बिहानीले हरेक दिन मलाई चिहाउँछ र भन्छ उठ् केटी घाम लागिसक्यो । सायद आमाले जस्तै । बिरत्तिएरीएर केही आशुका ठिकाहरु झारेर सुतेकी म बिहान निराश भैरहन सक्दिन । आदि भ्याएको किताब । चियाका कप । मैला कपडा । हिजो राती नमाजेका भाडाकुडा सबैले नचाहेरै पनि उठाउँछन् ।
हिजो रातभर झरी पर्यो । आफैँभित्रका बादलहरु बर्षा बनेर मेरा आँखाबाट तल झरेँ । मैले आफैँलाई दुई चार थप्पड पनि लगाएँ । निद्राले नआउँने जिकिर गर्यो । मैले धम्कि दिएरै भए पनि बोलाएँ । रातहरुभर अनेकौ सपनाहरुले छोडेनन् । केही अत्यासलाग्दा सपनाहरु मेरो रातका साक्षि बनेँ । बिहानीले पनि मलाई चाडै बोलाएन । लाग्यो होला यो निराश छ सुतोस् ।
आजकल मलाई सहरले पनि तर्साउँछ । कुनै जलेको मानिसको खरानीको उत्सव मनाएझै लाग्छ । अब मानिसले आफूँले आफैँलाई जलाउनु पनि सामान्य भैसक्यो । जलाएको भोलीपल्ट पनि तपाईलाई मानिसहरुले कायर नै भनिदिन सक्नेछन् । कसैले घर जलाएँ । कसैले देश जलाएँ । कसैले आफैँलाई जलाएँ । लाग्छ, यो देशमा केही बाकी छ त जल्नेहरुको खरानी मात्र बाकी छ ।
गत महिनासम्म केही सपना बाकी थियो । केही आशा । म अब आशाबाट बिरक्तिको बाटोमा हिडिरहेकी छु । कसैले मलाई मायाले के छ भनेर साधिदियो भने पनि रोइदिन सक्नेछु । लाग्छ सुनिदिने कोही होस् । जे हुन्छ राम्रो हुन्छ भनिदिने कोही होस् । चाहेको पनि यतिमात्र छु । देश जलेको देखिन्छ मन जलेको कहाँ देखिन्छ र ।
लाग्छ यो शहरको हरेक कुनामा म जस्तै एक हरेक साझ बिरक्तिएर आशु झार्छ । जब मानिससँग उज्यालो बाटो रहँदैन उसको लागि बाच्नु सजिलो छैन । मसँग अक्षर छन् सजिलो छ । बिना अक्षर म पनि कुनै दोबाटोमा बहकिन सक्ने थिएँ । बिहानी मात्र छ जसले बाँच भन्छ । साँझले सधैँ निराशानै बोकेर आउँछ ।
अब त फूल फुलेको । घाम लागेको । चराहरु उडेकोले पनि केही लाग्न छोडिसेको छ । एक बिरक्तिएको मानिसले रोज्ने बाटो भनेको अक्षरको बाटो मात्र हो । अक्षर सजिलो बाटो बनेर आउँदैन । मेरा लागि पनि अक्षरको बाटो सजिलो थिएन । आज पनि मैले लेखेकोकोमा खुसी हुने म मात्र हुँ । आमालाई लाग्छ लेख्न भन्दा कोही खोजेर कसैको भएको भए ठिक हुने थियो । म इतिहास देखिनै कसेको हुनुपर्ने बोझले थिचिएकी छु ।
यी अक्षरहरु अरुझै नहुनुका निशानीहरु हुन् । अरुझै भैदिएको भएँ सायद मेरा अक्षरहरु भान्छाघर भएर निस्कने थिएँ । हुनसक्छ मैले जे रोजेँ त्यो अचल्तीको बाटो थियो । एउटा पारिवारिक मिथकको अन्त्य । त्यो अन्त्यले मलाई कठोर त बनायो तर मै टुक्रिएको बेला भरोसाको कमि पनि सधैँ रहिरह्यो । सायद बिहानीले त्यही भरोसा बोक्छ र मलाई बोलाउँछ ।
आज पनि बिहानीले मलाई सबेरै बोलायो उठ् केटी तेरो उठ्ने बेला भयो भन्यो । आदी भ्याएको किताब । किबोडमा आदी बाकी रहेका अक्षरहरु । आदी झरेको आशु । सायद केही अधुरो थियो र म उठेँ । सायद सबै सजिलो भएको भए यी अक्षरहरु यसरी निस्कन पनि सक्दैनथैँ । सायद अक्षरहरु सधैँ कठिन बाटो बनेर आउँछन् ।
यो आजको बिहानी हो । सायद भोलीको बिहानी पनि यस्तै हुनेछ । तर मलाई आशा रात हिजोको जस्तै निराश नहोस् ।
No comments:
Post a Comment