Wednesday, June 11, 2025

माफी


हिजो नै त हो कसैले मेरो मन दुखायो । फेरी अर्कोपटक मैले आफैँलाई माफि दिएँ । कहिलेकाही चित्त दुखाउँनेसँग गुनासो गरु, नबोलू  वा पर पर भागिदिउँ । त्यस्तो लाग्छ है । त्यस्तो गरेको पनि हो । तर एकान्तमा जब आफैँलाई समेट्न खोज्छु लाग्छ माफी त मैले आफैँसँग माग्नुपर्नेछ  । कति दुखेर बसु कसैको माफीको प्रतिक्षामा । मन न हो भारी हुन्छ । हलुङ्गो बनाउँन पनि यदाकदा म आफैँलाई माफी दिन्छु । 

कहिलेकाही गर्मि भएको बेला घाम देखेर चित्त दुख्छ । पानी परेको बेला बादल देखेर चित्त दुख्छ । मन परेकोमान्छेले त कहिलेकाही ठूलो स्वरमा राम्रै कुरा गरेपनि चित्त दुख्छ । तर माफी कसैबाट आउँदैन । घाम, बादल र पानीसँग कसरी माफीको आशा राख्नु । यतिकैमा दुखेको मन सन्चो भै जान्छ । 

पटकपटक माफीको आशा गरेको पनि हो । आशा निराशामा बदलिएको पनि हो । तर मन न हो माफी चाहिरहन्छ । यदाकदा लाग्छ चित्त त मैले पनि दुखाएको छु । ठूलो स्वरमा त म पनि बोलेको छु । तर माफी अरुले झे मैले पनि मागेको छैन । सायद चित्त दुखाउँनु माफी नमाग्नुको बानी छ हामीसँग । 

तर कहिलेकाही  आफ्नो चित्त पनि आफैँले दुखाइन्छ । मन न हो आफैँसँग पनि दुख्छ । माफी त आफैँसँग पनि माग्न मन लाग्दो रहेछ । तर मागेझै दिन सजिलो छ र ! माफी त आफैँलाई पनि बिरलै दिँइदो रहेछ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...