Monday, August 11, 2025

शहर : एक अनुभूती

 

दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर आफ्नै लयमा घुमिरहेको छ । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो ।

 हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । वा पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ ।

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । 

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । 

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । 

हामीले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछन् । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमृत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...