Friday, August 15, 2025

रंग


निर्जला अधिकारी 

  किन किन उसलाई कविताहरु पनि उसले कोर्ने चित्रझै लाग्छ । उ भन्छ, “ कविताले नबोलीकनै धेरै कुरा बोलिदिन्छन् । मलाई कविहरु हल्ला गर्दै हिडेको मन पर्दैन । कविहरुको मौनताले ठूलो अर्थ राख्छ ।” उ चित्रकार हो तर कविता मनपराउँछ । म कवि हुँ तर मलाई चित्रहरु मनपर्छ । जसरी उ क्यानभाषमा रंगहरु पोत्छ यस्तो लाग्छ उ रंगहरुको क्रान्ती गर्दै छ ।

मलाई रंग मनपर्छ तर रंगसँग खेल्न सक्दिन । म हुर्कदै गर्दा म सँग रंग थिएन । मलाई रंग खेलाउनेहरु आँज पनि सम्पन्नताको उपजझै लाग्छ ।  उ महलमा जन्मेको होइन तर उ रंगसँग रमाउँछ । मलाई लाग्छ अक्षरहरुको सिमाना हुन्छ । रंगहरु सिमा बिहिन हुन्छन् । उसको अगाडी म आफूँलाई जहिले सिमित पाउँछु ।

कहिलेकाही लाग्छ हामी बिचको साथीत्व रंग र अक्षरले जुराएको  हो । उ चित्रकार नभएको भए वा म कवि नभएको भएँ हामी कहिल्यै साथी बन्ने थिएनौ । उ चित्र कोर्छ । म उसका चित्रलाई हेरेर कविता र्कोछु । र हामी चित्र र अक्षरको अनौठो कोलाज पस्कन्छौ । मलाई सधै लाग्छ उ हिमाल हो म नदि हुँ । उसका रंगहरु बेगर मेरा अक्षरहरु बग्दैनन् । हामी रंग र अक्षरका सिम्फोनीहरु हौँ ।

कहिलेकाही उ अनौठा रंगहरुले आफ्नो क्यानभाष पोतिदिन्छ अनि भन्छ, “ अब तिम्रो काम” । उसका रंगलाई जहिले अक्षरमा ब्यक्त गर्न सजिलो छैन । उ अमूर्ततामा अर्थ खोज्छ । म शब्दहरुले अर्मूतता ब्यक्त गर्न सक्दिन । शब्दमा सिमितता छ । किनकिन उ यो कुरा बुझ्न सक्दैन वा नबुझेझै गर्छ । उ भन्छ,” शब्दले अध्यारो बोल्न सक्नुपर्छ । ल हेरत, मेरो क्यानभाषमा रातो र कालो रंग बढी छ । अब तिमीले बिरोधलाई कवितामा ब्यक्त गर्नुपर्छ ।” म उसले भनेको कुरा बुझ्छु तर लेख्न सक्दिन । रंग र रेखाहरुझै शब्दहरु कहाँ प्रष्ट हुन्छन् र !

सायद मैले बिरोधको भाषा कहिल्यै बोलेकी छैन । आज रातभर मैले अध्यारा शब्दहरु लेख्नुपर्ने छ । उ ग्यालरी बाट घर फर्कन्छ । मेरो लागि त्यो सुबिधा आज छैन । म ग्यालरीमै बस्छु ।  अनौठो परिस्थितिमा भएझै लाग्छ । यतिका बर्षसम्म मैले शब्दले बिषमता र बिरोधलाई ब्यक्त गर्न नसक्नु कविको रुपमा मेरो आफ्नै कमजोरी हो । तर कवि यति धेरै यान्त्रिक पनि त बन्न सक्दैन । तर म उसलाई निराश बनाउँन चाहन्न । अर्को महिना हामी युरोप जाँदै छाँै । मेरा कविता बेगर हाम्रो यात्रा अधुरो बन्ने छ । म लेख्छु,, 

आज फेरी 

सेतो क्यानभाषमा 

मैले कालोे रंग पोतिलिएँ

थाहा छैन तिम्रा इन्द्रेणीहरुले 

कसरी हेर्नेछन् भोली 

सायद यो कठिन हुनेछ 

म फूल होइन मुस्कुराइरहन सकिँन ।


हरेकपटक 

तिम्रो इन्द्रेणी 

मेरो रहेन...

तिम्रो रंग

मेरो भएन....

तिम्रो परिभाषा

मेरो बनेन...

सायद तिमीजस्तो नहुनु

जीवनका थुप्रै क्यानभाषमा कालो पोत्नु रहेछ 

आज फेरी सेतो क्यानभाषमा 

मैले कालो रंग पोतिदिएँ ।

 रातीको दुई बजेको छ । बल्ल मैले आफ्नो भागको काम भ्याएको छु । थाहा छैन भोली उसले फेरी कस्तो रंग पोत्नेछ । मैले कस्ता शब्दहरु कोर्नुपर्नेछ । भोलीपल्ट बिहानै उ ग्यालरीमा फर्कन्छ र मेरा शब्दहरुमा आँखा लगाउँछ । बदलामा केही बोल्दैन । किनकिन उ मैले लेखेका शब्दहरुमा  टिप्पणी गर्दैन । बस उ पाठक मात्र भैदिन्छ ।

मलाई उसको यहि बानी मनपर्छ । उ शब्दबारे बोल्दैन  तर मनपराउँछ । उ शब्दलाई बिनामतलब मन पराइदिँन सक्छ । उ चित्रकार नहुन पनि सक्थ्यो । भएर पनि गुमनाम हुन सक्थयो । तर उ दुबै भएको छ र मसँग ठोक्किन पुगेको छ । वा म उसँग ठोक्किन पुगेकी छु । उ रंगसँगै अक्षरमा पनि  रमाउँछ । उसलाई कविहरु त्यसैले मनपर्छ । तर हामी बिच झिना मसिना गफ हुँदैनन् । उ बस् रंग पोत्छ र मलाई अक्षर कोर्ने काम दिएर गुमनाम भैदिन्छ । यतिका बर्ष सँगै काम गरेर पनि म उसलाई चिन्छु पनि चिन्दिन पनि । 

  कलाले मान्छेलाई बुझिदिँनु सजिलो छ  र छैन पनि । म उसलाई सम्पूर्णतामा बुझ्दिन । सायद म उसलाई कलालाई झै दुरीबाट मात्र हेर्छु । सायद उ पनि मलाई बुझ्दैेन । र परबाट नै मलाई बुझेझै गर्छ । तर हामी एक अर्काको रंग र अक्षरलाई बुझ्छौ । यो अनौठो बिरोधाभाष हो । तर मलाई यो बिरोधाभाष सुन्दर लाग्छ ।

मलाई लाग्छ उसँग कथाको भण्डार छ त्यसैले उ सजिलै रंगमा पोख्खिन सक्छ । उ रंगमा नाङ्गो भैदिन सक्छ । म अक्षरले नाङ्गो हुन सक्दिन । अक्षर र म बिच यदाकदा लाग्छ कोसौको दुरी छ । म सम्पूर्णतामा अक्षरमा पोख्खिन सक्दिन । यदाकदा लाग्छ म उ झै स्वच्छन्द बन्न सकुँ । तर सक्दिन । म आज पनि अक्षरमा पोखिन पनि लजाउँछ । तर म भन्दा ठिक बिपरित रंगले निबस्त्र भैदिन सक्छ ।

आज फेरी उसले बिनाअर्थका अनेकौ रंगहरु क्यानभाषमा पोतिदिएको छ । अब मैले त्यसैलाई हेरेर शब्दहरु कोर्नुपर्नेछ । तर आज मलाई एक खाले स्वतन्त्रता छ । म रंगले लगाउने अर्थले बाधिनुपर्ने छैन । सायद म सजिलै शब्दमा पोख्खिन सक्छु,

मूर्तता....

अमूर्तता...

किन कहिल्यै देख्दिन सग्लो छु

भन्नेहरुको सग्लोपन 

सुन्दर छु 

भन्नेहरुको सुन्दरता

पिएर बसेको पियक्कडझै

हरेक पटक....

किन अर्थहिन लाग्छन् सबै अर्थपूर्ण कुराहरु

र मात्र देख्छु पिकासोलेझै कोरको

जीवनका बाङ्गाटिङ्गा रेखाहरु

किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन् 

भन्नबाकी उत्तरजस्ता लाग्छन् 

किन कोही भन्दैनन् 

बुझ्नु नबुझ्नु हो भनेर...

मौनता आवाज हो भनेर...

आज किन सबै जटिल प्रश्नहरुजस्तो

सबै कुरा जटिल मात्र देख्दैछु ।

आज सजिलै आफ्नो काम भ्याएकी छु । उ मैले लेखेका शब्दहरु पढ्छ तर केही बोल्दैन । उसले मेरा कविताहरु बारे बोलेको मलाई थाहा छैन । तर पहिलोपटक उसका चित्रहरुमा कविता कोर्नको लागि आग्रह उसैले गरेको हो । तर उसले मलाई तिम्रा कविताहरुलाई मनपर्छ भनेको होइन । उसकै शब्दमा भन्दा उसले उसको कला यात्राका एक सारथी रोजेको हो । यो अचम्मको साथ हो । हामीलाई जोड्ने माध्यम कला मात्र हो । 

म कहिलेकाही निराश नभएकी पनि होइन । यतिका बर्षहरुमा उसलाई मननपराइकन बस्न सकेकी पनि होइन । मलाई कहिलेकाही लाग्छ उ कला बेगर अरु चिज बारे पनि बोलोस् । मसँग  कहिलेकाही ठट्टा गरोस् । हाँसोस् । तर उ अनौठो छ । उ ठट्टा पनि रंगमै गर्छ । मैले उ जिस्किएको कहिल्यै देखेको छैन । मलाई रंग बेगरको उ रुखो लाग्छ । यति रुखो मान्छे कलामा यति रसिक कसरी बन्न सक्छ जस्तो पनि लाग्छ । 

म उसलाई उसको कलाले मात्र अपनाउँन सक्दिन । म उसलाई सम्पूर्णतामा अपनाउँन चाहन्छु । तर हजारौका अध्यारा कथाहरुलाई बुझ्न सक्नेले मेरो मौनताको कथालाई कसरी बुझ्न सक्दैन । म शब्दमा यी कुराहरु भन्न सक्दिन । तर यो सम्बन्धलाई सहकार्यमात्र मानेर अघि बढ्न पनि सक्दिन ।

म  कवितामा यो कुरा भन्न सक्छु तर मलाई उसको प्रतिउत्तरको आशा छैन । म लेख्छु....

जीवनको रंग फिका फिका 

लाग्छ कहिलेकाही

लाग्छ भरिदिउँ तिम्रो रंग

भरिदिउँ मेरो रंग

बुझ्न ग्राहो छ 

बुझाउँन अझै ग्राहो 

सायद मैले गल्ति गरेँ

तिम्रो मौनताको जवाफ मौनतामै दिएँ 

सबै मौनता प्रिय नहुँदो रहेछ ‘

जस्तोकी सबै मौन रातहरु 

आज फेरी 

तिम्रा मौन गीतहरुमा 

मैले मौन सिम्फोनीहरु भरीदिएकी छु ।

  यति लेखीभ्याएर म ग्यालरीको नोटिसबोडमा टाँसिदिन्छु । उसले ग्यालरी छोडिसकेको छ । मन ठक्क फुल्छ । नटाँसौझै पनि हुन्छ । भोली उसले कसरी लिन्छ भन्ने सोच्दासोच्दै म अत्तालिन्छु । घर फर्कन्छु । निन्द्रा पर्दैन । 

  भोलीपल्ट ग्यालरी आउँछु । नोटिसबोडमा आफ्नो कविता भेट्दिन । उकुसमुकुस हुन्छ । हात काम्छ ...धेरै समयपछि  नोटिस बोडको तल किरिमिरी अक्षरमा एउटा कविताजस्तो केही भेट्छु ......

क्यानभाषको एउटा अंश

सधै छोडिदिन्छु

लाग्छ

बिना रंग रग्याउने कोही छ 

बिना रंग रंगिन बनाउँने कोही हुनु

सबथोक हुनु रहेछ

..............

आज केही नबोली 

सबैथोक बोलिदिएको छु......

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...