Thursday, August 14, 2025

कोलाहल


कहिलेकाही मानिसका पाइलाहरुका आवाजहरु पनि कर्कष लाग्छन् । जस्तो कि आज । आवाजहरुलाई छल्न बिहानै उठेको छु तर आवाजहरुले मलाई छोडेका छैनन् । बिहानै मानिसका पाइलाहरु सडकमा परिसकेका छन् । कुकुरहरु एक तमासले कराइरहेछन् । सायद चराहरुको चिरबिर पनि मानिसका पाइलाहरुसँगै मिसिएको छ । घाम अझै झुल्कन बाकी नै छ । फूलहरु फुलीसकेका छैनन् ।

यसरी बिहानीको साक्षी बन्नु बाध्यता र रोजाइ दुबै हो । मलाई अध्यारा बिहानीहरु ऋझै प्रिय लाग्छन् । जहाँ समयको साक्षी आफूमात्र भएझै लाग्छ । आफ्नै समयलाई जीएझै लाग्छ । जब घाम लाग्छ । जब फूल फुल्छ । जब नानीहरु उठ्छन् । जब नानीका आमाहरु भगवानका घरहरुमा मैनबत्ति जलाउँन थाल्छन् यस्तो लाग्छ म पनि त्यही आवाजको कोलाहल मात्र हु ।

पाइलाहरु कोलहलमा केही भिन्नता देख्दिन । हिड्नेहरुका पाइलाहरु केबल भिडका आवाजहरु मात्र हुन् । असन र इन्द्रचोकझै हरेक सडकले, बाटो र दोबाटोहरुले मानिसका पाइलाहरुलाई अपनाउँछ मात्र । मानिसहरुलाई हिडेपछि पुगिन्छ । मलाई हिड्नेहरु बिना उद्घेश्यमा बरालिएका आत्माहरु मात्र लाग्छ । हिड्दैमा कहाँ पुगिन्छ र ? पुग्नुलाई के ठान्ने गन्तब्य वा बिश्राम ? हिडेर कही पुगिने भए किन यी सधै हिड्छन् । के यी सडकमा हतारिदै हिड्नेहरु कही पुगेर फर्केका हुन् ?

कहिलेकाही पाइलाहर फगत पाइला मात्र लाग्छ । दिनदिन बाचेझै बाचिदिएको जस्तो मात्र लाग्छ । यी पाइलाका कोलाहलहरु बोकेर कहि एकान्तमा हिडिदिउँ जस्तो पनि लाग्छ । तर हिड्दैमा कहाँ सकिँदो रहेछ र आफूभित्रको कोलाहल ? हर दिन असन र इन्द्रचोकझै म पाइलाहरुका कोलाहलको साक्षी बन्छु । त्यहाँ हिड्दैमा नपुग्नुको पिडा छ । म पनि कुनै बाआमाको घर छोडेर हिडेकी थिएँ । पुगेको त कहिँ छैन । दुख पर्दा फर्किउ कि भन्ने गुड त आज पनि त्यही लाग्छ । 

यो चिया कप हातमा लिनु अघिको बिहानी हो । लाग्छ बिहानीको एकान्त मबाट कसैले नलुटोस् । गाडिको , मानिसको यो कोलाहलबाट आफ्नै कोलाहलमा आइपुग्न पनि बिहानी चाहिँदो रहेछ । हुन त म भित्र पनि कोलाहल मात्र छ । कहिलेकाही म आफ्नै कोलाहल आत्तिएर अर्को कोलाहलमा पुग्छु । 

बिहानै कोलाहललाई साक्षि राखेर त्यस्तो समयलाई कैद गरेकी छु जसले मलाई आफै बन्ने स्वतन्त्रता दिन्छ । कोलाहलकै कुरा गरे पनि यो मलाई मनपर्ने कोलाहल हो । आवाज कै खोजिमा त हरेक दिन म पाइलाहरु चाल्छु र चाल्नुको बेअर्थ बुझेर फर्कन्छु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...