Sunday, June 15, 2025

एक पत्र एक कविता

 

प्रिय तिमी,

एक आशा नै त रहेछ जसले तिमीलाई र मलाई बाधिरहेछ । अघिल्लो पत्रमा लेखेकी थिएँ – मलाई लाग्छ तिमी त्यस्तो कविता हौ जसलाई म मात्र लेख्न सक्छु । यदि तिमीले पत्रको जवाफमा पत्र फर्कायौ भने म बुझ्नेछु तिमीले मलाई पत्र लेख्ने स्विकृति दियौ । मलाई आशा त थियो तर सुनिश्चयता थिएन । तर मैले फेरी अर्कोपटक पत्रको बदलामा अर्को पत्र पाएँ । मन चङ्गा भयो । पत्रमा नै सहि कोही बर्षौअघि छुटेको आफन्त भेटेँझै महसुस भयो । 

तिम्रो पत्रले मलाई बादलझै उड्ने बनायो । पत्र पढिरहँदा कवि मन झै फुरुङ्ङ पनि भएँ । अघिल्लो पत्र झै यस पत्रका पनि तिम्रा हरेक शब्दहरुले मलाई बाधेर राख्यो । नचाहेरै पनि म तिम्रा शब्दहरुले पग्लिएँ । थाहा छैन मैले तिम्रा लागि लेखेर राखेको शब्दहरुले तिमीलाई बाधेर राख्नेछन् वा राख्नेछैनन् । तर मलाई किन किन लाग्छ तिमीलाई राख्नेछ । 

यी शब्दहरुनै त थिएँ जसले तिमीलाई र मलाई भेटाएका थिएँ । थाहा छैन कुनै दिन तिम्रो र मेरा नाम कुनै खाली पानामा लेखेर  कसैले राखेको पो थियो कि ! कहिलेकाही अन्जानमै जोडिनु पनि सुन्दर रहेछ । लाग्छ तिम्रा अक्षरहरुले तिमीलाई र मलाई सधैँ जोडेर राख्नेछ । न मैले तिम्रो नाम बादलमा कोरेकी थिएँ । न हुलाकमा तिम्रो नाममा चिठी पठाएकी थिएँ । न तिमी जस्तो कोही कही भेटिनेछौ भन्ने आशा थियो । न मैले फेरी अर्कोपटक कसैका लागि कविता लेख्छु भन्ने थियो । कहिलेकाही अपरिचित बाटोले पनि कोही परिचितझै भेटाउँने रहेछ । तिमीलाई भेटेपछि लाग्यो कहिलेकाही अपरिचित बाटोमा हिड्नु पनि ठिकै रहेछ । 

यो पत्र लेखिरहँदा बर्षौपछि आफैलाई भेटेझे महसुस भैरहेछ  । साथमा तिम्रा लागि लेखेको कविता पनि राखेकी छु । मन परे फेरी उत्तर बदला प्रतिउत्तर पठाउँनु । मन नपरे एक लहडी आलाकाचो मानिसका आलोकाचो शब्दहरु भन्ने बुझ्नु ।

उही 

तिमीलाई पत्र लेख्ने म 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...