Monday, July 6, 2026

हिमाल र नदी


बगेको पानीले सबैलाई रोमाञ्चक बनाउँछ । नदी तर रोमाञ्चकता मात्र होइन नदी त कथा पनि हो । हरेक नदीले प्रत्येक दिन एउटा कथा बोकेर यात्रा गर्छ । यात्रा गर्नु उसको नियती हो, नदीले बग्ने नियती बोकेको छ । तर जो नदी किनारामा हुर्कियो उसको लागि नदी एक मानक हो । तर त्यो मानिस जसले नदी र हिमाल दुबैको काखमा हुर्कियो उसको लागि अरु सबै झिना र मसिना बन्न पुग्छन् । उसको पहिलो मानक कि नदी बन्छ कि हिमाल । हो म पनि त्यस्तै एक हो । आज पनि कसैले मलाई तिमी को भनेर प्रश्न सोध्यो भने म आफूलाई नदी किनाराकी केटी भनिदिन पनि सक्नेछु । आज नदी र हिमालको कथा भनौ है त । 

कुनै दिन कुनै बिहान नदी किनारामा एक सानी बालिकाको जन्म भयो । त्यो पनि दिन नपुग्दै । सबैलाई लाग्यो यो ठूली कहिल्यै हुनेछैन । तर ठिक बिपरीत उसका अगाडि नदी र हिमाल थिएँ । उ नदी किनारामा कहिल्यै गैन । उसलाई लाग्यो नदी त ठूलो छ  यो उसको होइन । किनारामा पुग्ने तर नदीको पानीलाई छुन नसक्ने उसको बानीले उसलाई कहिल्यै छोडेन । किनारा उसको बन्यो तर नदी उसको कहिल्यै भएन । हिमाल त अझ ठूलो थियो । हरेक बिहान उसले हेर्ने हिमाल पनि उसको थिएन । यी ठूलाठूला मानकभित्र उसलाई लाग्यो उसको उपस्थिति झिनो छ । उसको उपस्थितिले खासै अर्थ पनि राख्दैन ।

जब उ ठूली हुँदै गै उमेरमा शरिरले होइन शरीरले त उ सधैँ सानी नै थी । उसकी आमा भन्नेगर्नुहुन्थ्यो - तिमी पनि नदीझै हुनुपर्छ । अक्षर भनेको नदी हो यसले तिमीलाई पर लग्नेछ । आमाले भनेका कुरा उसका लागि अनौठा थिएँ । उसलाई लाग्थ्यो नदी त ठूलो छ, अक्षर त मसिना छन् , कसरी अक्षर नदी बन्न सक्छन्। तर आमालाई लाग्थ्यो  -  जे उनको लागि कठिन थियो त्यो छोरीका लागि सरल बनोस्  । तर उनले त्यो कुरा बुझ्दैनथीन् । सायद त्यो बिम्बमा थियो सानी बालीकाको लागि त्यो कठिन थियो ।

नदी उनको थियो तर उनी नदीकी कहिल्यै बनिन । आमाले भनेझै अक्षरहरु उनका बने तर उनी अक्षरकी कहिल्यै बनिन । सायद किनारा उनको थियो । उनलाई बिस्तारै लाग्दै गयो कसरी नदी मेरो बन्न सक्छ म त किनाराकी हुँ । मस्र्याङ्दी किनारामा जब उनका पाइला पर्थे उनलाई लाग्थ्यो ति किनारामा पर्ने पैतालाका डोबहरु उनका हुन् । सायद उनले यात्रा भन्दा पहिला जीवनको निस्सारता र झिनोपन बुझिन् , जो उनको थियो ।

बिस्तारै हुर्कदै जाँदा उनलाई लाग्यो नदी र हिमालनै थिएँ जसले उनलाई अक्षरहरु दिएँ । बग्ने र किनारामा रहनेका कथाहरु दिएँ । उनलाई लाग्न थाल्यो मानिसहरु भन्दा रमाइला त नदी र हिमालहरु हुन्छन् । जब उनी नदी सानो भएको देख्छिन् उनलाई आज पनि आफ्नो सपनाको मानक सानो भएझै लाग्छ । 

फर्केर हेर्दा उसलाई यस्तो लाग्छ नदी र हिमालनै थिएँ जसले उनलाई सबैचिज दिएँ । उनलाई आज पनि लाग्छ अक्षर नदीमा केही फरक छैन । उनकी आमालै जे भनिन् त्यो सत्य थियो । हुन त आमा भनेको समय हो । आमाले देख्ने समय अरु कसैले देख्न सक्दैन ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...