Saturday, June 14, 2025

अन्त्य


एक कथा बनेर उ गैसकेकी छ । जाँदै गर्दा उसको हातको न्यानोपनले मलाई छोड्न सकेको छैन । जाँदै छ भन्ने लाग्नु र जानु..... एक हुँदै होइन । डायरी पल्टाउँछु । उसलाई पहिलोपटक देखेको दिन लेखेको रहेछु , “ पहिलोपटक कसैलाई देखेँ लाग्यो उ आफ्नो हो ।” अहिले पनि मनले त भन्छ उ आफ्नै हो । 

जाँदै गर्दा उसले अँगाली मैले पनि अँगाले । त्यो अन्तिम अँगालो अन्त्यको अँगालो थियो । उ गएपछि उसका हातहरुले, उसको शरीरले छोएको सम्झे, उसको शरीरको न्यानोपन पनि सम्झे । फेरी अर्कोपटक हातमा काँडाहरु उर्मे । शरीर लुलो भयो । आँखाबाट पानीझै केही बग्यो । 

त्यो न्यानोपन अब म चाहेर पनि महसुस गर्न सक्दिन । हो अन्त्य जरुरी थियो । जम्नु भन्दा बग्नु नै ठिक । बिष्मृति बन्नुभन्दा कथा बन्नुनै ठिक । 

उ अरु कसैको हो मनले मान्न सक्दैन । तर सत्य त्यही हो । करिब एक महिना अघि उ अरु कसैकी भै । मलाई अँगाल्दा पनि उसको सिउँदोमा अरु कसैको सिँदुर थियो । मैले झै कयौ पटक अरु कसैले उसलाई चुमिसकेको छ । अँगाली सकेको पनि छ । मेरो हो भनेर दाबी पनि गरिसकेको छ । तर किन मन अझै मान्दैन उ अरु कसैको हो भनेर । 

उसले सजिलै म कसैको बन्छु भनेकी पनि होइन । मलाई तिम्रो बनाउ भनेकी पनि हो । म काँतर थिएँ मैले बनाउँन सकिन । म उसलाई आफ्नो भन्न सक्दिन भने अरु कसैको हो भन्दा किन दुखी भएँ वा छु । उ अरु कसैको भएको दिन उसलाई भेट्न गएको पनि हो । उसलाई कसैले सिन्दुर हालेको देख्न नसकेर भागेको पनि हो । त्यस दिन रातभर निदाउँन नसकेको पनि हो । तर किनकिन उ गएपछि उसँगै म आफैँ भित्र केही चिज छोडेझै भएको छु ।

उ भन्ने गर्थि, “ थाहा छ कविर, म तिम्रो अँगालोमा सबैभन्दा सुरक्षित महसुस गर्छुृ । मेरा अरु पनि प्रेमीहरु थिएँ तर तिमीलेजस्तो आफ्नोपनको आवास कसैले दिन सकेको थिएन” उसको कुराले म मख्ख पर्थे ।

तर कथा यतिमात्र होइन । मलाई मेरो भएको भए हुने भन्ने नलागेको पनि होइन । तर किन किन लाग्यो म उसलाई खुसी बनाउँन सक्दिन । मैले आट्न सकिन । कथा निर्दोपनको पनि हो । म सँग आट छैन । म एक निर्दो छोरामान्छे हो । उ त आटिली हो । मलाई आफ्नो बनाउ भनेकी पनि हो । नमानेपछि पर गएकी पनि हो । 

मैले उसलाई प्रेमझै केही गरेको हो । प्रेम गर्छु भनेर चुमेको, उसको लागि आँसु झारेको पनि हो । तर प्रेमझै केही गरेको भएर नै मैले उसलाई अरु कसैको बन भनेको पनि हुनसक्छ । तर मन हो यदाकदा छटपटि हुन्छ । उ झै अरु अब भेट्दिन भन्ने पनि हुन्छ ।

रात रात भर बोलेको सम्झन्छु । ति रातहरु सम्झदा अहिलेपनि बहकिन्छु । म कस्तो बेबकुफ उससँग रात पनि सुन्दर लाग्थ्यो भने दिनमा किन अपनाउँन सकिन । किन उसलाई कथाझै बनाएर मैले छोडिदिए । किन उसँग सँगै हिड्ने बाचाहरु गरेँ र बिच बाटोमै छोडिदिएँ ।

त्यो दिन सम्झन्छु– झम्सिखेलको कुनै क्याफेमा मैले पहिलोपटक उसका  हातहरु समाएको । आज झै त्यस दिन पनि हातहरु न्याना थिएँ । त्यस दिन मलाई उसका हातहरु छोड्ने रहर थिएन । रहर त आज पनि थिएन । तर त्यस दिन उसका हातहरु सधैँ मेरा हुनेछन् भन्ने आशा थियो तर आज छैन ।

अर्को दिन पनि सम्झन्छु– जब उसको पुरै शरीर मेरा आफ्नो झै बनेको दिन । उसका आँखाहरु, उसका हातहरु, उसको सबै सबै शरीर त्यो दिनझै सुन्दर कहिल्यै लागेको थिएन । उसले मलाई मिठा कथाहरु दिएर गएकी छ । सम्झदा ति सबै सबै प्यारा लाग्छन् । सायद म नै हो जसले उसलाई बिष्मृति मात्र दिएको छु ।

उसले मलाई आफ्नो बनाउँ , तिमीले बनाएनौ भने घरकाले अरु कसैको बनाइदिन्छन् भनेको पनि सम्झन्छु । त्यो दिन उसका आँखामा आसु र क्रोध दुबै थियो । उसले मलाई एक दुई थप्पड बाआमालेझै हानेकी पनि थिई । फेरी ओभाएका परेलाले मायालु आँखाले हेरेकी पनि थिइ । घर गएपछि खोइ के लाग्यो उसलाई फेसबुक र इन्स्टा दुबैमा बल्क गरेकी पनि थिइ । तर मायालुको मन न हो केही महिनापछि फेरी बोल्न आएकी पनि हो । त्यसकै एक हप्तापछि अरु कसैसँग मेरो बिहे हुँदैछ भनेकी पनि थिइ । मैले राम्रै भयो , बधाइ छ भनेको पनि हो । उसले भन्दाभन्दै आँशु झारेकी पनि हो ।

  ति आशुहरु, न्याना हातहरु मेरा लागि थिए अब रहेनन् । माया गर्ने आँखाहरुलाई अब नगरेकोझै हेर्नपर्नेछ । हुन त सायद म भन्दा दुखी उ भएकी थिइ । मैले त दुखी भएँ भन्ने अधिकार पनि छैन । भिजेका आँखा देखाउँने अधिकार पनि छैन । तैँले मलाई धोका दिस् भनेर कराउँने अधिकार पनि छैन । तर सबै सबै भएर पनि उसले त्यो पनि भनिन । जाँदै गर्दा किन अँगाली मात्र हाली । उसले मलाई गाली दिएर गएको भए पनि म सजिलै स्विकार्थे ।

उसका आँखा, उसको न्यानोपन, उसले दिएको खुशी अब छैन । यो स्विकारोक्ती हो । तर कहिलेकाही स्विकारोक्ती गर्न खोजेर पनि गर्न नखोजेको झै नबन्दो रहेछ । थाहा छैन यो कस्तो मन हो । अपनाउँन चाहेर पनि किन किन डराएको हो । किन सम्बन्ध देखी डराएँ । सम्बन्धको दिगोपनदेखी डराएँ । सधैँ सधैँ बनाउँन देखी डराएँ । फेरी जाँदैगर्दा पनि खुसी हुन सकिन । रमाउन त परको कुरा ।

मैले यो रोजेको अन्त्य हो । तर पनि अन्त्य अन्त्य नै रहेछ । अब उ पहिलेझै मेरो होइन भन्ने पनि छ । त्यो मैले रोजेको पनि हो । चाहेको भए प्रयास गरेको भए अहिले उ मसँगै हुने थिई  । वा उ सधैको लागि मेरो होइन भन्ने कुराले पनि प्रिय बनेकी हुनसक्छे । तर उ सधैँ प्रिय बनिरहनेछ ।

सायद उ कथा बनेर गएकी छ । कथामा गर्ने अन्त्य आफूले चाहेको अन्त्य हो । तथापी कथामा नै पनि अन्त्य गर्न सजिलो छैन । कहिलेकाही चाहेरै गरेको अन्त्य भए पनि दुखी बनाउँछ । सायद मैले गरेको पनि यही हो । अन्त्य कल्पना गरेको पनि हो । यो रोजाइको अन्त्य पनि हो । तर अन्त्य नै अन्त्य नै हो – अन्त्यझै यो धुमिल नै  बनेको छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...