डिएर इला,
हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि एक्ला छौ । परिवार नभएर पनि एक्ला छौ । प्रेममा भएर पनि एक्ला छौ । प्रेममा नभएर पनि एक्ला छौ । सायद तिमीलाई लाग्ला परिवार भएर पनि एक्लोझै महशुस गर्ने तिमी मात्र हौ । तर मलाई लाग्छ सबै महिलाहरु इतिहासदेखि नै एक्ला छन् र थिए । हामी त्यही एक्लोपनको निरन्तरता मात्र हो ।
मलाई कहिलेकाही लाग्छ म कसैलाई प्रेम गर्छु । तर सधैँ होइन । तर मैले प्रेमको प्रतिउत्तरमा प्रेम खोज्न बर्षौ अघि छोडसकेकी हुँ । मलाई लाग्छ मैले चाहेजस्तो प्रेम मैले आफूँले आफैँलाई मात्र दिन सक्छु । त्यसैले कथा लेख्छु । कथामा मेरा पात्रहरुले मैलेझै प्रेम गर्छन् तर उनीहरु पनि एक्ला छन् । सायद म झै । सायद तिमीले पनि आफ्नो लोग्ने बाट चाहेझै प्रेम भेटिनौ । सायद पुरुषहरु प्रेम गर्न जान्दैनन् । उनीहरुलाई लाग्ला एउटै ओछ्यानमा बर्षौबषै सँगै सुत्नु प्रेम हो । तर सँगै सुतेर पनि बर्षौबर्ष अपरिचित बनेर बाच्नु त्यो भन्दा अप्रेम के होला र । त्यसैले तिमीलाई लाग्यो बिना छोएर, पनि बिना देखेर पनि कसैलाई प्रेम गर्न सकिन्छ । जो सँगै सुतेको मानिसभन्दा सपनामा अझ प्रेमिल भेटिन्छ । सायद त्यसैले तिम्रो लोग्नेको सट्टा अजिजलाई रोज्यौ । संसारमा केही चिज कम भएर पनि पूर्ण नभएर पनि रोज्न सकिन्छ । तर मलाई लाग्छ प्रेममा कसैले आधा प्रेम नभेटोस् । मलाई लाग्छ मैले पनि सधै आधा प्रेम भेटेँ । आफ्नो भनेर भन्न पनि नमिल्ने । तर सधैँ लाग्ने उ आफ्नो नै हो । त्यसपछि मलाई लाग्न थाल्यो पुरुषहरु प्रेम गर्न जन्मिएका होइनन् । केही छन् जो जान्दछन् जो थोरै छन् । उनीहरुको लागि ओछ्याननै प्रेम हो । हामीलाई सधैँ लाग्छ ओछ्यान मात्र कसरी प्रेम हुन सक्छ । डिएर इला, म कामना गर्छु तिम्रो जीवनमा आधा प्रेम अब नभेटियोस् ।
जीवन दुख हो । यहाँ अप्राप्ती छ । पिडा छ । जे छ आधा आधा छ । तर प्रेममा आधा प्रेम भेट्नु दुखद् हो । मलाई लाग्दैन तिम्रो भागमा आधा प्रेम मात्र छ । यो पर देशबाट तिम्रा लागि सुभेच्छ्या पढाउनेको चाहना हो । एक्लोपनलाई महशुस गर्नु, अप्रेमलाई महशुस गर्नु आफूजस्तो अर्को मानिसले त्यो नभोगोस् भन्ने पनि हो । आफूले आफैँलाई प्रेम गर्न सिकाउँ । आधा प्रेम गर्ने पुरुषबाट टाढा हौ । जो म आफैँ सकिरहेको छैन ।
डिएर इला, यीनै दुर्भाग्यहरु शब्द बनेर आउँछन् । सबै मैले चाहेझै पाएको भए सायद म कहिल्यै लेख्ने थिइन । अप्राप्ति र अप्रेमले मलाई शब्दहरु दियो । सायद केही सुन्दर चिजहरु अप्ठ्यारा बाटा बनेर आउँछन् । मेरा लागि शब्द त्यही बाटो हो । तिमीझै म पनि एक्लो छु । तिम्रो जीवनमाझै कोही अजिज मेरो जीवनमा पनि आइदियोस् भन्ने नलाग्ने होइन । तर मलाई आधा प्रेम देखी डर लाग्छ । आफ्नो भन्न नमिल्ने तर सधैँ आफ्नो झै लाग्ने । मलाई लाग्छ धेरै पुरुषहरु प्रेम गर्न सक्दैनन् ।
No comments:
Post a Comment