि होइन । तर त्यो आबेश पछि गएर ग्लानीमा परिवर्तन नहोस् भन्ने मलाई लाग्यो । मैले चाहेर नै तिमीलाई यतिका समय लेखिन । हो म स्वार्थि छु । म भित्र स्वार्थले तिमीलाई बिना कुनै अर्थ वा उद्घेश्य प्रेम गरेझै देखाएको पनि हो । तर जब तिमी पनि त्यो नयाँ यात्राको लागि अघि बढ्ने सपना देख्न थाल्यौ यो मन डराएको पनि हो ।
तिमी अघिल्लो पत्र पाएपछि मैले आफैँलाई फर्केर हेरेँ । आफ्ना दोष र गुणहरु केलाएर पनि हेरेँ । ऐनामा आफैँले आफैँलाई हेर्न सकिन । आफ्नो कुरुपतालाई नहेरी बस्न सकिन । यति कुरुप मनले लेखेको पत्रले कसैको मनलाई कसरी पगाल्न सक्छ भन्ने नलागेको पनि होइन । त्यसैपछि आफैँलाई छल्न पर पर भागिरहेँ । यति भागिरहेँकी मैले आफैँलाई भेट्ने बाटो भेटिन । यसरी बरालिएको मनले तिमीलाई अपनाउँन खोज्नु एक दिवा सपना मात्र हो । म भित्रका दुख र कुरुपताको साक्षि म तिमीलाई बनाइराख्न सक्दिन ।
तिमीले नयाँ सुरुवात गरौ भनेपछि म तर्सिय । आफैँसँग भागेर हिड्नेले कसरी अरु कोहीसँग नयाँ सुरुवात गर्न सक्छ । केही थान कथाहरु पनि पढेँ । पढ्दा पढ्दै मैले आफैँलाई कुनै खलनायक झै भेटेँ । हुनसक्छ म भित्र मानिस हुनुको नाउँमा भोक मात्र हुनसक्छ । हुनसक्छ तिमीलाई पनि मैले तिमीले थाहा नपाउँने तरिकाले भोकको आँखाले मात्र हेरेको हुनसक्छु । म भित्र क्रोध छ । म भित्र बासना छ । म भित्र असफलता छ । यीनै बिषहरुलाई हुनसक्छ म अरु कसैलाई माया गरेझैँ गर्छु । तर यो शब्द मार्फत देखाएको माया माया होइन । म त शब्दहरुले आफैँलाई छोप्ने काम मात्र गर्छु ।
हो यो अन्तरालमा मैले म भित्रको एक कुरुप मानिसलाई भेटेँ जो सधै म सँग थियो । थाहा छैन यो कुरुपता बोकेर म के सुरुवात गरौँ । कस्तो सुरुवात गरौँ ।
उही
तिम्रो चिठी पुग्ने ठेगाना
No comments:
Post a Comment