Saturday, July 4, 2026

चौँतिस



लामो बाटो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त म बिसकी होइन । तिस काटेको पनि चार बर्ष भैसकेँछ । तथापी मलाई लाग्छ मेरो थाक्ने उमेर भएको छैन ।

किन बाटोमा कोही भेटिदैनन् । मलाई किन लाग्छ म हिड्दै गर्दा बाटोमा कोही भेटियोस् । यो मेरो पहिलो एकल यात्रा होइन । दोस्रो पनि होइन । तेस्रो पनि होइन । र पनि किन लाग्दैछ यात्रामा एक्लो महसुस गर्नु ठिक होइन । म एक्लो महसुस गर्न चाहँदिन भने किन मलाई एकल यात्राको भुत चढेको छ ? 

यी दुई किनाराका रुखहरु मेरा साथी भएका छन् । तर यीनिहरुसँग गुनासो छ मेरो । किन यति धेरै स्थिर छन् यीनीहरु ? मलाई यीनीहरुको स्थिरता देखेर लोभ लाग्छ, ईष्र्या लाग्छ । किन म यीनीहरु झै स्थिर बन्न सकिन । म हावाको झोकाझै जीवनका बाहाबहरुसँग किन यति धेरै ठोकिएँ । किन लागेन म जहाँ छु जे छु ठिकै छु । म किन यीनीहरुझै आफू हुनुमा रमाउँन सकिन । के जीवन जीउँन अस्थिर नै हुनुपर्ने हो र ? जे छ त्यसैमा खुसी भैदिँदा हुँदैन र ?

  अब खोला नजिकै आइपुगेकी छु । सायद यो खहरे हो । त्यसैले यो बर्खामासमा गड्गडाउँदै छ । कहिलेकाही लाग्छ म आफैँ पनि खहरे नै हुँ ।  यो खोलाझै म पनि कहिलेकाही मात्र गडगडाउँछु । यदाकदा लहडीझै बडबडाउँछु पनि । तर मेरो भेलमा अहिलेसम्म कोही बगेको छैन  । खहरेको भेलमा पनि मानिसहरु बिरलै बग्छन् । र पनि किनकिन खहरेहरु जीवनझै लाग्छ यीनीहरुसँग मानिसको झै उत्तारचडाबपूर्ण जीवन छ । यीनीहरु रुखझै स्थिर कहिल्यै रहँदैनन् ।

यस्ता खोलाहरु मैले धेरै तरेँ । म त मस्याङ्दी र र्दोदि किनारकी केटी हुँ । मसँग बाल्यकालका केही धुनहरु बाकी छन् भने ति नदि किनारका धुनहरु मात्र बाकी छन् । र पनि किन लाग्दैछ म नदिका धुनसँग पनि निस्सासिएकी छु । नदीसँग निस्सासिनु राम्रो होइन । के म बिरत्तिएकी हुँ वा म त्यो केटी रहिन जो नदि किनारा छेउ एउटा सुन्दर घर बसाउँन चाहन्थी । ऊ सँग नदी र हिमाल बाहेकका स्वप्निल क्षितिजहरु अरु केही थिएनन् । वा ऊ नदिसँगै बहकिन सक्थि । म त्यो केटीलाई प्रेम गर्छु जसले नदीलाई प्रेम गर्थि बिडम्बना म त्यहि केटी रहिरहन सकिँन ।

यी नदिहरुझै म पनि बग्न सकेकी भए  म आज जो छु त्यो रहने थिइन । म मेरो यात्रासँग खुसी र दुखि दुबै छु । यदाकदा लाग्छ मैले आफ्ना नाममा जे जे गरेँ त्यो आफ्नै  लागि गरेँ । अक्षरहरुलाई प्रेम गरेँ, नदिहरुलाई गरेँ, रंगहरुलाई गरेँ त्यो भन्दा पर अरु धेरैलाई गरेँ । उनीहरु बगे म किनारामा नै रहिरहेँ । आज  पनि यी नदीहरु सुसाएपछि म मेरा प्रेमीहरुलाई सम्झन्छु । मलाई मेरा प्रेमीहरु पनि नदिझै लाग्छ । बगेर जानेहरुसँग गुनासो मात्र गर्न सकिन्छ सँगै बग्न सकिँदैन । तर मलाई किनकिन लाग्छ जसरी उनीहरु बगे त्यो बग्नु जरुरी थियो । जसरी मैले बिदाइलाई सहजतामा बदलेँ त्यो मेरो लागि थियो । जीवनका बर्हिगमनहरुलाई म अब सजिलै लिइदिन सक्छु ।

चौतारो नजिक आइपुगेकी छु । मलाई बर र पिपल सँगै नारीएका चौताराहरुले असाध्दै लोभ्याउँछन् । किन मानिसहरु पनि बर  र पिपलझै एक अर्काको अस्तित्वमा मस्त भैदिन सक्दैनन् । सायद मैले चाहेझै भैदिँने भए म बर र पिपलको जीवन चाहन्थे । यीनीहरुले शितलता मात्र दिन्छन् । के यति शालिन हुन सम्भब छ । के यीनीहरुले बिद्रोह गर्दैनन् ? वा गर्छन् र पनि देखाउँदैनन् । मलाई यीनिहरुको शालिनता र अस्तित्वबोधले सधै नतसस्तक बनाउँछ ।

सुस्ताउँदैछु ..... चौतारीमा । किनकिन लाग्दैछ मेरो नजिक  कोही भैदियोस् । कसैलाई म चौतारीमा नै बसेर प्रेमका सुन्दर कविताहरु सुनाउँन सकुँ । वा कोही त्यस्तो भैदियोस् जो मलाई सुनाओस् । मलाई किनकिन लाग्दैछ म उमेरसँगै प्रेममा पनि परिपक्क बन्दैछु । मलाई अब प्रेमको नाममा अनाबस्यक हल्ला गर्ने मानिस चाहिएको छैन । मलाई सँगै सुस्ताउँने सहयात्री चाहिएको छ । जसरी  प्रेमलाई साहित्यमा लेखियो त्यो कुनै प्रेम होइन । खोज्दै जाँदा त्यहा लगाव र बास्ना बाहेक अरु केही भेटिँदैन । म अब फिल्मी प्रेमको पर्खाइमा छैन । अब त चाहिएको केबल सँगै सुस्ताउँने मानिस हो । आफू र आफ्नोझै लाग्ने मानिस हो । 

यो उमेरमा पनि म अझै प्रेमको पर्खाइमा छु भन्नु ठिक हो वा होइन म जान्दिन । तर म सधै प्रेम गर्न चाहन्थे । र जसजसलाई मैले प्रेम गरेँ वा ज–जसले मलाई गरेँ उनीहरु मेरा सधै प्रिय रहनेछ । प्रेमको अनुभूति एक सुन्दर अनुभूति हो । म यो अनुभूतिबाट भाग्न चाहन्न । अथवा म नियम बन्धनको नाममा प्रेमलाई सहि र गलत भन्न चाहन्न । मेरी आमाले हजुर आमाले कहिल्यै प्रेमका कुरा गरेनन् । अनुभूति कुरा गरेनन् । मलाई लाग्छ यो मेरो भागको खुसी  हो । बर र पिपलझै लाग्ने प्रेमिल जोडि  देख्दा आज पनि लाग्छ मेरो पनि कोही भैदियोस्  । जानेहरुलाई सम्झन भन्दा म आउँनेहरुलाई पर्खन चाहन्छु ।


उकाली लाग्दैछु पर डाँडामा कोही उभिएको छ । उसको छायाझै लाग्ने प्रतिबिम्ब मेरो आखामा परेको छ । लाग्दैछ उ पनि मजस्तै यात्री हो । एकल यात्री । मलाई एक्लै एक्लै हिड्नेहरु म जस्तै लाग्छन् । किन किन लाग्दैछ उ नजिक चाडै पुगुँ । म कसैलाई यति चाडै भेट्न बोल्न किन चाहदैछु । किन म एक्लै रमाउँन खाजेर पनि रमाउँन सकिरहेकी छैन । किन म यात्रामा सहयात्री खोज्दैछु ।

अघिसम्म प्रतिबिम्ब मात्र जस्तो लाग्ने उ भेटिएको छ । म मुस्कुराउँछु ........ उ मुस्कुराउछँ । म “हाई“ भन्छु उ “हेल्लो” भन्छ । उ म भन्दा उमेरमा सानोझै देखिन्छ । म बोल्न चाहन्छु तर के भनेर सुरुवात गरुँ मलाई थाहा छैन । “के तपाई पनि म जस्तै सोलो टा«भलर हो” “हो” उ भन्छ ।

“कति दिन भयो हिडेको ?” म सोध्छु ।

“आज सेकेन्ड डे हो “ उ भन्छ ।

अनि दुबै चुपचाप । .........सुनसान..........ऊ क्यामरा निकाल्छ । र क्यामराको दुनियामा मस्त हुन्छ । सायद उ फोटोगार्फर हो । तर आजकल क्यामरा बोक्दैमा फोटोगार्फर नै हो भन्न सकिँदैन । म आफ्नै धुनमा एकछिन सुस्ताउँछु । म उसलाई उछिनेर पर पुग्न पनि सक्थे तर थाहा छैन किन म उसँग थप गफ गर्न चाहन्छु ।

एकछिन पछि क्यामेराबाट आफ्नो ध्यान हटाएर उ भन्छ “तपाई अझै यतै हुनुन्छ ?” 

“ हजुर यतै छु” म भन्छु

“पुग्नुपर्ने कहाँ हो” उ सोध्छ 

“पुग्नुपर्ने कहाँ हो मलाई थाहा छैन तर म आज सिमपानीमा बस्न चाहन्छु, तपाई त?”

“म अझ पर...... पुग्न चाहन्छु । सायद माथीको भिउँ टावरसम्म..... मलाई भोलीको सुर्योदय कभर गर्नु छ ।”

“ओ नाइस.....” म भन्छु

“तपाईको नाम ?” उ अनायासै सोध्छ 

“म अपराजिता पोर्खेल”

“म सुन्दर राना, म टा«भल यजेन्सीको लागि फोटो खिच्छु, हिड्नु मेरो सोख र बाध्यता दुबै हो” उ भन्छ ।

“कस्तो रमाइलो काम । म सौखिन यात्री हुँ । काम भन्दा तपाइलाई हाँसो उठ्ला म एकाउन्टेट हुँ । तर मैले अहिलेसम्म जीवनका डेबिड र के्रडिटहरु मिलाउँन सकेकी छैन । जीवनको म एक असफल एकाउन्टेट हो ।।।”

उ हाँस्छ मात्र ........म पनि हासिँदिन्छु

सायद एकाउन्टेन्ट र फोटोग्राफर बिच.... गफका मध्यबिन्दुहरु अति नै कम हुन्छन् । त्यसपछि ऊ केही बोल्दैन मलाई थप बोलुबोलु लाग्दालाग्दै पनि.... थप केही भन्न सक्दिन । उ गुनगुनादै हिड्छ, म उसकै लयमा हिड्छु । अब हामी दोबाटोमा आइपुगेका छौ ऊ भन्छ “म अब राइट ति जानुपर्छ, हस्” “म बाइ भन्दै यात्रा सुन्दर बनोस् भन्छु ।”

उ अब फेरी एक छायाँ बनेको छ । सायद उ मेरो स्मृतिमा पनि एक छाया बन्नेछ । मलाई कताकता लाग्यो उसलाई मैले भन्नुपर्ने थियो म एक चित्रकार पनि हुँ भनेर । तब हामी थप गफ गर्न सक्थेउँ । हामीसँग गफ गर्नका लागि प्रकाश र रंगहरु हुनेथिएँ । तर किनकिन म आफूलाई एक चित्रकारको रुपमा चिनाउँन सक्दिन, म लजाउँछु । एकाउन्टेनको रुपमा परिचय दिनु एक रुखो परिचय दिनु हो । मलाई सधै लाग्छ म एकाउन्टेन झै रुखो कदापी छैन ।

अब थोरै तल झर्नुपर्ने छ साझको ४ बज्न लागेको छ । केटाकेटीहरु स्कुलबाट फर्कने समय भएको छ । मलाई स्कुले केटाकेटी देखेपछि आफ्नै याद आउँछ । त्यो स्कुले केटी जो अरुझै ठूलो मानिस बन्न चाहन्थी जो कहिल्यै बनिन् । जसले चित्र कोर्न पनि अंगारका ठुटाहरुसँग सिकेकी थिइ । जो सँग अब रंग र क्यानभाष त छ तर चित्रझै लाग्ने स्वप्निल संसारको परिकल्पना छैन । उ जस्तो बन्न चाहन्थी त्यो बनिन ् । मलाई आफ्ना सपनाहरु देखेर माया लाग्छ । मलाई आफ्नो उमेर देखेर माया लाग्छ ।

साँझको पाँच बज्दै छ । सूर्य अस्ताउँन लाग्दैछ । म मेरो बास बस्ने लजमा लाइपुगेकी छु । “फेरी एक्लै” दिदिले मलाई देख्नेबित्तिकै भन्नुहुन्छ । “बाच्नुपर्ने पनि त एक्लै हो” म हाँस्दै भन्छु । दिदि केही भन्नुहुन्न । म त्यो पहिलोपटक पुगेको गाउँ होइन । मलाई त्यहाँ गए घुम्नु पनि छैन । म त्यसै त्यहा पुगेकी छु ... बिनाउद्घेश्य । सायद जीवनबाट बिरक्तिएर । म एक्लै पाउँना घरको कोठाबाट चियाउँछु पर.......। आफ्नै जीवनलाई पर क्षितिजबाट हेरेझै लाग्छ ।

आज जे जे महशुस गर्दै छु मैले काटेका चाँैतिस बसन्तको उपज हो । आज मेरो जन्मदिन हो । म एक्लै जन्मदिन मनाउँदैछु । सायद बिसको उमेरमा म यहाँ आएकी भए म आफ्ना केही साथी बोकेर आउँथे होला । अथवा अनुभूतिमा कोही अर्को प्रेमिल ब्यक्ति ठोक्किन्थ्यो होला । तर अहिले म चाहेर पनि त्यस्तो महसुस गर्न चाहन्न । म सँग केही त्यस्ता कठोर अनुभूतिका कथा छन् जसले मलाई सजिलै पगाल्दैनन् । म आफैसँगको अन्तरक्रियामा तरल बनेर पोखिदैछु । सायद यो अब बाच्ने थप चाँैतिस बर्षको लागि सञ्चय गनुपर्ने केही अनुभूतिका दुरीहरु हुन् । म आफ्नै लागि आफ्नै लगावबाट पर भाग्न केही दुरीहरु खोज्दैछु । के यो सम्भव छ ?



म लजको माथिल्लो तलाबाट पर सेताम्मै भएर निस्किएका बादलहरुलाई हेरीरहेछु । उनीहरुको उडानले मलाई लोभ्याउँदैछ । चाहेर पनि किन म उड्न सक्दिन । सपनामै सहि म उड्न चाहन्छु । मलाई उड्नेहरु देखेर सधै लोभ लाग्छ । 

किन बारम्बार आफैलाई भनिरहेछु आज तेरो जन्मदिन हो केटी तँ खुसी हुनुपर्छ । तर किन किन जन्मदिनमा पनि म दुखी छु । यो दुखी हुनुपर्ने दिन होइन । हुन त जन्मिनुमा मेरो कुनै योगदान छैन । जन्मेको मै खुसी हुनुपर्ने कुनै कारण पनि छैन । तर म आफूलै आफैलाई आजबाट चौँतिसको मान्न तयार छैन । मलाई हरेक जन्मदिन पश्चात आफ्नो उमेरमा थप्नुपर्ने अर्को थप अंकले सधै पिरोल्छ । हिजोसम्म तेत्तिसको म आज एकाएक कसरी चौत्तिसको हुनसक्छु । मलाई अंकहरुको यो खेल देखेर रिस उठ्छ ।

लजको  दिदी खाना खान बोलाउनुहुन्छ । म तल झर्छु । थालको एक छेउ राखीएको रायोको सागले मन खुसी हुन्छ । दिदीलाई थाहा छ मलाई रायोको साग मनपर्छ । आज जन्मदिन भएको कारण भन्दा पनि रायोको साग खान पाएको कारण म खुसी छु । दिदि भन्नुहुन्छ, “यो बर्खामासमा किन आयौ ? मलाई लागको थियो तिमी दशै पछि आउँछ्यौ” । “त्यसै दिदी” म भन्छु । म भन्न सक्दिन जन्मदिन भएर, बिरक्तिएर वा आफैसँग भाग्न । 

हुन त म दशैपछि आएको भए पनि हुन्थ्यो । तर दशैपछि आमालाई लाग्छ छोरी केही दिन भएपनि आफैँसँग बसोस् । आमा हुनुको खुसी र पिडा अर्कै छ । म लहडीझै घुमेकोमा आमा सधै पिरलो गर्नुहुन्छ । उहाँलाई लाग्छ छोरी भनेको अडिग हुनुपर्छ लहडी होइन । आमाको अगाडी म आफ्नो अहडीपन लुकाउँन पनि त सक्दिन । 

लजको झ्यालबाट पर हेर्दै एक तमासले आफैँमा हराइरहेछु । बेलुकिको नौ बजेको छ । एक्कासी आमाको फोन आउँछ । आमा सोध्नुहुन्छ, “खाना खाइस्” । संसारमा कसैले खाएको र नखाएकोमा चिन्ता गर्छ भने त्यो आमाले मात्र गर्छ । के गर्दैछस् म पढ्दैछु भन्छु । आज पनि आमा सबैभन्दा खुसी मैले पढ्दैछु भन्दा हुनुहुन्छ । उहाँले आज मेरो जन्मदिन हो भन्ने भुल्नुभयो । मलाई सम्झाउँन लाज लाग्यो । ................ यतिकैमा हाम्रो फोन संवाद टुङ्गियो ।

थाहा छैन यो चौँतिसौ जन्मदिन मनाउँने ठिक तरिका हो वा होइन । लहडिएर एक्लै यात्रामा निस्किएको छु ।  बाटामा रुख, बादल र नदिहरुले साथ दिएका छन् । उनीहरुसँगको संवाद मलाई सधै प्रिय लाग्छ । हुन त मैले एक अन्जान फोटोग्राफरलाई पनि भेटेँ । तर ऊ मलाई रुखो लाग्यो । चाहेको भए ऊ मसँग केही बेर बोल्न सक्थयो । तर ठिकै छ बाटामा भेटिनेहरुसँग यो भन्दा बढी आशा राख्नु सायद ठिक होइन ।

यो मेरो सिमपानीको पहिलो बसाई होइन । यो लजमा मेरो पहिलो रात पनि होइन । एक खाले अपनत्वको कारण म बिना संकोच बहकिन सक्छु यो ठाउँमा । बिहानै बिहानै दुध चियाको चुस्कि लगाउँछु ।  भ्यू टावरसम्म एकछिन हिडौँकी भन्ने  लाग्छ । दिदीलाई भन्छु,, “ दिदी माथी सम्म पुगेर आउँछु लन्चलाई केही ढिला होला ।” 

बिस्तारै उकालो लाग्छु । गाउँलेहरु आफ्नै सुरमा बिहानी धन्दामा मस्त छन् । बर्खामासमा गाउँमा फूर्सदिलाहरु भ्ोट्न मुस्किल छ । बाटो चिप्लो छ । बाटाबाटामा बर्खे मुलहरु पलाएका छन् । जता हेर्यो त्यतै खोलानालाहरु गर्जिएका छन् । बाटाभरी खोलानालाको आवाज मात्र गुन्जिन्छ । करिब एक घण्टाको हिडाइपछि  भ्यूउ टावर पुग्छु । दशैताका आएको भए भ्यूउ टावर वरपर मान्छेहरुको भिड हुनेथियो । तर आज सुनसान छ । बिस्तारै माथि उक्लिन्छु । पर कोही भएजस्तो लाग्छ । एक्कासी उही फोटोगार्फर देख्छु जोसँग हिजो म छुट्टिएको थिएँ । हुन त उसले बिहानको सूर्योदय कभर गर्छु भनेको पनि त थियो ।  तर मैले सोचेको थिइन ऊ त्यहाँ हुनेछ । 

“ओहो हाम्रो भेट फेरी भयो है” मलाई देख्नेबित्तिकै ऊ भन्छ । 

“सायद फेरी भेट हुन लेखेको रैछ तर हिजो तपाई अर्कै बाटो लागेपछि मलाई लागेको थियो हाम्रो भेट हुनेछैन ।” उ हाँस्दै हो है भन्छ र आफ्नै लेन्सहरुमा मस्त हुन थाल्छ । 

“यहाँ तपाईको पहिलोपटक हो ?” मलाई फेरी उ सँग बोल्न मन लाग्छ । “होइन नि, तपाईको ?” मेरो पनि होइन म भन्छु । यो बर्खामासमा सूर्योदय कभर गर्न आउँनु मलाई अचम्मको काम लाग्छ । कताकता लाग्छ सायद ऊ पनि म जस्तै बादल प्रेमी हो । त्यतिबेला ऊ बादलकै फोटो खिच्दै रहेछ ।

उ आफ्नै लेन्सहरुमा मस्त छ । म आफ्नै अनुभूतीहरु सँग । ऊ सँग सम्वादको लागि क्यामरा छ । म सँग आफ्नै अनुभूतिहरु मात्र छन् । यो भ्युउ टावरमा मेरो पाँचौ पटक हो । तर हरेक पटक जब म यहाँ उक्लिन्छु मैले आफूलाई आफैँ त्यही पाउँदिन । देख्नेहरुको लागि म उहि हुँ । उही जागिर, डेबिड र क्रेडिटको अत्यासलाग्दो दैनिकी । उहीँ रंग , उहीँ क्यानभाष र उही कुचिहरु । तर अब मैले कोर्नुपर्ने जीवनको चित्र उही हुनेछैन । अब मैले आफ्नै चित्र कोरेँ भनेपनि मैले कोर्ने आकारहरु केही स्पष्ट हुनेछन् । सायद मैले आफैँलाई ब्याख्या गर्ने गरेको रातो रंग केही कम हुनेछ । यो अनौठो अनुभूती हो । 

उ आफ्नो ध्यान क्यामराबाट हटाउँदै भन्छ, “एउटा प्रश्न सोधौ हैै” , “सोध्नुस् न” म हाँस्दै भन्छु । “एउटा एकाउन्टेन्ट कसरी घुम्ने लतमा फस्यो म अन्योलमा छु ।” 

“अन्योलमा हुनु ठिकै हो तर सबै एकाउन्टेन्ट नम्बरको खेलमा मात्र रमाउँछन् भन्ने कुरा आजबाट तपाईले बिर्सनुपर्छ । म अंकहरुको खेलमा रमाउँन नसकेको एकाउन्टेन्ट हुँ । खासमा म आफूलाई चित्रकारको रुपमा बढी पाउँछु तर बिडम्बना सुरुमै चित्रकार हुँ भनेर भन्न धकाउँछु ।” 

उ हाँस्दै भन्छ , “आजबाट त्यो धक हटाउँनुपर्यो । सेम इज अ ब्याड थिङ, यूउ नो ।” म उसको कुरामा सहमती जनाउँछु । 

उ भन्छ, “हिजो नै तपाईले आफूलाई चित्रकार भनेको भए, थाहा छ,  म तपाईसँग केही समय थप बिताउँनेथिएँ । मलाई लाग्यो म नम्वरमा कमजोर छु हाम्रा संवादका बिषयहरु मिल्दैनन् ।” 

म भन्छु, “चित्रकार र एकाउन्टेन्ट हुनु भनेको एक अनौठो बिरोधाभाष हो । त्यसलेै अरुलाई बुझ्न सजिलो हुन्छ कि भनेर म उकाउन्टेन्ट मात्र भनिदिन्छु ।”

उ मैले भनको कुरामा सहमति जनाउँछ र आफ्नै धुनमा मस्त हुन थाल्छ । मलाई लाग्छ केही सोधु उस्लाई । तर फेरी लाग्छ ...... नसोधु । पर आकाशमा एक बादलको मुस्लो घुमिरहेछ । टावरबाट तल देखिने बजार छेकिएको छ । नजिकैका फाँटहरुमा  धान हरियो भैसकेको छ । जताततै हरियाली छ । यो दृष्य मेरो लागि नौलो होइन । म यस्तै गाँउघरमा हुर्केकी हुँ । तर पनि आज मन बहकाउँन आफ्नो झै लाग्ने परको गाउँ आइपुगेकी छु । कहिलेकाही परिचितहरुको भिडले म निस्सासिन्छु । लाग्छ कसैले नचिन्ने बनिदिउँ । त्यही खोजिमा म यहाँ आइपुगेकी छु ।  तिस बसन्तहरुले मलाई आफैलाई बुझ्ने कुनै अर्को आयाम दिन सकेनन् । आज म त्यसैको खोजीमा छु । 

फोटोगार्फर आफ्नै क्यामरामा मस्त छ । अब म उसँग थप सम्बादको आबस्यकता देख्दिन । मलाई संवादका लागि मात्र गरिने संवादहरुले त्यति लोभ्याउँदैनन् । मानिससँग संवादमा रहनु एक सुन्दर भ्रम मात्र हो । म उस्लाई बाई भन्न सक्थे । तर भनिराख्न जरुरी ठानिन । सायद.... अब जरुरीकै लागि गर्नैपर्ने केही छैन जीवनमा । म जीवनको एक मध्य बिन्दुमा छु । पार गरेको आधा यात्राबारे म गुनासो गर्न सक्दिन ................

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...