Monday, July 6, 2026

सहर ः एक मौनता एक कोलाहल


यो सहर कसको हो ? सबैलाई लाग्ला यो सहर मेरो हो । वा कसैलाई लाग्ला यो सहर मेरो होइन । तर कहिलेकाही लाग्छ कसरी यो सहर कसैको बन्न सक्छ । हरेक बिहान कुनै दौड प्रतियाृगितामा प्रथम हुनेझै , पाइला चाल्ने मानिसहरु । बिहानै माइक्रोबसमा स्कुले पोसाकमा कोचिएर यात्रा गर्ने केटाकेटीहरु । ग्राहकको प्रतिक्षामा सडक छेउ सस्ता कपडा बेच्न हिडेका ब्यापारीहरु । के यो सहरले उनीहरुलाई चिन्छ  ? चिन्दैन भने किन बर्षौ देखी सहर उनीहरुको पनि हो झै गर्दैछन् ।

करिब दुई महिना अघि सहरले साना नानीहरुलाई चिनेन । हातमा किताब बोकेर आफ्नै घर भत्किएको देखेको सानो नानीले भोली सहरलाई आफ्नो भन्छ वा भन्दैन । बर्षौ देखि बसिरहेको घर र जमिन तेरो होइन भनेर लखेटिएका मानिसहरुले भोली सहरलाई कसरी लिनेछन् । कपडा बेच्ने, सडकछेउ चुरोट बेच्ने, ठेलामा तरकारी बेच्ने, सडक छेउ जुत्ता मर्मत गर्ने मानिसहरु सायद सहरका होइनन् । यस्तो लाग्छ सहरले सुकिला सट र हिलो नभएका जुत्तालाई मात्र चिन्छ । हिजो सडकमा ओर्लेर बषौबर्ष यो सहर मेरो मात्र हो भनेर दावी गर्नेको बिरोध गर्नेहरुलाई छ महिनामा लाग्यो सहर सुकिलाको मात्र हो । गरिब हुनु, फोहोरी देखिनु, जग्गाजमिन नहुनु सहरको हुनु होइन ।

आज घण्टाघर अगाडी यस्तो लाग्दैछ यो सहर कसैको होइन । करिब उन्नाइस बर्ष अघि म पनि कुनै सुदुर गाउँबाट सहर छिरेकी थिएँ । बिहानै हालखबर सोध्ने र मुस्कुराउँने मानिसहरु नभेटेर एक दुई दिन दुख पनि लागेको थियो । तर लाग्यो बिस्तारै सहर मेरो पनि हुनेछ । हुन त गाउँ पनि कहाँ आफ्नो थियो र । सायद बाआमा भैन्जेल गाउँ आफ्नो हुनेछ । कहिलेकाही त लाग्छ सहर रित्तो छ । जे छ बनावटी छ । जे छ अपुरो छ ।

हरेक दिन घण्टाघरअघि मानिसहरु यसरी मानिसहरु यसरी दौडिन्छ लाग्छ उनीहरुलाई कहि पुग्नुछ । के लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ ? यो कोलाहलमा म मानिसका पाइलाहरु मात्र भेट्छु । थाहा छैन यो एकतमासको दौडाइले मानिसलाई के दिएको छ । किन मानिसहरु फर्केर हेर्दैनन् । के हेर्नेहरु अल्छि हुन् म जस्तै ।

हरेक दिन यीनै सहरका कोलाहलका डायरीहरु म आफ्नो डायरीमा लेख्छु । यो कोलाहल बिच पनि जब घर फर्कन्छु मलाई मेरै सान्नाटाले छोट्दैन । कुनै मसानघाटझै म मेरो रित्तोपनमा म आफ्नै मृत्यूको उत्सव मनाउँछु । यो सहरमा प्रत्येक दिन कसैले डायरीमा मात्र लेख्यो भने पनि त्यो कुनै रित्तोपनको घोषणापत्र हुनेछ । यो सहरमा जे छ रित्तो छ ।

प्रत्येक दिन जब म आफ्नो डायरी पल्टाउँछु कुनै मसानघाटझै आफूलाई भेट्छु । त्यहा जलाउँनका लागि केही थान अक्षरहरु बाहेक अरु केही रहदैनन् । यो उत्सव होइन । यो बिरक्ति हो । मेरो ओछ्यानमा हरेक रात त्यही एक थान बिरक्ति र सान्नाटाले बास बस्छ । हो यो सहर यस्तै नै हो । सहर रुखो छ । सहर सामन्ति छ । र कुरुप छ । यदी मैले यो समयमा कुनै कविता लेखेँ भने पनि गिन्सबर्गका कविताजस्तै हुनेछ । यो सहर गरिबदेखी डराउँछ । मजदुरको आवाजलाई दवाउँछ र हरेक बिलबोडमा मल्टिमिलिनियरको फोटो टास्छ । 

यो सहर मेरो होइन भनेर जान्दाजान्दै पनि म यो सहरको भएको छ । यो घिनलाग्दो र अस्लिल दुबै छ । तर यो सहर हो यसले पर जा भन्दा पनि भाग्न सकिँदैन । सहर चिहाउँन सजिलो छ । सहरको नाममा दुई चार गालि दिन सजिलो छ तर सहरलाई छोड्न सजिलो छैन । सधैँ कुरुप लाग्ने यो सहर पनि जब पुस्तकपसल भित्र पस्छ, वा चिया पसलभित्र पस्छ वा कुनै पुस्ताकलभित्र पस्छ सुन्दर झै लाग्छ । 

यो सहरको कोलाहलभित्र मेरा अक्षरहरुले पनि कोलाहलनै बोल्छन् । यो बिरक्ती हो । हो यसले कुनै अर्थ राख्दैन । हरेक डायरीमा म यही कुरा दोहोर्याउँछु यो पनि सत्य हो । तर सहर गरिवको होइन यो भन्दा सत्य अरु केही छैन ।

No comments:

Post a Comment

एक मानिस एक कथा

  “यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ–...