के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छैन तर बिना कुनै अभिब्यक्ति बाच्न पनि त गाह्रो छ ।
इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन । उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे । तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।
प्रिय स्परेन्जा, सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।
तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छु वा छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई यही भन्नेछु ।
तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ वा छैन ।
२०२५–८– २२
आज फेरी सपनामा तिमीलाई देखेँ । तिमीलाई देख्नु नौलो होइन तर तिमीलाई देखेको दिन म सधै दुखी हुन्छु । आफ्नो भुगोलले पोल्छ । आफ्नो वरीपरीको समाजले पनि पोल्छ । तँ केही होइनस् र थिइनस् भनेर छोडीजानेको बचनले पनि पोल्छ । कथा बनेर गएको उसले अमिलो बर्हिगमनले पनि पोल्छ ।
दिनभर पानि पर्यो । खोइ किन यो मुसलधारे पानीले म भित्रको आगोेलाई सान्त पार्न सकेन । बादलझै उड्न मन लाग्यो । कहिलेकाही त बादल होइन बतासनै भैदिउँ झै पनि लाग्छ । क्रोध छ । बर्षौदेखी खोइ कता गुम्सिएर बसेको छ । तिमीझै म पनि आफ्नो नाम आफैँ बनाउँन चाहन्थेँ । तिमीलाई झै मलाई पनि त धेरैले यस्ती छ कस्ताले लैजाले भने । कसेले नलग्ने हुनु अथवा मानिस नै भएर पनि बजारझै बिक्री हुँदिस् भनिदिनुको क्रोध त छ नि । त्यही बजार झै नहुनुको बिम्बमा तिमीझै म पनि अटाउँछु । खोइ किन जहाँ छु त्यहाँ म छैन भन्ने पनि लाग्छ । अटाउदिन भन्ने पनि लाग्छ ।
कहिलेकाही त लाग्छ नि कति लुकेर बाच्नु । कति पात्र भएर आफैँलाई आख्यानझै हेर्नु । मलाई त आज पनि लाग्छ म मानिस कम र पात्र बढी हुँ । कहिलेकाही लाग्दैन किन मानकहरु हाम्रा लागि मात्र अड्चन बने । के हामी बनिबनाएका मानक बिनाका केही होइनौ र ? प्रश्न त सधैँ गर्छ नि मनले । चिच्याएर हिड्न पो सकिँदैन ।
म कथाको खोल ओडेर अक्षरमा झै स्वपनिल बनिरहन सक्दिन । प्रिय स्परेन्जा, किन हामीलाई मान्छेझे गर्दैन समाज । नअट्नुको पिडा त हुन्छ नि । कहिलेकाही तिमीलाई झै मलाई पनि मानिसहरु भनिदिन्छन् – तिम्रा कथाहरुले तिमीलाई पर लग्नेछ । तर मान्छेझै बाच्ननै नदिइकन पर लग्नुको के महत्व । कहिलेकाही त मलाई म जे थिएँ त्यो सबै च्यातिदिउँ जस्तो लाग्छ । यो झरीमा झरीझै लेखेका शब्दहरुमा मानिसहरु सुन्दरता देख्छन् । मलाई सुन्दर भन्ने शब्द नै मन पर्दैन । सक्थे भने त म शब्दकोशबाट नै त्यो शब्द च्यातिदिने थिएँ ।
यो चिच्याहटमा यी शब्दहरु कोरीरहेछु । यो कुनै बिद्रुप चित्र हो । म भित्र आगो छ थाहा छैन कुनै दिन त्यही आगोले म जल्न पनि सक्छु । जले भने मसँगै मेरा कथाका पाण्डुल्पििहरु पनिजल्नेछन् । तर म नरहेपछि मेरा कथाहरुको के महत्व ?बाज्न नदिने यो संसारभित्र बाचेझै गरेर लेखेका यी शब्दहरुको के महत्व ?
No comments:
Post a Comment