प्रिय पत्रहरु,
यो पत्रको बदला पत्र मात्र होइन । यो कुनै अधुरोपन जस्तै हो । केही न्यास्रो । केही अल्नो । केही अपुरो । मलाई लागेको थियो मेरो पत्रको बदलामा मेरो झोलामा पत्रमञ्जुषा बनेर केही फर्कनेछ । तर त्यस्तो भएन । मेरा पत्रहरु सायद कुनै अन्जानको दैलोमा पुग्यो होला । सायद उसलाई लाग्यो होला यो मेरो ठेगानामा झुक्किएर आएको होला म खोल्दिन । सायद त्यस्तै केही भयो होला ।
कहिलेकाही त लाग्छ नि आफूलाई कसैले सुनिदियोस् । आफ्नै नाममा पत्रहरु घरको ढोका आइपुगुन् । फूलहरु लिएर कसैले आफूलाई स्वागत गरोस् । सँसारमा को नहोला जसलाई माया चाहिएको छैन । सँसारमा को नहोला जसले प्रेमलाई कुरेको छैन । सायद म त्यस्तै प्रखाइमा थिएँ ।
सायद त्यसैको प्रखाइमा मैले केही पत्रहरु लेखेँ । कोही अपरिचितलाई । कोही अन्जानलाई । लागेको थियो कहिलेकाही प्रेम असजिलो बाटो बनेर आउँछ । सजिलो के छ र । मैले त्यस्तै गरेँ । सायद आफैँलाई खोजेझै मैले अरु कसैलाई पत्रहरुमा खोजिरहेँ ।
खोजि आफ्नै थियो । खोजि प्रेमको थियो । मैले शब्दहरुमो आफैँलाई रित्तयाइराखेँ । अब त म शब्दहरुको पनि रित्तो रहेछु, प्रेमको मात्र होइन । जे छ असजिलो छ । मलाई थाहा थियो, यो असजिलो बाटो हो । त्यो पनि थाहा थियो, प्रेम कहिल्यै पनि असजिलो बाटो बनेर फर्कदैन । तर पनि मनले भन्यो कुनै आख्यानझै जीवन पनि त अप्रत्यासित छ । मलाई लाग्यो यो असजिलो नै मेरो भागको सजिलो बाटो हो । मैले लगातार कोही अपरिचितलाई पत्रहरु लेखिराखेँ । सायद लेखिरहनेछु ।
पत्रहरुको युूग सिद्धिएको पनि धेरै भैसक्यो । तै पनि पत्रहरुको आशा थियो । मलाई लाग्छ प्रेमको सबैभन्दा सुन्दर अभिब्यक्ति कि मौनतामा हुन्छ कि शब्दहरुमा । मैले त्यही बाटो रोजेकी थिएँ । तर अब प्रतिक्षाको लागि केही बाकी रहन । हरेक दिन म आफ्नै लागि आफैँ लेख्ने गर्छु । कुनै मनोबादझै प्रापक र प्रेशक आफैँ बनेकोमा पनि कुनै पछुतो छैन । एक अभिनय जस्तो, जीवनमा प्रापक र प्रेशक आफैँ बन्नु एंकाकिपनको चरम बिन्दु हो । हुन त मैले जीवनलाई मुलधारमा राखेर कहिल्यै हेरिन । जे थियो र जे छ चरमता भित्र मात्र छ । म संग्लोपनको नाटकमात्र पनि गर्न सक्दिन । म भित्र जे छ कुनै टुक्रिएको सिसा जस्तै छ । कहिलेकाही नमज्जाले बिझाउँछ ।
सायद आफ्नै खोजिमा । सायद अरु कसैको खोजिमा । सायद प्रेमको खोजिमा । मैले अपरिचितलाई पत्रहरु लेखिरहेँ । मलाई अरु केही थिएन मेरा शब्दहरुबाट केही आशा थियो । मैले उत्सुकताबस कापी कापी कोही अरुका लागि पहिलोपटक पत्र लेखेकी थिएँ । म बिधामा अड्किन चाहदैनथेँ । पत्र मेरा लािग कविता जस्तै हो । कविता बन्न कविताजस्तै हुनुपर्छ भन्ने पनि छैन । प्रेममा सबैचिज कविता नै हो र्। लागेको थियो प्रेमलाई अभिब्यक्त गर्न पत्र एउटा सुन्दर तरिका हो । कहिलेकाही माध्यम पनि महत्वपूर्ण बन्छ । सायद मैले रोजेको पत्रको बाटो त्यही थियो ।
प्रिय अपरिचित, म तिमीलाई प्रेमझै केही गर्छु । त्यो प्रेम हो वा हैन मलाई थाहा छैन । पानी परेको बेला, बतास चलेको बेला , चराहरु उडेको बेला , घाम अस्ताएको बेला लाग्छ अनुभूतीको त्यो सुन्दरताभित्र तिमी पनि छौ । कहिलेकाही घाम लागेको बेला पनि त्यसरीनै सम्झन्छु । आज पनि बिहानै सम्झे । हिजो राती पनि सम्झेको थिएँ । मलाई थाहा छ, प्रेम पत्र बनेर मेरो बाटो आउँदैन तर केही खोजेझै प्रेममा पनि मैले आफैँलाई खोजिराखेँ । खोज्नु सायद मेरो नियती थियो । मैले जीवनभर केही खोजिरहेँ । सायद तिमीलाई खोज्नु पनि त्यही नै हो ।
सायद अब अक्षरहरु सजिला बाटा बनेर तिम्रो माझ झुल्कँदैनन् । जे थिएँ मेरो मात्र थिएँ । म आशाबादी पनि रहिन । कहिलेकाही असजिलो बाटोको खोजिमा मैले केही आफैँलाई रित्ताएको छु । रित्तिएको मानिसभित्र प्रेम रहँदैन । मैले प्रेम गर्छुझै गरेँ पनि सायद म अब कसैलाई प्रेम गरिरहन पनि सक्दिन । सायद आफैँलाई पनि । मैले जे को प्रतिक्षा गरिराखेँ । त्यो कतै पर पुग्यो । मलाई लाग्छ मैले अब माटो मागेँ भने पनि बतास आएर माटोलाई उडाउँनेछ । यो उदास मानिसले पत्र पनि लेख्न सक्दैन । प्रिय पत्रहरु, यो तिम्रो लागि लेखिएको अन्तिम सम्झना पत्र हो ।
No comments:
Post a Comment