कक्षाकोठा र परिक्षा हलमा बाहेक निबन्धका प्रकार यसको शिल्पको बिषयमा बिरलै छलफल हुने गर्छ । बिधागत रुपमा अल्लि रुखो जस्तो लाग्ने निबन्धको आफ्नै खासियत र बिशेषता बारे मोहन मैनालीको पछिल्लो अनुवादकृति आकाशमुखीले नेपाली पाठकहरुलाई अल्लि नजिकबाट हेर्ने सुअबसर दिएको छ । अनुवाद आफैमा सहज काम पक्कै होइन । स्रोत भाषाबाट लक्षित भाषाको यात्रा अनुवाद यात्रा हा े। अनुवाद यात्रा एक कठोर शाहसिक यात्रा हो, यात्राका आफ्नै कठिनाहरु सधै हुने गर्छन् । तर मोहन मैनालीको गरेको यो अनुवाद यात्रा एक पाठकको दृष्टिमा मनमोहक र साहसिक दुवै लाग्छ ।
अमेरिकी लेखक एडवार्ड होगल्यान्डले आफ्नो निबन्ध, “ह्वाट आइ थिङ्क, ह्वाट आइ एम” मा भनेका छन्, बैयक्तिक निबन्ध त मान्छेको सुमधुर बोली जस्तो हो, यसले मानिसको विचारको प्राकृतिक लयलाई लिपिबद्घ गर्छ र यसलाई छोटा कथाहरु भन्दा बिक्रि गर्न कता हो कता सहज हुन्छ ।” उनले अभिब्यक्तिले निबन्धको शक्ति र यसको बृहततालाई जनाउँछ । तर सामान्यतया निबन्धको ब्यापकता र यसको शक्तिबारे हामी कम जानकार हौ कि भन्ने सधै महसुस हुन्छ । एकेडेमिया बाहेक निबन्ध लेखन र पठनमा नेपाली साहित्य जगत अल्लि पछाडी हो की भन्ने प्रश्नको उत्तर अब यस पुस्तकले अबस्य दिनेछ ।
बिभिन्न समयका निबन्ध लेखनमा सिद्घहस्त दस लेखकका दस निबन्धले जीवन, जगत, शिक्षा, पढन र लेखनबारे आ–आफ्नै दृष्टिकोणहरु ब्यक्त गर्छन् । फान्सिस बेकन देखि लिएर अल्दस हक्स्ले सम्म आइपुग्दा पुस्तकले हामीलाई करिब चार सय बर्षको यात्रा गराउँछ । रेनेसाबाट सुरु भएको यात्रा हक्स्ले सम्म आइपुग्दा हामी उत्तर–औपनिवेशमा प्रवेश गर्दछौ । पुस्तकले हामीलाई बिभिन्न समयका निबन्ध लेखनका विषय र शिल्प मात्र नभएर फरक समयका विचारसँग पनि परिचिति गराउँछ ।
जसले नयाँ विचारमा विस्वास गर्छ उसलाई रेनेसा म्यान वा उमन भन्ने गरिन्छ । रेनेसालाई कला, संस्कृति र साहित्यको उर्वर समयमात्र नभएर आधुनितकता पहिलो खुट्किलो पनि मानिन्छ । त्यहि समयका रेनेसा म्यान बेकनको निबन्धले पढाईको बिरोधाभाषलाई नेपाली पाठकमाझ पत्रपत्र केल्याइदिन्छ । बेकन भन्छन्, “ पढाइमा अति धेरै समय बिनाउनु भनेको अल्छि हुनु हो । पढाईलाई आभूषणको रुपमा अति धेरै उपयोग गर्नु भनेको ढोङ हो । किताबी ज्ञानको भरमा मात्रै कुनै कुराको विवेचना गर्नु विद्वताको उपहास हो ।” भर्खरै प्रिन्टिक प्रेसको अबिस्कार भएर पढ्ने लेख्ने संस्कृतिको बिकास भएको समयमा उनले दिएको अभिब्यक्ति पक्कै पनि सर्वमान्य थिएन । उनको निबन्धमा त उनकै अभिब्यक्ति बिच पनि बिरोधाभाष भेटिन्छ । उनी भन्छन्, “कुनै कुराको महत्व नबुझी अर्काको खण्डन र बिरोध गर्ने उद्वेश्य लिएर नपढ । अन्धधुन्ध बिश्वास गर्न पनि नपढ । कुरा गर्न र बहस गर्ने मसला पाउँने उद्वेश्य लिएर पनि नपढ । आफ्नो रुचिको बिषयको समिक्षा गर्न र त्यसलाई विचार गर्नका लागि पढ ।” कसरी पढ्ने र किन पढ्ने जस्ता अमूत प्रश्नको उत्तर दिने उक्त निबन्धको अनुवादले करिब चार सय अघिको विचार आज पनि किन सान्र्दभिक भयो भन्ने उत्सुतालाई अझ बढाउने काम गर्छ ।
हजार दुईहजार शब्दका निबन्धलाई लामो निबन्ध ठान्ने हामी नेपालीलाई पुस्तकमा अनुदित भर्जिनिया उल्फको निवन्ध “ अ रुम अफ वान्स ओन” ले अर्को झड्का दिन्छ । उल्फको अंग्रेजी निबन्धलाई नेपालीमा अनुवाद गर्न खोज्नु आफैँमा एक दुष्साहस हो । एउटा भाषाको उच्चतम प्रयोगलाई अर्को भाषामा रुपान्तरण गर्न सहज पक्कै थिएन । तर मैनालीले त्यो असहजतालाई सहजतामा बदलेका छन् । पाठकको रुपमा उनको यो काम अझ धेरै प्रशम्सनीय लाग्छ । तथापी निबन्ध भित्रका कतिपय कविताको अनुवाद पठ्दा सुन्दर भन्दा पनि अल्लि अमिल्दो महसुस हुन्छ । कविताको नेपालीकरणमा लेखक चुकेजस्तो लाग्छ ।
के पढ्ने कसरी पढ्नेवारे यदाकदा छलफल भए पनि लेखाइबारे कम नै छलफल भएका छन् । पुस्तकमा समेटिएको बेन जोनसोनको निबन्धले लेखाइबारेका धेरै भर्महरुलाई तोडिदिन्छ । लेख्न किन पढ्नुपर्छ र कसरी लेख्नुपर्छ भन्नेकुरालाई निबन्धले जोड दिन्छ । अग्रेजी कवि तथा नाटककार बेनजोनसनले यति सुन्दर, सरल र छोटो निबन्ध करिब पाँच बर्ष अघि लेखेका रहेछन् भन्नेकुराले म जस्ता धेरै पाठकलाई अचम्मित अवस्य बनाउँछ । तर उनको यो निबन्धलाई अनुवाद गरेर मोहन मैनालीले लेखक बन्ने सपना बोकेर हिडेका धेरैलाई मार्गदर्शन गर्न सहयोग गरेका छन् ।
पुस्तकको सबैभन्दा प्रभावशाली निबन्ध बुकर टि बाशिङ्टन को निबन्धलाई मान्न सकिन्छ । ब्यक्तिगत निबन्ध भएका कारणले पनि यसले धेरैलाई छुन्छ । पढ्नको लागि उनले गरको संघर्षले पढाइको महत्व र पढाई प्रतिको उनको लगावले निबन्ध अझ प्रेरणादायी बनेको छ । पढेर के नै हुन्छ र भनेर बुझ्ने अहिलेका पुस्ताका लागि यो निबन्ध अझ बढी सान्दर्भिक बन्नेछ ।
सर रिचर्ड लिभिङस्टोनको निबन्धले हामीलाई किन बढ्ने भन्ने कुरा सिकाउँछ । पढ्नु भनेको कक्षाकोठामा गएर केही सिक्नु र परिक्षामा पास हुनुभन्दा धेरै गहिरो र बृहत चिज हो भन्ने कुरा उनको निबन्धले भन्छ । उनी भन्छन्, “हामीले शिक्षाको वास्तविक लक्ष्य थाहा पाएर हाम्रो शिक्षालाई त्यहीअनुरुप हाँक्नुपर्छ ।” त्यसैगरी उनी थप्छन् शिक्षित ब्यक्तिले साहित्य, कला, बास्तुकला र सङ्गीत जस्ता मानव सिर्जनशिलतालाई राम्रोसँग बुझ्नुपर्छ ।
एक पूर्व सैनिकले पहाडहरु माथि गरेको रुमानी ब्याख्याले सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध “बहुमूल्य पर्वतराज कञ्चनजङ्घा” लाई अझ बिशेष बनाएको छ । उनको यो निबन्धले बर्णनान्मक निबन्धको शक्ति र शिल्यको मिठो यात्रा गराउँछ । निबन्ध पढ्दा यात्रा गरेझै लाग्छ । यो निबन्ध निबन्धकारले गराएको हिमाली यात्रा हो ।
जर्ज बर्नार्ड शअ बारे धेरै बोल्नु नर्पला तर उनको निबन्ध स्वतन्त्रताले मानव जीवनको अस्वतन्त्रता बारे खुलेर बोल्छ । उनी भन्छन् मानिस पूर्ण रुपमा स्वतन्त्र प्राणी होइन । पूर्ण स्वतन्त्र बन्न्न नसके पनि आशिंक रुपमा भनेपनि कसरी स्वतन्त्र बन्ने भन्नेबारे उनको निबन्धले खुलेर बोल्छ । अब कुरा गरौ जे.बी.एस हल्देनको र उनको निबन्धको । कक्षा ११ को अंग्रजी पुस्तकमा पनि समाबेश गरीएको उनको निबन्ध, “ यत्ति भए पुग्छ त” मेरो लागि सबैभन्दा परीचित निबन्ध हो । हामीले आफ्ना चाहनाहरुलाई कसरी सिमित गर्ने र जीवनमा आफ्ना रोजाइहरुलाई कसरी निर्देशित गर्ने भन्न्ो बारे यस निबन्धले राम्रो पाठ सिकाउँछ । मानवतावादी उनका विचारहरुले उनको निबन्धलाई थप बिशेष बनाएको छ ।
साइमन द मेस्थको निबन्धले बन्द कोठाभित्रको स्वतन्त्र बिचरणमा हामीलाई लग्छ । बन्द कोठाभित्रको त्यो स्वतन्त्र यात्राले हामीलाई एकान्तको बृहत्तर संसारमा पुर्याउँछ । “मनचिन्ते यात्रा” शिर्षक दिइएको उक्त निबन्धले हामीलाई विचार र दर्शनको गहिराइसम्म पुर्याउँछ । पुस्तकको अन्तिम अंशमा हामी छोटा र तर अझ शक्तिशाली निबन्धसँग साक्षात्कार हुन्छौ । निबन्धका प्रकारबारे अल्दस हस्लेको निबन्धले हामीलाई निबन्धलाई साहित्यको बिधाको रुपमा बुझ्न अझ् सहयोग गर्छ । साथै रिस्तो मनेस्कीको भर्याङको कथाले हामीलाई सर्वाहारा मजदूरको कथा भन्छ, त्यस्तो मजदूर जो अब मजदूर रहेन । कथाले पुस्तकको अन्त्यलाई सुन्दर बनाएको छ ।
निबन्धलाई हामी पढिहाल्ने बिधाको रुपमा बिरलै लिन्छौ । जति साहित्यका अरु बिधा बारे छलफल र बिमर्श हुन्छ निबन्धबारे बिरलै हुनेगर्छ । तर मोहन मैनालीद्वारा अनुदित यी निबन्धहरुले हामीलाई बिश्बपरिबेशका विविध प्रकारका निबन्धसँग साक्षात्कार गराउँछ । पुस्तकको आकार सानो भए पनि आख्यान झै एक बसाइमा पढ्न सक्ने वा पढ्ने पुस्तक यो पक्कै होइन । र पनि अनुवादकको रुपमा मोहन मैनालीको उपस्थितिलाई पुस्तकले दरो बनाएको छ । कमजोरी बिहिन अनुवादको कल्पना गर्नु आफैमा एक स्वप्न चित्र हो । चाहेर पनि एक भाषाको कृति उही रुपमा अर्को भाषामा प्रस्तुत गर्न सम्भव छैन र पनि मैनालीको काम प्रशंसायोग्य छ । साञ्चै भन्दा यो पुस्तक बान्कि बान्किका निबन्धको नेपाली यात्रा हो । यो करिब चार सय बर्षलाई बुझ्न सकिने विचार र दर्शनको लयबद्घ यात्रा हो ।
No comments:
Post a Comment