मलाई थाहा थिएन ऊ को थियो
हुनसक्छ एक बलत्कारी जसलाई मैले पर छोडेँ
वा मैले एक अपराधीलाई प्रेमी माने
उसले मलाई छोड्यो
वा मैले अर्कोलाई भेटेँ
र उसलाई गुमाएँ
हुनसक्छ........ त्यो प्रेम थियो
वा मैले पाएको बिछोडको उपहार
वा............
त्यो सब जो एकैसाथ मलाई मिलेको थियो ।
–जहाँबाट नैराश्यता सुरु भयो , रुपि कौर
नैराश्यतालाई ब्यक्त गर्न सजिलो छैन अझ विम्बमा । भोगाइको हिसाबले आधुनिक समाजमा नैराश्यताको उपस्थिती एक पुरानो दोहोरिरहने विम्बझै लागे पनि कवितामा यसको उपस्थिती खासै धेरै भेटिदैन । नैराश्यताको शुष्म स्वरुपलाई ब्यक्त गरिएका माथीका हरफहरु रुपि कौरको पछिल्लो कविताकृति “होम बडी” बाट लिइएको हो । किताबमा उनी मानव शरीरलाई घरसँग तुलना गर्छिन् जसले पाठकलाई शरीररुपि घरको कवितात्मक यात्रा गराउँछ । नैराश्यता, खालीपन, यौनर्दूब्यबहार, प्रेम, सम्बन्ध, मानव जीवनका यी यस्तै आयामहरुलाई उनले पुस्तकमा घरकै बिम्बको वरीपरी रहेर ब्याख्या गरेकी छन् । धेरैले भोगेका तर बोल्न हिचकिचाएका यी अनुभबजन्य तहहरुलाई उनका कविताले पत्रपत्र केल्याएका छन् ।
अंग्रेजी पत्रिका “ग्राडियन” मा प्रकाशित एक आलेखमा जे ग्रिफथले भनेका छन् – कविताले नैराश्यतालाई कम गर्न सहयोग गर्छ । उनी लेख्छन्, “ म प्राय कविता लेख्दिन । तर जब म नैराश्यतासँग जुध्दै थिए त्यो समय मैले कविताबाहेक केही लेखिन ।” थाहा छैन उनका यो पुस्तक ग्रिफथले भनेझै नैराश्यतामा पर भाग्ने औसधी थियो वा यसलाई ब्याख्या गर्ने प्रयास । तर यो प्रयासले मानव शरीरमा देखापर्ने नैराश्यताको एक्लो, मौन तर चर्को कोलाहलसँग केही परिचित भने पक्कै बनाएको छ ।
मूलतः कविताको किताब भएपनि कविता सँगसँगै कविले उहि बिषयबस्तुमा कोरेका स्केच पनि पुस्तकमा भेटिन्छन् । जसले पाठकलाई भिन्न कलाबिचको अनौठो कलेवरसँग परिचित गराउँछ । उनले प्रत्येक कवितालाई शिर्षक दिएकी छैनन् तर पुस्तक मूल रुपमा चार भागमा बिभाजीत छ । जसले हामीलाई कविले देखाउन खोजेको अथवा भन्न खोजेको संसारको छनक दिन्छ । माइन्ड, हाट , रेस्ट र अवेक्क नामाकृति चार भागहरुमा उनी शरीररुपी घरका आशा, भरोसा र निराशाका पहेलीहरुलाई कविताकै भाषामा अभिब्यक्त गर्छिन् ।
पुस्तकमा कविताका साथसाथै त्यससँगै गासिएको उनको अनुभव पनि सटिक रुपमा प्रस्तुत गरीएको छ । नैराश्यता र एकप्रकारको खालिपनले मानिसलाई कसरी आफ्नै शरीरबाट आफू अलग हुँ भन्ने अनुभूत गराउँछ भन्नेबारे उनी लेख्छिन्, “ जब आफ्नो शरीर आफ्नो लाग्दैन, आफ्नो शरीरमा आफेै अपरिचित अनुभव हुन्छ । तब आफ्नै जीवन टेलिभिजन स्क्रिनमा हेरेजस्तो महशुस हुन्छ ।” यस्ता ब्यक्तिगत अनुभब भन्न सजिलो छैन । तर उनले यस कृतिमा यी यस्तै काव्यिक कठिनाइहरुलाई सजिलै छिचोलेकी छन् ।
जसरी नैराश्यलाई शब्दमा ब्यक्त गर्न सजिलो छैन त्यस्तै यौन र्दुब्यबहारलाई पनि । भित्रभित्रै दबिएको त्यो शारीरीक र मानसिक कोलाहललाई उनले खुलेर पोखिदिएकी छन् । उनी आफ्नो ब्यक्तिगत अनुभवलाई यसरी व्यक्त गर्छिन्, “ बाल्यकालमै यौन र्दुब्यबहारको सिकार हुनु मेरो जीवनको सबैभन्दा अबोधगाम्य अनुभव बन्यो । यौनलाई कुनै पूर्वजानकारी बिना बुझ्नुले मलाई धेरै बिथोल्यो त्यसबारे सजक बनाउनुको सट्टा ।” उनका यी यस्तै अनुभूतिहरु – नैराश्यता, खालिपन र यौन र्दुब्यबहारलाई कविताका ब्यक्त गर्न सफल बन्नुले किताबको पहिलो भाग “माइन्ड” लाई अझ महत्वपूर्ण र पठनिय बनाएको छ ।
यदि कसैसँग हृदयनै छैन भने
तिमी उसलाई नजिकको ठानेर
आफ्नो दिन सक्दैनौ ।
पुस्तकको दोस्रो भागलाई “हाट” (हृदय) भनेर नामाकरण गरिएको छ । जसमा माथिको कवितामाझै प्रेम र प्रेमको नाममा भेटेका अपमानजनक सम्बन्धका र त्यस्ता सम्बन्धका अनेकौ मोडहरुलाई प्रस्तुत गरिएको छ । उनी लेख्छिन् –
मलाई नसोध
मैले उसलाई किन छोडिन भनेर
उससँगको सम्बन्ध यति साघुरो थियो की
मैले बाहिर निस्कने ठाउँ नै भेटिन ।
माथीका हरफहरुमाझै सम्बन्धको नाममा साघुरिएका र हिंसात्मक बनेका प्रेमका प्रसङ्ग र त्यसमाथी उनको बिद्रोही चेतले पाठकहरुलाई आधुनिक समाजका कुरुप सम्बन्धसँग परिचित गराउँछ । सम्बन्ध, प्रेम, आफूले आफैलाई गर्ने आत्माप्रेम जस्ता बिषयको बाहुल्यता रहेको दोस्रो भागमा यी बिषयमाथि कविको गहिरो आत्माआलोचना र चिन्तन भेटिन्छ । जस्तो कि
किन सबै कुरा
कम सुन्दर बन्छ
जब त्यो आफ्नो बन्छ ।
यी कबिताका तीन लाइनहरुले भन्न खोजेको र भन्न नसकेका सबैकुरा भनिदिन्छन् । अर्को त्यस्तै एक लाइनको कविता उनी बिनासंकोच लेखिदिन्छीन, “हस्तमैथुन भनेको ध्यान हो” भनेर । जसले महिलाको शरीर र त्यसमाथी बिध्यमान रहेका पूर्वनिर्धारित कयौ घेराहरुलाई तोडिदिन्छ । कवितामार्फत उनले यसरी तोडिदिएकी छन् लाग्छ यो कुनै सांसारीक मोहमायाबाट दिक्षित भिक्षुणीको उन्मूक्त अभिब्यक्ति हो ।
प्रेम र महिलाको शरीरमाथीका अनेकौ किस्साका साथसाथै प्रेम र सम्बन्धमा पनि किन आत्मासम्मान आवश्यक छ भन्नेबारे उनका कविताहरु खुलेर बोल्छन ्। उनी लेख्छिन्
म त्यस्तो बहाना गर्ने छैन
जसले मलाई भएभन्दा कम विद्धान देखाउनेछ
ताकी कोही पुरुष
मेरो नजिक हुँदा सहज महसुस गरोस्
ऊ जसको लागी म योग्य छु
उसले त त्यसलाई मेरो खुबी मान्नेछ
र अझै माथी पुर्याउन खोज्नेछ ।
यी–यस्तै बिषयबस्तुले उनका कबितालाई खास बनाएको छ । धेरैले छोडेका, भन्न बिर्सेका, अथवा भन्न उचित नसम्झेका प्रेमका, सम्बन्धका र सम्बन्धको नाममा भएका हिंसाका किस्सा किताबको दोस्रो भागमा भेटिन्छ ।
किताबको तेस्रो अंश जसलाई “रेस्ट” आराम भनेर नामाकरण गरिएको छ । यसमा जीवनमा किन सबै चीजबाट आराम वा अलिकति दुरी आवस्यक छ भन्ने भावका कबिताहरु भेटिन्छ । उनी सुरुवात यसरी गर्छिन् –
मसँग कति वर्षहरु छन्
जो अनिदा छन् ।
बर्षहरुलाई अनिदो भनेर सम्बोदन गर्नुले अहिलेको युगको भागदौडलाई इङ्कित गर्छ । आधुनिक समाजमा कामका पछाडि दौडदा किन हामी आफैलाई भुलिरहेका आफ्नाहरुलाई भुलिरहेका छौ कवि लेख्छिन्, “उत्पादनशील हुनु भनेको कहिले आराम गर्ने भन्ने बुझ्नु हो” । आराम र यसको आवश्यकता कुरा गर्दा कविले यससँग मानव उत्पादनशील र सृजनशीलतासँग पनि जोडेकी छन् ।
म आफ्नो जीवन आफ्नै तरिकाले जीउँछु भन्दा पनि कसरी आफ्नो जीवन सार्थक बन्यो भनेर प्रमाणित गर्न आत्तुर अहिलेको संसारलाई उनको कविता एक पाठ बन्न सक्छ । उनी कवितामै भन्छिन्, “म केबल पूर्ण छु किनकी म अपूर्ण छु” । यस्तै अर्को कवितामा उनी जीवनको अपूर्णताबारे यसो भन्छिन्
मलाई पूर्णताको मतलब छैन
बरु म जीवनरुपी उल्झनहरुमा
गुटुमुटु भइदिन सक्छु ।
जीवनका यी शुष्म पाटाहरुलाई उनका शब्दहरुले निकासका बाटाहरु देखाएका छन् । नैराश्यता, डर, चिन्ता, प्रेम, बिछोड सुन्दा सामान्य लाग्ने यि विषयमाथि उनको आत्माआलोचना र बेप्रबाह बिमर्शले जीवनको प्रेमिलता र कठोरता दुबैको अन्तिमबिन्दुसम्म पाठकलाई पुर्याउछ । तथापि यसरी नै जीउनुपर्छ जीवन यस्तो नै हुनुपर्छ भन्ने लाग्नेहरुलाई उनका कविता तरल र अमूत जस्ता पनि लाग्न सक्छन् ।
अब कुरा गरौ पुस्तकको अन्तिक र चौथो अंश बारे । जसलाई “अवेक्क” भनिएको छ यसलाई नेपालीमा जागेको अथवा ननिदाएको अथवा सुसुजित भन्ने बुझिन्छ । यस अंशमा उनी बिद्रोह, शरीर र आफूले आफैलाई प्रेम गर्नुपर्छ भन्नेबारे बोल्छिन् । उनी लेख्छिन्
भविष्य..........
हाम्रो सपनाको संसार
इतिहासको कुरुपतामा
अडाएर बनाउन सकिँदैन ।
– यसलाई च्यात
कविको रुपमा यस अंशमा उनको उपस्थिती अल्लिबढी साधुसन्तको जस्तो रहेको छ । तथापी जीवन र जगतका अमूर्त विचारधारामा मात्र उनको काम सिमित भने कदापी छैन । शरीर कसरी कुनै ब्यक्तिको लागी पहिलो घर हो भन्ने कुरा यस भागमा बढी भेटिन्छ । जस्तो कि
म आफ्नै शरीररुपी कुवामा हाम फाल्छु
र अर्कै संसारमा पुग्छु
मलाई जे चाहिएको छ
त्यो त म भित्रै छ
मलाई अन्त खोजीराख्न
आवश्यक नै छैन ।
– घर
पुस्तकको अन्तिम, यस भागमा “होम बडी” भनेर जसरी नाम दिइएको छ त्यस नामको सार्थकता महसुस हुन्छ । कवि भन्छिन्, “तिमी तिम्रो आत्मा हौ, संसार हौ, हृदय हौ । तिमी कहिल्यै एक्लै छैनौ । तिम्रा अंग, प्रत्यङ्ग, छाला, रगत सबै सबै चमत्कारीक रुपमा तिमीसँगै जोडिएका छन् ।” यो पढि सकेपछि हामीलाई पाठकको रुपमा कसरी हाम्रो शरीर नै हाम्रो घर हो भन्ने कुराको सार्थकता सहसुस हुन्छ ।
शरीर र राजनिति, शरीर र नारीवाद र मातृत्व प्रेम, बिद्रोह जस्ता बिषयले पुस्तकको अन्तिम अंशलाई अझ विषेश बनाएको छ । उनी भन्छिन्,
मलाई त्यो नारीवादमा चासो छैन
जसले महिलाको शरीरलाई सुन्दैन ।
उनको नारीवाद नारामा सिमित नारीवाद जस्तो छैन । नारी शरीरलाई नबुझी नारीबादको कुरा गर्नु ब्यर्थ छ , उनी कवितामै भन्छिन् आफ्नो शरीरलाई सुन, आफूलाई सुन , आफैलाई प्रेम गर तर आफ्ना आवाजहरुलाई नरोक –
कराउ
भन जे तिमीलाई भन्नु छ
आफ्नो जीवनलाई पूर्नदावी गर्नु राम्रो हो
यसरी हेर्दा यदाकदा उनका कविताहरु नारा जस्ता पनि लाग्न सक्छन् तर ति नाराजस्ता कविताहरुले पनि सृजनशीलताको र नबिनताको बाटो छोडेका छैनन् ।
आफ्नो लागी प्रेम गर, हृदयलाई सुन, तिमी आमा हौ, एक जादुगर र तिम्रो जीवनको मालिक कविताका यी स–साना अंशहरु जसलाई छुट्टाछुट्टै पढ्दा पनि उनको काब्यिक कौशलताको महशुस हामीलाई हुन्छ । साथै उनको यस पुस्तकमा जसरी शब्दमा बोल्न अप्ठ्यारा बिषयहरु नैराश्यता, यौन र्दुब्यबहार, खालीपन, प्रेमलाई सजिलै बिम्बमा बोलेकी छन् यसले उनलाई कबिको रुपमा अझ माथिल्लो स्थानमा पुर्याएको छ ।
“होम बडी” नामको हिसाबले सार्थक कृति हो जसमा कविले शरीरलाई घरररुपी विम्बमा उभ्याएकी छन् । उनका अघिल्ला कृतिहरु भmै यसले पनि पाठकलाई भोगेका तर कवितामा विरलै उठ्ने जीवनका स–साना अनुभूतिहरुलाई अझ नजिकबाट चिहाउने अबसर दिएको छ । शरीर र शारीरीक अनुभूतिहरुलाई आज पनि हामी बिरलै सम्बोधन गर्छौ तर कविको रुपमा उनको सम्बोधन लोभ्याउने किसिमको छ । यसका साथै महिला शरीर त्यसमाथी हुने कयौ पहेलीहरुलाई यसले सार्वजनिक बहसको चौघेराभित्र धकेल्न सघाएको छ । अन्त्यमा रुपि कौर उनका अघिल्ला कृतिहरुमा झै बिषयबस्तु र काब्यकि चेत दुबैका हिसाबले यस कृतिमा पनि अझ प्रखर अझ मिहिन ढङ्गले प्रस्तुत भएकी छन् ।
No comments:
Post a Comment