Sunday, June 8, 2025

संवाद


एक सुनसान बिहान आफैँलाई साक्षि राखेर म आफैँसँगको संवादमा छु । चियाको कप । आदि पढिभ्याएको कविताको किताब । आदि खोलेर नओडेको ब्ल्याङ्केट । धुलो जमेको झ्यालको सिसा । हो संवादमा छु । यी सबै म जस्तै बिथोलिएका छन् ।

एक बिथोलिएको मानिसले गर्ने पनि एक अपुरो संवाद नै हो । यीनै कुराहरु म अरु कोही आफुजस्तै बिथोलिएको सँग गर्न चाहन्थेँ तर सुनिदिने कोही छ र छैननी । कहिलेकाही आफैँले सुन्दा त अल्छि लाग्छ अरु कसैले सुन्ला र ! सुन्दैननी । 

कापीका पानाभरी केही अड्मिल्दा रेखाहरु ताने । बेमतलबका । अर्थ खोजेर पनि के नै हुनेवाला छ र ? एक बिन्दुझै अस्ताउनु छ कुनै दिन । जे हुँ त्यो भन्न सक्दिन । जे होइन त्यसलाई कति प्रमाणित गर्नु । हो फैलिएको छु बिना कुनै मतलब जसरी चिया उम्लिएर किचन टेबलमा फैलन्छ । हो फैलिएको छु आफ्नै बर्बराहटमा तर समेटिनु पनि छैन । कसरी समेटिने त्यो पनि थाहा छैन । 

बिना मतलबका संबादमा म चिच्याउँछु ।  चिच्याएर आफैँलाई खोज्छु तर पाउँदिन । कोलाहलझै बेअर्थका बर्बराहटहरु म सँग छन् । कुनै दिन समेट्न खोजे भने त्यसको केही मतलब निस्केला पक्कै पनि निस्कदैन । कहिलेकाही म आवाजहरु र शब्दहरुको अर्थ भेट्दिन । हामी बोलेझै मात्र गर्दिन्छौ के बोल्छौ थाहा हुँदैन । 

हो म पनि त्यही गरिरहेछु । म निस्सासिएको पनि हो । तर गुम्सिनुले कुनै अर्थ राख्दैन । फैलिनुले पनि कुनै अर्थ राख्दैन । जसलाई हामी कुनै साम्राज्यझै बेतुकको उचाइ दिन्छौ त्यसले पनि कुनै अर्थ राख्दैन ।

कहिलेकाही त लाग्छ नि यो संसार पनि कुनै सुन्दर गीतझै लयमै छ । तर यो यूफोरीया केही क्षणको हो । अन्तमा संसारमा कोलाहल मात्र छ । हामीलाई आफ्नो कोलाहल, बिनाअर्थका आवाजहरु लयमा बोलिएझै लाग्ने मात्र हुन् । म आफ्नै आवाजमा पनि कोलाहल मात्र भेट्छु । धमिलो अष्पष्ट कोलाहल । यो संवाद पनि कुनै अर्थको खोजी होइन । बेतुकको बर्बराहट मात्र हो ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...