Sunday, June 1, 2025

एक अर्को कथा


फेरी अर्को कथाको किताब भ्याएकी छु । यस्तो कथा जुन म नपढू भन्ने चाहन्थे । मलाई दोहोरीनु पनि थिएन । दोहोरीएको स्थितिमा पुग्नु पनि थिएन । मलाई किन किन कथाहरु जीवनझै लाग्छ । कहिलेकाही जीवनका घटनाहरुलाई नै म कथा भनेर भनिदिन्छु । सायद यो पनि त्यस्तै कुनै कथा हो । तर यो आत्मियताले भरीपूर्ण एक सग्लो कथा होइन । पढिसकेपछि म थिचिएझै महसुस गरेकी छु । सायद यो कथाभित्रको चित्कार सधैँ म सँग रहिरहनेछ । म चाहेर पनि छोड्न सक्ने छैन ।

  मलाई कहिलेकाही मान्छेहरु कथा बोकी हिड्ने हुलाकी जस्तो लाग्छ । हिजै कसैले कथाजस्तै स्वरुपमा मलाई एक पटक फेरी मारेर गयो । म मरेझै गरेँ र फेरी अर्कोपटक ज्यूदोझै गरेँ । उसलाई लाग्यो होला म मर्नुपथ्यो । सायद त्यो उसको बिजय थियो । एक अहंकारको जित । उ भित्रको अंहको जित । तर एक पटक फेरी मरेर पनि म उठेँ । उसलाई थाहा छैन होला कयौ पटक मरेर पनि फेरी उठ्नेहरु हजारौलाई मार्नेभन्दा शक्तीशाली हुन्छन् । हिजै म एकपटक मरेँ र बाचेझै गरेर फेरी उठेँ । 

यो एक कोमल झै लाग्ने एक कठोर केटीको कथा हो । हामी बाचेझै गरेर पनि कयौ पटक मर्छौ । कहिलेकाही आफ्नै अगाडी कहिलेकाही अरुको अगाडी । मरेर पनि फेरी अर्कोपटक म बिउँझिएकी छु ।  फेरी अर्कोपटक पहिलोपटक बामे पाइलाहरु सार्दै छु । आफैलाई बचाउँदै र आफ्नै अगाडी बाच्दै पनि छु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...