“पानाहरु खाली छन् । डायरी नयाँ छ तर भन्नको लागि केही छैन । भन्नेकुरा पनि सिद्विएपछि अरु केही बाकी रहँला र !” थाहा छैन किन यि यस्तै सोच्दै छु । ... निष्पट्ट अध्यारोमा आफूलाई अझ अध्यारो भेट्दैछु । कैसैले सोध्यो भने, “तिमी अध्यारो देखी डराउँछौ वा भिँड देखी” । म सजिलै भिडदेखी भनिदिनेछु ।
भिँड किन यति धेरै......भड्किलो छ । भिडको पछाडी किन यती धेरै धुलो छ । किन भिडले केही नदेख्ने बनाउँछ । थाहा छैन किन भिडले मलाई अत्याउँछ मात्र । कहिलेकाही त आफ्नो परिवार पनि भिडझै लाग्छ । यदाकदा त आफैँलाई भिड सम्झेर तर्सन्छु पनि । कुनै दिन भिडमा हराएँ भने मलाई खोज्न कोही आउँला कि नआउँला । वा म आफैँले आफैँलाई भेटुँला वा नभेटुँला ।
किन पत्रिका भिडझै लाग्छ । किन टिभिका मानिसहरु भिडझै कराउँछन् । किन सबैलाई लाग्छ उनीहरुले बोलेको कुरा सबैभन्दा अर्थपूर्ण छ । तर किन सबका आवाजहरु, शब्दहरु भिडको आवाज झै अष्पष्ट र कर्कश छन् । अधिर, अष्पस्ट्ट , र बेतालका यी आवाजहरुले म आतिएकी छु । तर बाधिएकी पनि छु । जान खोज्छु कहि पर.... किन यो भिडले मलाई बोलाएझै लाग्छ । र फेरी म भिडकै आवाजमा मिस्सिन पुग्छु ।
थाहा छैन किन मलाई कहिल्यै कसैले भनेन तिमी आफूझै बन्नु । सबैले भने तिमी अरुझै भइनौ । यसरी भने मानौ भिडझै नहुँनु पाप हो । अनि त्यही आफूझै नभएको भिडमा आफैलाई खोज्न थालेँ । यदाकदा लाग्यो भिडको रंग, भिडको आवाज, भिडका आँखाहरु, भिडको शरीर अलिअलि त मेरो झै नै रहेछ । तर किन मानीसहरुले भने त हामीजस्तो छैनस् । तर किन भनेनन् तँ तजस्तै हुनु पनि ठिकै हो । र बिस्तारै मलाई पनि लाग्न थाल्यो म पनि भिडझै हुनु छ । भिड त्यो बिन्दु बन्यो जसमा पुगेपछि मेरो अस्तित्व स्विकारोक्तिको यात्रामा अगाडी बढ्छ । तर जब भिडमा आफैलाई खोज्न थाले म आफू आफैँ रहिन ।
यदाकदा भिडमा मिस्सिन खोज्छु । पत्रिकाका शब्दहरु, टिभि च्यानलका मानिसहरु, रेडियोका आवाजहरु सबैसबै अनौठा लाग्छन् । लाग्छ सबैको अनुहार उस्तै छ , सबैले एकै बोल्दैछन् , सबै ठाउँमा एकै मान्छेहरु कराइरहेछन् । यो एकरुपता किन मानिसहरुलाई मनपर्छ । किन लाग्छ सबै उस्तै हुनु राम्रो हो । तब आफैले आफैलाई खोज्न र हेर्न छोडिदिउँ झै लाग्छ । यस्तो लाग्छ यो भिडको अंश म पनि हुँ ।
यो अस्पष्टता मेरो आफ्नो हो वा मैले बाचेको समयको । यदाकदा प्रश्न गर्छु आफैलाई । के बाच्नु भनेको भिडझै हुनु हो । वा कोलाहललाई आफ्नोझै ठानेर बिनाअर्थका शब्दहरुलाई दोहोर्याउनु हो । वा चाहेर पनि आफूझै नहुनु हो । यी अष्पष्टता के सधै रहिरहनेछ । जीउँनुको नाउँमा के सधै हामीले भिडलाई नचाहेर पनि आफ्नो ठान्नु पर्नेछ ।
सायद यी बेअर्थका प्रश्नहरु हुन् । तर अर्थपूर्ण हुने नाउँमा भिड जम्मा हुनु के सबैभन्दा अर्थपूर्ण चिज हो । कहिलेकाही लाग्छ यो समाज, संरचना, मान्यताहरु जसलाई हामी जीवन तत्वहरु ठानेर अपनाएका छौ । के यो भिडभन्दा केही फरक छ र ? के यसले मानिसलाई मानिसझै बाच्न दिएको छ र ?
प्रश्न आफैँलाई गर्छु तर कहिलेकाही लाग्छ प्रश्न न समाजसँग छ । भिडमा भुलाउँने संरचनासँग छ । तर किनकिन लागिरहन्छ..... यो भिडभन्दा पर कहि कतै आफैलाई खोज्नु छ । भिडको बन्ने नाउँमा गुमेको आफू कहि कतै भेटिनेछ वा छैन । कुनै दिन भेटियो भने त्यो सायद सफलता बन्नेछ । सायद भेटिएँन भने यात्रा मात्र बन्नेछ । वा सायद जीउनुको नियती बन्नेछ ।
No comments:
Post a Comment