प्रिय तिमी,
सधैझै आज पनि तिम्रो चिठीको पर्खाइमा थिएँ । लागेको थियो तिमीले चिठीमा अघिल्ला दिनहरुझै केही उज्याला हरफहरु आउँनेछन् । तर तिमीले झरीझे रुझाउँने कही शब्दहरु पठायौ । तर पनि स्विकार्नु बाहेक अरु कुनै बिकल्प रहनेछैन । सायद शब्द मार्फत सुरु भएको तिम्रो र मेरो शब्दनै बनेर टुङ्गिनेछन् ।
आज त्यताझै यता पनि पानी पर्यो । मैले पनि आफ्ना आशुहरु झरीको पानीसँगै बगाए । तिम्रा शब्दहरु फेरी पढेँ । सोचे पनि तिमीले किन यस्तो लेख्यौ । तिमीझै म पनि जीवनको गुलाबी उमेरमा कहाँ छु र ! र पनि तिमीलाई शब्दमा मात्र ब्यक्त हुँला झै लाग्दैन । सायद हामीले भोगेको र बुझेको जीवन फरक छ । मैले नदी र हिमाल मात्र बुझेकी हुँला । म भित्र पनि बासना होला, जो अझै अतृप्त पनि हुनसक्छ तथापी मैले बासनालाई बासनानै ठानेर अझै सम्बोधन गरेकी छैन । जुन कुरा तिमीले गर्यो त्यो मेरो लागि एक अपरिचित भूमी मात्र हो । म चाहेर पनि बुझ्न सक्दिन ।
सायद शरीरलाई नै बुझ्नको लागि पनि अर्को शरीरसँग सामिप्यता चाहिन्छ । मेरो शरीरले आजसम्म आफूलाई बाहेक कसैलाई छोएको छैन । मलाई लाग्छ मैले आफैँलाई पनि बुझेकी छैन । आफ्नो शरीरलाई पनि बुझेकी छैन ।
तिमीले सजिलै भनिदियौ प्रेम अनन्त हो बास्ना केबल अन्त्य हो । मैले यस्तो कुरा पनि पहिलोपटक सुनेकी हु । थाहा छैन म तिमीलाई के भनेर बुझु । एक पुरुष जो सँग बास्ना मात्र छ । एक पुरुष जसले सत्य बोल्ने साहस राख्छ । सायद तिमी यी दुबैको समिश्रण हौ । थाहा छ सत्य बोल्न सजिलो छैन अझ त्यस्तो सत्य जसले तिमीलाई पोल्न सक्छ । तिमीलाई जे लाग्यो त्यो बोल्यौ त्यसमा म खुसी छु । र खुसी रहिरहनेछु । जे छौ त्यो बोल्नु ठूलो कुरा हो । सायद म चाहेर पनि तिमीले बोल्ने कुरा बोलन सक्दिन । सायद छोरीमान्छे हुनुको लज्जा मसँग सधैँ रहिरहनेछ । सायद म मानिस होइन छोरीमान्छे मात्र भएर मात्र बाच्नेछु । तिमीले माफी माग्नुपर्ने वा मैले माफी दिनुपर्ने मलाई जरुरी लागेन । तिमीलाई जे लाग्यो त्यो शब्दमार्फत पोख्यौ त्यसैमा म खुसी छु ।
थाहा छैन हाम्रो सम्बन्धको अन्त्य कसरी हुनेछ । जसरी भए पनि तिमी मेरो सधैँ प्रिय रहिरहेछौ ।
उही
तिमीलाई चिठी लेख्ने मान्छे
No comments:
Post a Comment