रातभर पानी पर्यो । मस्तले निदाएँ । महिनौ थन्किएको सिरकले साथ दियो । राती ब्राह बजे झरीलाई एक टक हेरेँ । एक कप कालो कफी पिएँ । मानव कौलको किताब पतझडको केही पानहरु पढेँ । किताबको पात्र आफैँलाई बिर्सन कोपनहेगनमा रुमलिएको छ । उसको रुमलिनु लोभलाग्दो छ । उ बिएर पिउँछ । म चाहेर पनि कोठामा अरुले देख्ने गरी बिएरका बोतलहरु ल्याउँन सक्दिन । म बिएर साटो कफी पिइदिन्छु । तर मात्तिन मन मलाई पनि नलागेको होइन । किताबको मुडसँगै मस्त निदाइदिन्छु ।
बिहान उठ्दा पनि झरी त्यस्तै छ । मस्त झरी । झरीलाई एकलट हेरेपछि फेरी अर्को एक कप कफी पिउँछु । त्यही कालो कफी । उही किताब । किताबको पात्र आफ्नी श्रीमतीले एकाएक छोडेको बिक्षिप्त छ । मनलाई टहलाउँन कोपनहेगन पुगेको छ । मन त मेरो पनि बिक्षिप्त नै छ । तर कोपनहेगन जान सक्ने मेरो हैसिएत छैन । दुखी हुनलाई सजिलो छ झरीले साथ दिएको छ । झरीसँगै रोइदिन सक्छु । फेरी कफी छोडेर चिया पिउँछु । चियाले शान्ती दिन्छ । कफीझै चाहेको बेला छोड्न र फेरी सुरु गर्न म चियासँग सक्दिन । चिया मेरो पहिलो प्रेमी हो । उसलाई म सधैँ प्रेम गरीरहन सक्छु ।
बर्षौपछि ऋषवको फोन आउँछ । मलाई लागेको थिएन यत्रो समयपछि कोही अन्जानलेझै उसको फोनले मेरो ठेगाना खोज्नेछ । थाहा छ, करिब महिनादिन अघि उसको बिहे भयो । तर मन हो कताकता बिझेको थियो । किनकिन उसको बिहेको खबर थाहा पाएको दिन म खुसी हुन सकिन । मनमा कताकता चसक्क भयो । आँखाबाट आँशुझै केही बग्यो ।
एक मनले त भनेको थियो हाम्रो सम्बन्ध साथीबाट सुरु भएर साथी मै गएर अन्त्य भएको त हो । साथीभन्दा माथि कहिले पो उठ्यो र उसले साथी सम्झेर बोलाउँनेछ । तर उसले साथी नै सम्झे पनि म उसको बिहेमा जान सक्दिैनथेँ । उसको निमन्त्रणलाई मेरो मनले सजिलै स्विकार्न सक्दैन यो सत्य हो । तर मनले कताकता उसको निम्तो मागेको थियो । आएन गुनासो त छ । र सधैँ रहिरहनेछ । वा सधैँ एक मनमा बिझाउँने कारण बनिरहनेछ ।
उसलाई मैले टियूको घडिभवन अगाडी पहिलोपटक देखेको थिएँ । खोइ किन थाहा छैन तर पहिलोपटक देख्दा नै मलाई उ याद थियो । केही पछि क्लासमेट रहेछ भन्ने थाहा भयो । उ देब्रे पट्टिको लाइनमा बस्थ्यो म दाहिने । कहिलेकाही आँखा पनि जुध्ने गथ्र्यो । एक सेमिस्टर त्यसरीनै सिद्घियो । अर्को सेमिस्टरको पिकनिकपछि हामी साथी जस्ता भयौ । त्यो पटक हामी नगरकोट पिकनिक गएका थियौ । म पिकनिक जाने मूडमा थिइन तर उसकै कारण पिकनिक गएको थिएँ । पिकनिक गएको दिन पुसको चिसो दिन थियो । खोइ किन त्यो चिसो दिन पनि मलाई तातो लाग्यो । पिकनिक पछि अझ हामी नजिक भयौ । यस्तो नजिक जसलाई साथी मात्र भनेर भन्न गाह्रो थियो । सँगै नाटक हेर्न गएका, किताब मेलामा गएका दिनहरु आज पनि म सम्झन्छु ।
मलाई त्यो पिकनिक पछि सधैँ किन उ प्रेमी झै लाग्यो ? दिनदिनै आउँने उसका म्यासेजहरु किन प्रेमका म्यासेजझै लागे ? तर सत्य यहि हो उसले मलाई कहिल्यै प्रेम गर्छु भनेन । मैले बोरु दुईपटक भने । वा भनौ पटकपटक भनेँ ।
पहिलोपटक “ ऋषव, आइ थिङ्क आइ एम इन लभ विथ यू, आइ कान्ट थिङ्क यू वोन्ली फ्रेन्ड” । त्यो पनि कामेको श्वरमा डराइ डराइ । भनौ कि नभनौ भनी भनी । तर उसले हाँसेको इमोजी पठाएको थियो । र कहिल्यै साथी भन्दा माथी सोच्न नसक्ने बताएको थियो । त्यही भन्दा पनि मलाई किन लागिरह्यो उसले मलाई प्रेम गर्छ । तर उ मसँग साथी झै कहिलेकाही मात्र बोल्थेन । दिनौ किन उसको म्यासेज र फोन आउँथ्यो । किन राती ब्राह बजे आउँने उसको म्यासेजले मलाई बिउँझ्याउँथ्यो ? किन म उसको फोनको प्रतिक्षामा रहन्थेँ ? किन उ प्रेमीझैँ रिसाएर आफ्नो हक खोज्थ्यो ?
खोइ थाहा छैन, उसले के सोच्थ्यो । एउट क्लासमा पढ्ने हामी साथिहरुकै बिचमा पनि साथि मात्र जस्तो कहिल्यै लागेन । साँझको क्लास भ्याएपछि किन उ सधैँ मलाई पुर्याउँन आउथ्यो । सबैभन्दा पहिले किन उसको टमपेपर मेरो इनबक्समा आइपुग्थ्यो ? किन उ अरुका अगाडी मसँग कम र अरु नभएको बेला ज्यादा बोल्थ्यो ? यसरी छ बर्ष बिते । हामीले सँगै मास्टर्स भ्यायौ । उ सरकारी जागिरे भयो । म कलेज पठाउँन थाले । तर सम्बन्ध साथिको जस्तो मात्र कहिल्यै थिएन । मेरो मनले सधै उसलाई साथि भन्दा माथि सोच्यो । कहिलेकाही केही कुरा भन्छुनी नरिसाउ है भन्दा पनि मुटु ठुकठुक हन्थ्यो । उसले साथी मात्र हौ भन्यो तर किनकिन साथीमात्र जस्तो गरेन । पाँच बर्षपछि फेरी दोस्रोपटक मैले कामेको श्वरमा सोधेँ । उसले फेरी पनि साथीमात्र हौँ भन्यो । उसले सँगै म जस्तो छु र देखिन्छु उसको कपको कफि होइन भनेर पनि सजिलै भनिदियो । त्यो दिन र रात दुखद् थियो । त्यो दिन र रातभर झरी पर्यो । मैले मेरा आशुहरुलाई झरीस्ाँगै सजिलै लुकाइदिएँ । उसलाई धन्यवाद भने र पछिल्ला दिनहरुमा जसरी म मेरा साथीहरुसँग संवादमा रहन्छु त्यस्तै सम्वादमा उसँग पनि रहने बाचा आफैँसँग गरेँ । त्यो दिन सम्झदा आज पनि म आशू झार्छु ।
त्यसपछि म साथीझै मात्र भैदिएँ । पहिलेझै बोल्न चाहेर पनि बोलिन । म उसले चाहेको जस्तो मानिस होइन भनेपछि पनि सधैँ आफ्नोभैे ठानिराखेँ भने म आफैँ बिथोलिनुको बिकल्प थिएन । उसको बाटो उसको थियो । मेरो बाटो मेरो थियो । उसले त्यो भनेको रातभर भैले ह्यान क्यानको भेजिटेरिएन पढेँ । र झरी परेको रात उसकी पात्रसँगै राइदिएँ । सायद उ जस्तै मसँग अस्विकृति र अप्रेमको अर्को कथा थियो । असारको महिना थियो रातभर झरी रोकिएन । नरोकिएको झरीले रुने स्वतन्त्रता दियो ।
बर्षौसम्म साथीमात्र भनेर पनि साथीमात्र नरहेका हामी अन्तत कहि कतै भेट्दा हाइ हेल्लो भन्ने साथी मात्र बन्यौ । कोही अन्जानलाई बाटोमा भेट्दा जसरी मुस्कुराउँछौ त्यसरी मुस्कुरायौ । केही महिना अघि एक बिहान अचानक हामी साथीहरुको ह्वाट्स याप गुप्रमा म्यासेज आयो फोटोसहित । फोटो उसको इनगेजमेन्टको थियो । सबैले बधाइ दिएँ मैले पनि दिएँ । तर आशा थियो, छ बर्षको संगतको ,त्यही स्ांगतको नाता पनि उसको एक कल फोनको थियो । तर आएन ।
तर आज एकाबिहाने उसको फोन आएको छ । एक मन भन्छ नउठाउँ । अर्को मन भन्छ उठाउँ । मैले उसको फोन उठाएँ । कामेको श्वरमा मैले “हेल्लो” भने उसले “के छ ?” भन्यो । मैले ठिकै छ भने । किन बिहेमा बोलाएनौ भन्न मन लागेन । भनिन । उसले मेरो चिना पठाउँ भन्यो । मेले किन भने । तिम्रो लागि एउटा केटा ठिक हुन्छ कि भनेर उसले भन्यो । मैले थप बोल्न सकिन । कामेको श्वरमा म बिहे गर्ने मुडमा छैन मैले भनिदिएँ । उसले गर्नुपर्छ भन्यो । मैले केही नभनी फोन काटीदिएँ फोनमा तप्प आशु झर्यो ।
खोइ किन उसले फोन गर्नुको कारणलाई बुझ्न सक्ने मुडमा म छैन । यती हो यो झरीसँगै मैले मेरा आशुहरुलाई पनि झारिरहेछु । यति हो कुनै दिन लागेको थियो हामी सधैँको लागि एक हौ । कुनै अर्को दिन लागेको थियो उसले मलाई मैलेझैँ प्रेम गर्छ । तर ठिक उल्टो भयो । कुनै अर्को दिन उसले उ मेरो रोजाइको र रोजाइ बन्न लायक नभएको बताइदियो । आशु त त्यो दिन पनि झरेको थियो । आशु त आज पनि झरेको छ । यतिका बर्षमा फेरी उसलाई किन लाग्यो मलाई कोही चाहिन्छ । म समयको यो अनौठो बहाबहरसँगै बहकिएको छु । बिहानैको फोन कलले मेरो बिहानीलाई फेरी अर्कोपटक झरीमय बनाएको छ ।
किताब पल्टाउँछु किताबको पात्र मजस्तै बहकिएको छ । उ बेखबर छ उसकी श्रीमतीले उसलाई एकाएक किन छाडि भनेर । तर मनमनै आफैँलाई माथी राख्न उ सोच्छ यो उसको गल्ति होइन । उ सोच्छ – उसकी श्रीमती अरु कसैको प्रेममा थी त्यसैले यस्तो भयो । उ आफ्नो चित्त बुझाउँन भन्छ वा भनौ तर त्यो नहुन पनि सक्छ । बस् उसलाई आफ्नो कारणले श्रीमतीले छोडेकी होइन भनेर प्रमाणित गर्नु छ । उ आफ्नो गल्तिलाई केलाउँन तयार छैन । बस् उ भन्न चाहन्छ उ सही छ । त्यसैले कुनै अन्जान सहरमा अन्जान मानिसहरुसँग बहकिएको छ । तर अन्जान सहरमा पनि परिचित भएर हिड्न सक्दैन ।
म आफैँलाई पनि उसैको नजिक भेटिरहेछु । मलाई पनि किन किन लाग्छ म सही थिएँ । उ गलत थियो । मैले प्रेम गरे उसले गरेझै गरेर पनि गर्न सकेन । म जस्तो दखिन्छु त्यसको कारण मलाई स्विकारेन । म पनि आफैँलाई सहि प्रमाणित गर्न आफ्नो अन्धोपनको, एकोहोरो प्रेमको साहरा लिदैछु । म आफैँलाई भन्न सक्दिन सबै साथित्व प्रेममा गएर अन्त्य हुँदैन । उ जस्तै म पनि आफूलाई नाङ्गो बनाएर केलाउन तयार छैन । बस् मलाई आज पनि मैले प्रेमको बदला प्रेम पाउँन सकिन भन्ने लागछ । त्यो प्रेम थियो वा थिएन मलाई थाहा छैन
कथा यही हो । झरी पनि यही हो । झरीस्ाँगै बगेका आशु पनि यही हुन् । यो कथा कसरी टुङ्गििनेछ मलाई थाहा छैन ................... बस् कामना छ दिनभर पानी परोस् ।
No comments:
Post a Comment