Sunday, September 14, 2025

भाद्र २२– एक दिन, एक कथा, एक इतिहास

 

सामाजिक सञ्जाल बन्द भएको चार दिन भैसकेको थियो । अरु झै म पनि लागेको बानिबाट मूक्त हुन सकिरहेको थिइन । चार बजे उठ्नु मेरो दैनिकी हो । बिहानी कक्षा लिने भएकाले बिहानीलाई चाहेर पनि अल्झाउँन सक्दिन । थाहा थिएन दिनको अन्त्य कस्तो हुनेछ, लागेको थियो सुरुवातझैे ठिकै हुनेछ । खासै भन्दा मलाई नपो बेबी त्यो इन्स्टाग्राम अभियानको बारेमा पनि थाहा थिएन ।  म इन्टाग्राम थिइन । अर्को कुरा सामाजिक सञ्जाल बन्द भएको चार दिन भैसकेको थियो । दिन ठिकै हुने कामना सहित पढाउँन गए ।

जेन जी नै पुस्तालाई प्रतिनिधित्व गर्ने मेरा नानीहरुले मलाई आन्दोलनमा जाने होइन भनेर नसोधेका पनि होइनन् । कक्षामा केही गफ भएको पनि हो । केटाकेटीले आफू पनि जाने कुरा बताएका पनि हुन् । मलाई पनि म्याम जानुपर्छ भनेका पनि हुन् । करिब एघार बजे नानीहरुसँगै म पनि घरतिर आए । कंलकी चोकमा आउँदा कस्तो खाले आन्दोलन रहेछ भनेर जाउँ जाउँ जस्तो पनि लागेको हो । तर खाना नखाएकाले म घर नै फर्के । 

जब घर फर्के दिन आफूले सोचेझै भएन । टिकटक लाइभ हेर्नेहरुले ब्राह बजे नै भन्न थाले गोली चलिसक्यो । बिस्तारै गोलीको दर गोलिसँगै जानेहरुको दर बढ्न थाल्यो । अरु भन्दा पहिले मैले आफूले पढाउँने नानीहरुलाई नै सम्झे । मेरा लागि उनीहरु उन्नाइस बिसकै भए पनि केटाकेटी नै हुन् । अनौठो त्रासले छोड्न सकेन । म आज पनि  नानीहरुका ठलेका तस्विरहरु हेर्न सक्दिन । त्यो दिन आन्दोलनमा जान्छु भन्दा नजाउँ गए पनि आफूलाई जोगाउ भन्न नसकेकोमा पछुतो पनि महशुस गर्छु ।

मलाई परिवर्तन भन्दा गएका नानीका तस्विरहरुले आज पनि बढी पोल्छ । ति गोली हान्ने र हान भन्ने कस्ता होलान् भन्ने पनि लाग्छ । बेलुकी सम्म समय सोचेझै भएन । नानीहरुले उठाएको त्यो पाइला भ्रष्ट संरचाबिरुद्घको पाइला थियो । असहमत हुने कुनै कारण पनि थिएन । अरुझै सत्तासँग म पनि खुसी थिइन । तर जसरी नानिहरु गए त्यसलाई आज पनि म क्रान्ति भनेर भन्न सक्दिन । कहिलेकाही लाग्छ हामी मानिसको रुपमा, राज्यको रुपमा सबै सबै रुपमा असफलहरु हौँ । 

भोलीपल्ट  नानीहरुस्ाँगै  देश जल्यो । सायद प्रतिसोध थियो । भन्छन् नि रिसको बेला बेद पढिँदैन । सायद त्यस्तै भयो । तर जल्न त सबै चिज जल्यो । भोलीपल्ट आउँनमै पुलिसको जथ्था आयो मैले आफ्ना आशूहरुलाई रोक्न सकिँन । ६३ को जनआन्दोलनमा म नौमा पढ्थे । म पनि हिडेकी थिएँ । त्यसपछि अरुझै केही होला भन्ने आशा पनि थियो । केही नभएको पनि होइन । तर यसरी नानीहरु ठल्ने र देश जलेको कल्पना कहिल्यै गरेकी थिइन । ज–जसले सन्तान गुमाए । आफन्त गुमाए उनीहरुको लागि यो कालो दिन सधैँ भै रहनेछ ।

करिब एक हप्ता हुन लाग्यो, माफ गर्नुहोला तर म यसलाई क्रान्ति भन्न सकिरहेको छैन । आज हप्तादिन पछि घर छोडेँ । लाग्यो सहरले अझै हत्यालाई परिवर्तन भनेर अपनाइसकेको छैन । कहिलेकाही आफैँलाई फर्केर हेर्छु । राजा र एकतन्त्र केटाकेटी बेलादेखी अहिलेसम्म कहिल्यै मनपराउँन सकिँन । सत्ता र शक्तिको उन्माद पनि मनपरेन । तर सबले भनेको यो परिवर्तनलाई मैले अपनाउँन नसकेको कताकता ग्लानी पनि हुन्छ । यो धुरमुर बिच आफैँलाई कहिकतै उभ्याउँन खोज्छु तर सक्दिन ।


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...