एक यात्रा । एक मानिस । एक जोर पाइलाहरु । पाइलालाई पछ्याएका एक जोर छाँयाहरु । यात्रा न हो । हरेक दिन यात्रीभmै महशुस हुन्छ । पाइलाहरु बेगर पनि हृदय हो , यात्रा गर्छ । मनको यात्रा न हो । यात्राका पाबन्धीहरु छैनन् । सिमानाहरु छैनन् । गन्तब्य छैन । परिधिहरु छैन । एक त्यस्तो यात्रा जहाँ म छु र मेरो मन छ । मन न हो यात्रा गर्छ ।
जानु छ पर कतै । कति पर – थाहा छैन । कहाँ– त्यो पनि थाहा छैन । किन– त्यो पनि थाहा छैन । तर जानु छ कहि । आफैँसँग पर जहाँ आफ्ना पदचापहरुले आफैँलाई नचिनुन् । म को हुँ ? को थिएँ ? मेरा माता पिता को हुन् ? त्यसले कुनै अर्थ नराखोस् । त्यस्तो यात्रा जहाँ म अपरिचितहरुमाझ अपरिचित नै बनिदिउँ । म बेखबर सडकमा बरालिन सकुँ । अपरिचितमाझ बेप्रवाह खुल्न सकुँ । पानीझै परपर बग्न सकुँ ।
पर......कति पर । के दुरीहरुलाई नाप्न सकिन्छ । म त चाहेर नै दुरीहरु बनाउँन चाहन्छु । त्यस्तो यात्रामा जान चाहन्छु जहाँ म आफैँले आफैँलाई चिन्न नसकुँ । यो सपना थियो र रहिरहनेछ । म दुरीहरुमा जिउँन चाहन्छु । सबै चिज केही परबाट नै सुन्दर देखिन्छन् । जस्तो कि चित्र । जस्तोकी तिमी । जस्तो कि म । यो सपनाको अर्काइभ हो । थाहा छैन कुनै दिन म त्यस्तो ठाउँमा पुगेँ पनि लेख्ने छु वा छैन । वा म त्यो सपनाको स्ांसारमै रुमलिनेछु । वा मस्तले मेरा सपनाहरुलाई लिपिबद्ध गर्नेछु । थाहा छैन के गर्नेछु ।
बषौदेखी त्यही सपना बोकेर हिडिरहेछु । कहिलेकाही आफ्नै घरले पोल्छ । आफ्नै ओछ्यान पनि कठोर लाग्न थाल्छ । एक पन्छिझै उड्ने सपना हो यो । मेरो डायरी र मेरा किताबहरुले मलाई साथ दिनेछन् । म जो थिएँ र जो हुँ त्यो हुन चाहन्न । कथाहरुले पनि कहिलेकाही आफैँलाई गिज्याएझै लाग्छ । पाइलाहरुले बिना पावन्दीको यात्रा नगरेको धेरै भयो । म कुनै अन्जान सडकमा बसेर लेख्न चाहन्छु । कुनै अन्जानसँग कफि पिउँन चाहन्छु । कुनै अन्जान झरीमा रुझ्न चाहन्छु । म जो छु र जो थिएँ त्यो हुन चाहन्न ।
कहिलेकाही आफ्ना परिधिहरुहरुमा आफैँ निस्सासिए झै लाग्छ । र त्यस्तो धेरै पटक भएको छ । म रुखझै जे छु र जे थिएँ त्यसैमा रमाउँन सक्दिन । कहि कतै मातेर बरालिन मन छ । मेरो बाटोले मलाई बरालिने स्वतन्त्रता दिँदैन । आफैँ बनेर कुनै सडकमा बहकिन दिँदैन । तर मन हो बरालिन चाहन्छ । मातिन चाहन्छ । मलाई आफू मातेको हेर्न मन छ ।
यो लेख्न थालेको पनि धेरै भयो । तर मन न हो दोहोर्याउन चाहन्छ । कहि पर जान चाहन्छ । अन्जान सडकलाई अनुभूती गर्न चाहन्छ । घरले कहिले पनि तानेन । यो गुड छोड्न चाहनेको कथा हो । थाहा छैन छोडेपछि मनले फेरी फर्क भन्न चाहन्छ वा चाहन्न । यस्तै केही अन्जान सपनाहरु बोकेर हिड्न थालेको पनि बर्षौ भएछ । थाहा छैन किन नदीझै बग्नुको बिम्ब सधैँ सुन्दर लाग्छ । मलाई बग्नु छ ।
यो अन्जान हावाझै बहकिने सपनाहरु बोकेर बाचेका बर्षहरु गन्छु । गन्ति न हो । अंकहरुलाई जोड्न थालेँ भने म निस्सासिन्छु । तर निसास्सिनुले कुनै अर्थ राख्दैन । आज पनि म त्यसरीनै अन्जान सडकमा बहकिने सपना देख्छु । थाहा छैन यस्ता सपना बोकेर हिडिरहने कति छौ ।
कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही पर पुग्नुपर्ने हुन्छ । दुरीहरु दुरीहरु मात्र होइनन् आफैँलाई हेर्ने आँखिझ्यालहरु पनि हुन् । पर जानु छ । आफैँदेखी पर । घरदेखी पर । आफ्नै सिमानाहरु पर । गन्तब्य देखी पर । पर कतै क्षितिजमा । तर कति पर थाहा छैन ।
म यी सबै कुराहरु पानामा उर्ताछु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाधेर राख्दैन । मलाई उड्न दिन्छ आफ्नै सपनाको उडानमा ।
एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु । र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु । तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।
साथीहरु र छिमेकीहरुले भन्नेछन् के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापी सँगै गैइ ? किन ऊ यति पर गैइ ?
तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागी गएकीे हु । उनीहरुको लागी जसलाई मैले पछाडि छोडे । उनीहरुको लागी जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।
प्रिय स्परेन्जा,
यो कथा तिम्रो मात्र होइन मेरो पनि हो । थाहा छैन कहिले तर कुनै दिन म पनि आफ्ना कथा र डायरीहरु बाकेर पर कतै जानेछु । सायद तिम्रा झै मेरा छिमेकीहरुले पनि सोध्लान् उ किन गै । किन बिना लोग्ने एक्लै आफ्नो माटो छोडी । तर तिमीझै म पनि फर्कनकै लागि गएकी हुनेछु । यो पुगेर फर्कनुको चाहना हो बगेर अडिनुको होइन ।
No comments:
Post a Comment