बिहानै उठ्नु । उही जुठा भाडा । उही नमिलेको ओछ्यान । उही घाम । उही फुलहरु र चराहरु । उही रित्तिएका चियाका कपहरु । उही हिडनुपर्ने समय । उही सडक र उस्तै मानिसहरु । उही गाडीका आवाजहरु । उस्तै कोलाहल । उस्तै सान्नाटा ।
म केही हुनु र नहुनुलाई यीनै दैनिक घिसिपिटिहरुमा दाँजेर हेर्छु । कहिलेकाही केही भएझै लाग्छ । जस्तो कि आज । कहिलेकाही केही नभएझै लाग्छ । जस्तो कि हिजो । कहिलेकाही केही भएर पनि नभएझै लाग्छ । जस्तो कि अहिले । म हरेक दिन केही हुनु र नहुनुलाई आफैँसँग दाजेर हेर्छु ।
कहिलेकाही भन्छु केही भएन । फेरी कहिलेकाही भन्छु केही नभएर पनि केही त भएको छ नि । जस्तो कि अहिले । केही नभएर पनि मेरा औलाहरु कि प्याड थिचिरहेछन् र केही लेखिरहेछन् । सायद आफैँलाई अर्काइभ गरिरहेछन् । यसलाई म केही नभएको कसरी मान्नु । बर्षौ देखी केही नहुनुलाई साक्षी राखेर म केही हुनुझै ठानेर केही लेखिरहेछु ।
प्रिय डायरी ,
यो कुनै डायरी थियो । सायद यस्तै कुनै दिनको । सायद म अब केही हुनु र नहुनुलाई निरपेक्ष भएर हेर्न थालीसकेकी छु । केही नभएर नै त हो हरेक दिन म किबोड केही भएझै बनाउँछु । मलाई केही भएझै लागेको भए म केही नभएझै लाग्ने कथाहरु लेखेर किन बस्ने थिएँ ।
हिजो कसैले भन्यो जे हुन्छ राम्रो हुन्छ । अब त म हुनुको अस्तित्वलाई पनि अस्विकार गर्न थालिसकेकी छु । केही छ केही छैन । अब म यसरी नै निस्सार भएर आदी जीवन बिताइदिन पनि सक्नेछु । अब त लाग्छ सारमा केही छैन । सब बेअर्थ छ । बेअर्थ छ र त केही हुनु र नहुनु बिच अर्थ खोजिरहेछु ।
खानु, बस्नु हिड्नुमा अर्थ खोज्ने हो भने सबै अर्थपूर्ण नै छ । हरेक पल हरेक क्षण । तर दैनिकी सबैको हुन्छ । दैनिकीलाई कसरी केही हुनु ठान्नु । मलाई त लाग्छ म हरेक दिन जे लेखेझै गर्छु त्यो पनि केही होइन । सायद म केही खोजिरेहछु र पाइरहेको छैन । पाएको दिन म केही नपाएझै महसुस गर्न पनि सक्नेछु । सायद यो पर्खाइ हो । केही हुनुको पर्खाइ । केही नहुनुको पर्खाइ ।
हिजो राती लाग्यो मलाई जीवन भनेकै केही नहुनु हो ठानेर मैले आफैँलाई आठ बजे नै मृत घोषणा गरिदिएँ । फेरी आज बिहान केही भएझै ठानेर यी औलाहरु केही लेखिरहेछु । के लेख्छु त्यो मलाई पनि थाहा छैन । हरेक अन्तिम वाक्य अघि म यति उत्साहित रहन्छु कि – मेरा औलाहरु अर्को कस्तो वाक्य बनाउने छ भनेर । सायद त्यसैले केही हुनु र नहुनु बिचको अर्थ खोज्न केही लेखिरहेछु । वा लेखेझै गरीरहेछु ।
सानो हुँदा ममि भन्नुहुन्थ्यो अक्षर भनेका नदि हुन् यीनले तिमीलाई पर लग्नेछन् । अब मलाई अक्षरले कतै पर पुर्याउनेछ भन्नेमा पनि आशा छैन । सायद त्यो आमाको बिम्बको यात्रा थियो । सायद मेरो पोल्टामा केही भएझै मानेर आमाले दिएको बिम्ब सायद स्वतन्त्रताको रुपमा मेरो जीवनमा भित्रियो । त्यो बाहेक अक्षरले मलाई कहि पुर्याउँछ भन्नेमा अब मलाई कुनै आशा छैन । मलाई लाग्छ मेरो भागमा केही हुनु भनेको मेरा औलाहरुले किबोड थिच्नु मात्र हो ।
प्रिय डायरी, तिमीलाई लाग्ला म निराश छु । तर होइन म यस्तै नै थिएँ छु र हुनेछु । मैले जीवनभर केही हुनु र नहुनुबिच अर्थ मात्र खोजिरहेँ । सायद म भित्र यही कोलाहल सधैँ बाच्नेछ ।
No comments:
Post a Comment