Saturday, July 4, 2026

बिन्दुहरु

 

आज दिनभर पानी पर्यो । दिनभरका निराश आँखाहरुलाई मैले पनि पानीले पखालेँ । सायद भोली बिहानै चराहरु अझ लामो उडानमा लाग्नेछन् । आकाश सफा छ । पत्रझै केही लेख्नु छ । अब त लाग्छ म तिमीलाई चिठीहरुमा मात्र भेट्नेछु । हुनसक्छ तिमीले पत्रको बदलामा पत्र पनि पठाउँनेछैनौ । तर यो मेरो लागि केही होइन । मेरा लागि नसुनिनु एक सामान्य अनुभुती मात्र हो । मलाई लाग्छ मैले आफैँलाई प्रेम गर्न थालेँ भने पनि एक मनले अर्को मनलाई सुन्न छाड्नेछ । हो मलाई कुनै बिन्दुझै नदेखिनुमा पनि कुनै गुनासो रहनेछैन । 

प्रिय तिमी,

जे छ टुक्राटुक्रामा छ भनेर कुनै दिन तिमी हराएका थियौ । मलाई लााग्यो कुनै दिन अचानक तिमी फर्कनेछौ । मैले दिनहरु गनिन मलाई थाहा छ मैले दिनहरु गन्न थालेँ भने म निस्सासिनेछु । तिमी हराए पछि नै हो तिम्रो नाममा बत्ति बाले । तिम्रो जन्मदिनमा मन्दिर गएँ र तिम्रा लागि केही मागेँ । ठिक त्यही दिन तिम्रा लागि चिठिझैँ केही लेखेँ । तर मनले हुलाकसम्म जा पनि भनेन । थाहा थियो मेरा लागि चिठिको बदलामा चिठि कहिल्यै फर्कनेछैन भन्ने । ठिक अर्को हप्ता मेरो जन्म दिन थियो मलाई लाग्यो कोही त हुनेछ जसले मेरा लागि केही माग्नेछ । तर खोइ कि अब आशाहरु बाकी छैनन् । त्यसैले आफ्ना लागि आफैँले बत्ति बाले । मन्दिर गएँ । र आफ्नै लागि चिठिझैँ केही लेखेँ ।

जहाँ छौ र जस्तो अवस्थामा छौ खुसी रहनु । अब भनिरहन केही बाकी छैन । कुनै बिन्दुझै मेरो उपस्थितिलाई केही नठान्दा पनि केही लाग्नेछैन । थाहा छ तिमीले भनेझै जे छ टुक्राटुक्रामा छ । मलाई लाग्छ मेरा लागि तिमी खुसीको साम्राज्य बनेर फर्कनेपनि छैनौ । केही थियो जसले हामी भेटाएको थियो । त्यस्तै केही छ जसले जाने स्वतन्त्रता पनि दिएको छ । जाँदै गर्दा मेरा शब्दहरुले सान्नाटा मात्र बोलेँ । थाहा छैन पहिलेझै म पानीमा कहिले भिज्नेछु र आफैँलाई सम्झेर केही मुस्कुराउँनेछु ।

तर म यो भन्न पनि चाहन्न । आशा छ कोही त होला जसलाई लाग्ला हिड्नु भन्दा अडिनु ठिक । जुन तिमीलाई लागेन । मैले आफैँलाई सम्झेर कयौ पानाहरुमा कथाझै केही लेखेँ । र थाहा पाएँ म जे रहेछु आफ्नोमात्र रहेछु । सायद कसैको नहुनु आफ्नो हुनु हो । केही बर्ष अघि इमरोजले बिदा लिएँ । त्यसको केही बर्ष अघि अमृताले बिदा लिइन् । इमरोज प्रेमी थिएँ प्रेमको बदला प्रेम खोजेनन् । अमृताले जीवनभरी जोसँग प्रेमको अपेक्षा र साथ खोजिन त्यो कहिल्यै भेटिनन् । सायद म त्यही अमृता हुँ जसले जीवनभर कसैलाई खोज्यो तर कहिल्यै भेटेन । सायद मेरो इमरोज पनि कतै रंगमा आफ्नो कुचि डोब्दै होला ।

यो चिठि म तिमीलाई नलेख्न पनि सक्थे । नपठाउँन पनि सक्थेँ । तर किन किन मनले भन्यो अन्तिम पटक मनले जे भन्छ त्यो लेख । मलाई केही भन्नु थियो जसलाई मैले बर्षौबर्ष सँगालेकी थिएँ । सायद दुई बिन्दुबिच जे थियो त्यो अदेख्य थियो । सायल त्यो यही थियो । म तिमीलाई प्रेम गर्थेँ  र आज पनि गर्छु । सायद गरिरहनेछु । तर तिम्रो प्रेमको आशा अब रहेन । म जे छु यीनै अदेख्य बिन्दहरु बिच कतै अडिएकी छु । छु पनि छैन पनि । सायद यीनै शब्दहरुमा छु र यीनै शब्दहरुमा अन्त्य हुनेछु ।

यो झिनोपन र एक्लोपनले मलाई साहस दिन्छ । यसैले बाधेको छ भन्दा पनि फरक पर्दैन । तिमीलाई माया गरिरहनु पनि यही हो । अरु कसैलाई माया गरिरहनु पनि यही हो । सायद म आफ्नो झिनोपनलाई कतै लुकाएर अरु कसैमा आफ्नो प्रतिबिम्ब हेरिरहन सक्नेछु । हुनसक्छ कुनै दिन यो चिठीले मलाई कोही भेटाउँने छ । वा कुनै दिन कुनै यात्रामा म आफैँलाई भेटेकोमा खुसी हुनेछु ।

मैले जे रोजेँ गहिराइमा मात्र रोजेँ । तिमी पनि जे थियौ गहिरो थियौ । हुनसक्छ तिमीले मलाई गहिरेर कहिल्यै हेरेनौ । खुसीका पहाडहरु तिम्रा बनुन । कुनै दिन बाटो म झै कोही देख्यौ भने फर्केर हेर्नु । जे छ गहिरो छ जे छैन त्यो पनि गहिरो नै छ ।

No comments:

Post a Comment

एक मानिस एक कथा

  “यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ–...